भर्खरै :

पिटर हान्डकेको नोबेल सफलता

नीरज लवजू
पिटर हान्डके (Peter Handke) लाई आफू साहित्यतर्फको नोबेल पुरस्कारबाट पुरस्कृत भएको समाचार विश्वास गर्न पनि गा¥हो भएकोे थियो । नोबेल पुरस्कार समितिले ‘भाषिक कौशलका साथ सिमान्त र मानव अनुभवको विशिष्टता उधिनेर प्रभावशाली कृति लेखेवापत’ सन् २०१९ को साहित्यतर्फको नोबेल पुरस्कार पिटर ह्यान्डकेलाई प्रदान गर्ने घोषणा गरेलगत्तै फ्रान्सको चाभिल्लेस्थित उनको निवासमा पुगेका पत्रकारलाई पहिले प्रतिक्रिया दिंदै भनेका थिए, “म निकै भावुक भएको छु । सबै कुरा म सबै फोटोग्राफरहरूअघि क्यामरासामु भन्न सक्तिनँ । भावुक हुन निकै गा¥हो छ । सबै भावना देखाउन त अभिनेता बन्नुपर्छ । मैले केही पनि नभएजस्तो गरी अघि बढ्नुपर्छ । त्यसरी केही नभएको जस्तो गरी अघि बढ्नु यो मेरो जीवनको एउटा प्रोत्साहन हो … ।”
नोबेल पुरस्कार समितिले ७७ वर्षका हान्डकेलाई असोज २३ गते (अक्टोबर १०) को दिन सन् २०१९ को नोबेल साहित्य पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । संसारकै स्रष्टाको जीवनको लक्ष्य बन्ने गरेको विशिष्ट पुरस्कार पाएकोमा त्यो साँझ उनले खुसी मनाउन चाहे । तर, के गरेर खुसियाली मनाउने भनी उनी अलमलमा थिए । पत्रकारले सोधेको प्रश्नमा उनले भने, “म पिउन चाहन्छु । आजको साँझ म जे पनि खान सक्छु । तर, आज मलाई भोक छैन ।”
ह्यान्डकेको जन्म सन् १९४२ को डिसेम्बर ६ मा भयो–अस्ट्रियाको करिन्थिया राज्यमा । संसारका धेरै सफल लेखकको जस्तै उनको रगतमै लेख्ने र पढ्ने विशेषता मिसिएको थिएन । उनका बुबा इरिच स्चोनेमन बैङ्कका कारिन्दा थिए । युरोपमा विश्वयुद्धको राप बढ्दै थियो । उनका बुबा जर्मनीको सेनामा भर्ती भए । ह्यान्डके जन्मिनुअघि नै उनकी आमा मारियाले ब्रुनो ह्यान्डके नामका मजदुरसँग दोस्रो विवाह गरिन् । ब्रुनो पनि पछि जर्मनीको नाजी सेनामा भर्ती भए ।
विश्व युद्धको समय, जीवन सहज थिएन । ह्यान्डकेको परिवार बर्लिनमा बस्थ्यो । पछि सोभियत सेनाले त्यो सहर कब्जा ग¥यो । हिटलरको नाजी सेना पराजित भयो । बर्लिनमै आमा मारियाले सौतेनी बहिनी मोनिका जन्माइन् । सन् १९४८ मा उनको परिवार मारियाको माइती सहर अस्ट्रियाको ग्रिफेनमा बसाइ स¥यो । विश्व युद्धमा पराजित भएर फर्केका सौतेनी बुबा परिवार र विशेष गरी मारियालाई निकै कठोर व्यवहार गर्थे । अत्यधिक रक्सी सेवन गरी स्वास्नी कुट्ने उनको दैनिक थियो । ह्यान्डकेको बाल्यकालीन भोगाइ विख्यात रुसी लेखक म्याक्सिम गोर्कीको अनभुवभन्दा धेरै भिन्न थिएन । तर, गोर्कीजस्तै उनी औपचारिक शिक्षाबाट बञ्चित हुनुपरेन । उनले सन् १९५४ मा स्थानीय क्याथोलिक मारियम व्वाइज स्कूलमा औपचारिक शिक्षाको थालनी गरे । साहित्यमा नोबेल पुरस्कार जित्ने पहिलो जग भने त्यही विद्यालयमा राखियो । ह्यान्डकेको पहिलो साहित्य विद्यालयको स्मारिकामा प्रकाशित भयो । सन् १९६१ मा उनी ग्रज विश्वविद्यालयमा कानुनको उच्च शिक्षा अध्ययन गर्न भर्ना भए ।
विश्वविद्यालय अध्ययनकै क्रममा उनी लेखनतर्फ निमग्न भएर लागे । लेखकको रूपमा उनको परिचय त्यहींबाट स्थापित भयो । उनी विश्वविद्यालयका लेखकहरूको सङ्गठन ग्रज लेखक सभामा सक्रिय भए । त्यो जुझारु र सिकारु लेखकहरूको सङ्गठन थियो । ग्रज लेखक सभाले एउटा साहित्यिक पत्रिका प्रकाशित गथ्र्यो । ह्यान्डकेका अधिकांश आरम्भिक साहित्य त्यही पत्रिकामा प्रकाशित भए ।
सन् १९६५ सम्म आइपुग्दा ह्यान्डकेलाई लेखक बन्ने भुतले पूरै छोपिसकेको थियो । उनी कानुनको आफ्नो उच्च अध्ययनलाई बिसाएर लेखनमै तल्लीन भए । जर्मनीको एउटा प्रकाशन गृहले उनको ‘अरिङ्डाल’ (Hornet–१९६६) नामको उपन्यास प्रकाशन गर्ने भए पछि उनले लेखक बन्ने धुनमा सबै कुरा छोडे । अदालतको इजलास कक्षभन्दा उनलाई साहित्यको फराकिलो संसार प्रिय लाग्यो । त्यसयता उनका ८० वटा कृति प्रकाशित छन् । उनी जर्मनी भाषामा लेख्छन् ।
‘छोटा चिट्ठी, लामो बिदाई’ (Short Letter, Long Farewell) ‘भित्री संसारको बाहिरी संसारको भित्री संसार’ र ‘सपनाभन्दा परको दुःख’ (A Sarrow Beyond Dreams: A Life Story) ह्यान्डकेका अरू कृतिमध्ये पनि बढी चर्चित मानिन्छन् । ‘सपनाभन्दा परको दुःख’ मा उनले सन् १९७१ मा आफ्नी आमाको आत्महत्याबारे चर्चा गरेका छन् । ‘द गार्जियन’ मा ह्युगो हेमिल्टनले सो कृतिबारे टिप्पणी गर्दै लेखेका छन्, “… त्यो उपन्यासमा उनले आफ्नो स्लोभानी आमाको आत्महत्यामा एक जना छोरोले महसुस गरेको दुःखको अनुभूतिको व्याख्या मात्र गरेका छैनन् । बरु आफ्नो प्राण आफ्नै हातले हरण गर्नुअघि आफूले लगाएको सबै लुगा मिलाएर बिदा हुने एक जना महिलाको संवेदनशीलताको व्याख्या गरेका छन् ।”
ह्यान्डके आफ्ना पात्रको मानसिक र मनोवैज्ञानिक अवस्थाबारे गहिराईमा पुगेर व्याख्या गर्न कलामा निपुण मानिन्छन् । उनी सीमान्त पात्रको मानवीय भावना सुन्दर भाषाशैलीमा व्याख्या गर्न जान्दछन् । स्वीडेन एकेडेमीले उनको साहित्यमा निहीत त्यस्तै विशेषताको कदर गर्दै नोबेल पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।
उनको कलम साहित्यको कुनै एउटै विधामा मात्र सीमित छैन । उनले साहित्यका पुराना विधादेखि आधुनिक विधासम्म आफ्नो शिल्पको प्रयोग गरेका छन् । उनले उपन्यास, कथा, नाटक, निबन्ध र कविताका साथै साहित्यको आधुनिक विधा पटकथामा पनि मनग्य मिहिनेत गरेका छन् । जर्मनी भाषामा लेख्ने लेखकका अधिकांश कृति अङ्ग्रेजीलगायतका भाषामा प्रकाशित छन् । कृतिको अनुवादले उनका साहित्यलाई संसारको फराकिलो उचाइ छुन सफल बनाएको छ । ‘दर्शकको अपमान’ (Offending of the Audience) नाटकले रङ्गमञ्च क्षेत्रमा ठूलै हलचल ल्याउन सफल भयो । सन् १९६६ मा लेखिएको सो नाटक प्रयोगात्मक नाटक हो । आम नाटकको विशेषताभन्दा फरक त्यो नाटकमा कुनै कथा छैन । नाटक हेरिरहेका दर्शकलाई नाटक भनेको नाटक नभई वास्तविकता भएको कुरा यसमा देखाउन खोजिएको हुन्छ । त्यसकारण उनको यो नाटकलाई ‘प्रतिनाटक’ वा ‘अ–नाटक’ पनि भनिएको हो ।
उनका उपन्यासमध्ये सबभन्दा चर्चित उपन्यास ‘पेनाल्टी किकको गौली पीडा’ (Gaolie’s Anxiety at the Penalty Kick) हो । त्यो उपन्यास एक जना पूर्व फुटबल खेलाडीले गर्ने बिना कारणको हत्या र त्यसबापत प्रहरीको गिरफ्तारीको प्रतिक्षासम्बन्धी कथामा आधारित छ ।
दोस्रो विश्वयुद्ध पछि, विशेषतः सन् १९६० को दसकमा युरोपमा सिनेमा विधाले नयाँ उचाइ हासिल गर्दै थियो । प्रविधिको विकाससँगै सिनेमामा नयाँ नयाँ प्रयोग थपिंदै गए । ह्यान्डकेले समयको पदचाप बुझेर आफ्नो लेखनलाई सिनेमातिर मोडे । सिनेमा आफैँ पनि साहित्यको एउटा नयाँ विधा थियो । जर्मनीका चलचित्र निर्देशक विम वेन्डर्ससँग मिलेर उनले आफ्ना धेरै कृतिलाई फिल्माड्ढन गरे । उनले धेरै चलचित्रको लागि पटकथा पनि लेखे । उनले चलचित्रहरूको निर्देशन पनि गरे । सन् १९७८ मा उनले निर्देशन गरेको चलचित्र ‘बायाँ हाते आइमाइ’ (Left Handed Woman) को सार्वजनिक प्रदर्शन भयो । त्यो वर्षको केन्स फिल्म महोत्सवमा त्यो चलचित्र छनौटमा प¥यो । सन् १९८० को जर्मनी आर्टहाउसको स्वर्ण पदकबाट सम्मानित पनि भयो । पाँच वर्षअघि नै सन् १९७५ मा ‘गलत कदम’ (The Wrong Move) नामको चलचित्रको लागि पनि उनले त्यो पुरस्कार जितिसकेका थिए । विम बेन्डर्ससँग मिलेर उनले सन् १९८७ मा ‘चाहनाको पंख’ (Wings of Desire) सार्वजनिक गरे ।
ह्यान्डके आफ्ना समकालीन लेखकहरू इलफ्रेड जेलेनिक र थोमस बर्नहर्टजस्तै जर्मनी भाषामा सुधारका पक्षपाती थिए । उनीहरू जर्मनीमा भाषामा अझै पनि नाजी रगतका दागहरू भएकोले शब्द–शब्दमा सुधार हुनुपर्ने विचार राख्छन् ।
एउटा अन्तर्वार्तामा ह्यान्डकेले आफ्नो लागि साहित्य बौद्धिक अभ्यासमा मात्र सीमित नभएको बरु गहिरो सपनाहरूबीचको मिलन भएको बताएका थिए । उनले आफ्नो उक्त परिभाषालाई लेख्य साहित्यका विभिन्न विधामा मात्र नभई चलचित्रलगायतका विधासमेत प्रभावकारी तरिकाबाट प्रयोग गर्न खोजेका छन् ।
विवादास्पद
पिटर ह्यान्डकेले नोबेल पुरस्कार पाएको खुसियाली नै मनाउन नथाल्दै उनलाई त्यो पुरस्कार दिइएको विषयमा आलोचना र विरोधको भेल उर्लियो । कुनै बेला नोबेल पुरस्कार नै खारेज गर्नुपर्छ भनी बोल्ने लेखकलाई नै नोबेल पुरस्कारबाट पुरस्कृत गर्दा संसार चकित प¥यो । त्योभन्दा गम्भीर आलोचना भने ह्यान्डकेको राजनीतिक विचारसँग सम्बन्धित थियो । पूर्व युगोस्लाभियाका नेता र सर्वियाका पूर्व राष्ट्रपति स्लोभोदान मिलोसोविचको निधनमा उनले दिएको श्रद्धाञ्जली भाषण र सन् १९९६ मा प्रकाशित उनको यात्रा वृत्तान्त ‘नदीहरूको यात्राः सर्वियाको लागि न्याय’(A Journey to the Rivers: Justice for Serbia) को विषयलाई लिएर उनको निकै विरोध भयो, पत्रकारहरूले प्रश्नको बाढी उराले । पश्चिमा सञ्चारमाध्यमले ह्यान्डकेले पाएको पुरस्कारको भन्दा ती विवादका समाचारलाई प्राथमिकताका साथ प्रचार गरे ।
ह्यान्डकेकी आमा स्लोभेन जातिकी थिइन् । अस्ट्रियाको करिनथिया प्रान्तमा बसोबास गर्ने यो जातिमाथि दोस्रो विश्वयुद्ध ताका जर्मनी नाजी सेनाहरूले चर्को दमन गरेको थियो । उनीहरूलाई घर–खेतबाट लखेट्नेदेखि नाजी यातना शिविरमा कैद गर्नेसम्मका चरम यातना दिइएको थियो । ह्यान्डकेको परिवार स्वयम् त्यो दमनबाट जोगिन बर्लिन बसाइ सर्नुपरेको थियो । विश्वयुद्ध समाप्त भएपछि मात्र उनीहरू करिनथिया फर्केका थिए ।
युद्ध र शक्ति देशबीचको तानातानमा परेका युरोपका अल्पसङ्ख्यक जातिका पीडा समान थियो । स्लोभोन मूलकी ह्यान्डकेकी आमाको प्रभावका कारण पनि उनी सर्वियाप्रति सकारात्मक थिए । उनी पूर्व युगोस्लाभियाका समर्थक थिए ।
शीतयुद्धको सिलसिलामा युगोस्लाभिया विभाजित भयो । युगोस्लाभियाबाट विभाजित देशहरूमध्ये सर्विया पनि एउटा थियो । त्यो राज्यको नेतृत्व स्लोभोदान मिलोसोविचले गरेका थिए । मिलोसोविच समाजवादी विचारका नेता थिए । उनी सन् १९९० मा सर्वियाका राष्ट्रपति बने । उनीमाथि कोसोभोका अल्बानियाली मूलका जनतामाथि दमन गरेको आरोप लगाइन्छ ।
सन् १९९० को दसकमा युगोस्लाभियामा विभिन्न राज्यबीच द्वन्द्व चर्कियो । त्यस परिस्थितिमा ह्यान्डकेले सर्वियाली जनताको पक्ष लिए । उनले सन् १९९६ मा ‘नदीहरूको यात्राः सर्वियाको लागि न्याय’ नामको पुस्तक नै लेखेर सर्वियाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए ।
सन् १९९९ को मेमा कोसोभोमा ‘मानवताविरोधी अपराध’ को अभियोगमा अन्तर्राष्ट्रिय अपराध अदालतमा मिलोसोविचविरुद्ध मुद्दा दायर भयो । सन् २००१ मा उनलाई पक्राउ गरी हेग अदालतमा बुझाइयो । सन् २००६ मा उनको संरा सङ्घको अपराध अदालत नियन्त्रण कक्षमा निधन भयो । मिलोसोविचको शोक कार्यक्रममा ह्यान्डकेले पनि शोक मन्तव्य व्यक्त गरेका थिए । ‘मानवताविरोधी अपराधका दोषी’ को शोकमा ह्यान्डकेले दिएको मन्तव्यलाई देखाएर आज उनलाई विवादमा तान्ने प्रयास भएको छ ।
पत्रकारहरूले यो विषयमा उनलाई यति ¥याख्ती¥याख्ती पारे, उनले कोही पनि पत्रकारसँग नभेट्ने घोषणा नै गर्नुप¥यो । पत्रकारले आफ्नो लेखनसँग सम्बन्धित प्रश्नभन्दा बढी राजनीतिक विचारधाराबारे प्रश्न गरेकोमा उनले गुनासो गरे । उनले भने, “म मेरो बगैंचाको गेटमा छु र पचास जना पत्रकारहरू मसँग छन् । उनीहरूले मसँग प्रश्न गरिरहेका छन् । तर, उनीहरूमध्ये कसैले पनि मैले लेखेका कुनै पनि किताब पढेको त पर छोडौं, कुनै पनि पुस्तकबारे सुनेका पनि रहेनछन् ।”
ह्यान्डकेले आफ्नो राजनीतिक विचारबारे प्रश्नमाथि प्रश्न गर्ने पत्रकारलाई भने, “… म लेखक हुँ । म तोल्सतायबाट सिक्छु, होमर र सेर्भेन्टसबाट सिक्छु । मलाई शान्तिसँग बस्न दिनुस् र यस्ता प्रश्न नसोध्नुस् ।”
उनलाई नोबेल साहित्य पुरस्कारबाट पुरस्कृत गरेकोमा बोस्नियाली मूलका जर्मनीका लेखक सासा स्तानिसिक, सलमान रुस्दी, हारी कुनजरु, अमेरिकी उपन्यासकार अलेक्सान्द्र हेमोनलगायतले खेद व्यक्त गरेका छन् । संरा अमेरिकी पेन अमेरिका नामको साहित्यिक संस्थाले पनि सो निर्णयको विरोध गरेको छ ।
ह्यान्डकेको आलोचना बाक्लिएसँगै नोबेल पुरस्कार निर्णायक समितिले आफ्नो निर्णयको बचाउ गर्दै उनको लेखन ‘पूर्णतः अराजनीतिक’ भएको र सर्वहरूप्रति उनको समर्थनबारे गलत समझदारी भएको स्पष्टीकरण दियो । निर्णायक समितिका सदस्य रेबेका कार्दाले ह्यान्डके यो पुरस्कार पाउन योग्य भएको बताए ।
एक शताब्दीभन्दा लामो समयअघि आरम्भ भएको नोबेल पुरस्कार निर्विवाद पुरस्कार होइन । यसअघि पनि विभिन्न विधामा प्रदान गरिने यो पुरस्कार विवादमा पर्दै आएको छ । विशेषतः साहित्य र शान्ति विधामा प्रदान गरिने पुरस्कार भने बरोबर विवादमा पर्ने गरेको छ । तथापि पनि नोबेल पुरस्कार एउटा सम्मानित पुरस्कार मानिन्छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विभिन्न साहित्य समारोहमा सहभागी बन्दा आफ्नो मन्तव्यमा ‘नेपालीले नोबेल पुरस्कार पाएको हेरेर मर्ने सपना रहेको’ भन्नुहुन्छ । यसले पनि यो पुरस्कारको गरिमा र उचाइ प्रस्ट हुन्छ ।
विश्व युद्धको चपेटामा हुर्केका, एक जना साधारण परिवारको एक जना व्यक्तिले सीमान्तको भावनालाई लेखेर विश्व साहित्यकै गरिमामय पुरस्कार पाउनु संसारका अरू पनि धेरै लेखक कवि कलाकारको लागि ठुलो प्रोत्साहन हो ।
ह्यान्डकेले नोबेल पुरस्कार पाउनुअघि अरू धेरै साहित्य र चलचित्रसम्बन्धी पुरस्कार जितिसकेका छन् । सन् २००९ मा फ्रान्ज काफ्का, सन् २०१४ मा अन्तर्राष्ट्रिय इब्सन पुरस्कार, सन् २०१८ मा नोस्ट्रो थिएटर लाइफ टाइम अभिजमेन्ट पुरस्कार आदि उनले पाएका अरू केही विशिष्ट सम्मान हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *