भर्खरै :

नेक्राविसङ्घ स्थापना दिवसमा देशको सार्वभौमिकताबारे चासो

भक्तपुर, २१ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस (मंसिर २२) को अवसरमा नेक्राविसङ्घ केन्द्रीय समितिको आयोजनामा शनिबार प्रवचन कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भारत सरकारले नेपालको भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेत भारतीय नक्सामा गाभेको विरोधमा नेमकिपाले कार्तिक १९ गते प्रेस विज्ञप्ति प्रकाशित गरेको, कार्तिक २० गते सडकमा जनप्रदर्शन गरेको, कार्तिक २३ गते प्रम निवास बालुवाटारमा र कार्तिक २५ गते प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दिनुपर्ने सुझाव राखेको बताउनुभयो ।
नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाललाई नेपालको सीमा सुरक्षामा खटाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “नेमकिपाका अग्रजहरूले सुस्तामाथि भारत सरकारको अतिक्रमणको विरोधमा विसं २०२५ मा पहिलोपटक सडक जनप्रदर्शन गर्नुभएको थियो ।”
“भारत सरकारले नेपाली भूमि टिङ्करमा समेत भारतीय सुरक्षाकर्मी हतियारसहित गस्ती गराउँदै छ । यसको पनि नेपाल सरकारले विरोध गर्नु आवश्यक छ”, सचिव सुवालले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “भारत सरकारले सन् १९५० मा नेपाल सरकारलाई चीनको डर देखाई कालापानीमा भारतीय सेना राखेको गोर्खा भर्तीकेन्द्रका नेपाली कालापानीमा भारतीय सेनासँग पुगेका श्रीप्रसाद बुढाथोकीले व्यहोरा लेखी परराष्ट्र मन्त्रालयमा पेश गरेको बताउनेहरू पनि छन् । गोर्खा भर्तीकेन्द्रमा भर्ना भएका नेपाली सेनालाई नै भारत सरकारले नेपालविरुद्ध प्रयोग गर्ने खतरा बढ्दो छ । यसकारण गोर्खा भर्तिकेन्द्र अविलम्ब खारेज गर्नु आवश्यक छ ।”
नेमकिपाले मंसिर २३ गते दिउँसो १ बजे रत्न पार्कबाट विरोध प्रदर्शन सुरू गरी भारतीय दूतावासमा विरोधपत्र दिने कार्यक्रम रहेको जानकारी गराउँदै सचिव सुवालले उक्त विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।
नेक्राविसङ्घका पूर्वकेन्द्रीय अध्यक्ष सरोजराज गोसाईले नेक्राविसङ्घको इतिहास कार्यकर्ताहरूको त्याग, समर्पण र बलिदानको सृङ्खला भएको भन्दै प्रत्येक ऐतिहासिक आन्दोलनले नयाँ पुस्ताका क्रान्तिकारी नेतृत्व तयार भएको उल्लेख गर्नुभयो ।
उहाँले देशको सार्वभौमिकता रक्षाको आन्दोलनले महत्वपूर्ण मोड लिएको भन्दै भारतीय विस्तारवादविरूद्ध सबै देशभक्त शक्तिलाई एकजुट गर्ने राम्रो अवसर भएको धारणा राख्नुभयो ।
पूर्वअध्यक्ष गोसाईले २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी कार्यकर्ताहरूले २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेको भन्दै २०५९ देखि २०६३ को जनआन्दोलनमा पनि नयाँ पुुस्ताकै सक्रियता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अबको आन्दोलनमा अरू नयाँ युवा पुस्ता अगाडि आउनुपर्छ । यसरी नै आन्दोलन र सङ्घर्ष अगाडि बढ्छ ।”
सीमाविद् रतन भण्डारीले ऐतिहासिक प्रमाणहरूका आधारमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालको भएको बताउँदै भारतले बेलायतको अतिक्रमणकारी शैलीलाई निरन्तरता दिएको बताउनुभयो ।
विभिन्न समितिले तयार पारेको सीमा प्रतिवेदनहरू सार्वजनिक गर्नुपर्ने बताउँदै उहाँले लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रमा ३८५ वर्ग किमि नेपाली भूमि भारतले अतिक्रमण गरेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “वि.सं. २०११ साल, २०१८ साललगायतको जनगणना, नेपाल सरकारलाई कर–तिरो तिरेको भर्पाइलगायतका तथ्यले ती क्षेत्र नेपालको भएको स्पष्ट छ । भारतले कृत्रिम काली मन्दिर र कालीको पोखरी बनाएर नेपालीलाई झुक्याउन खोजेको छ ।”
आयोजक समितिका अध्यक्ष सविन ख्याजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सचिव रमेश प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *