भर्खरै :

हङकङ समस्या चीनको आन्तरिक मामिला

काठमाडौँ, २१ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले हङकङ चीनको अभिन्न अङ्ग भएकोले हङकङ समस्या चीनको आन्तरिक मामिला भएको बताउनुभएको छ । शनिबार चीनका विभिन्न सञ्चारमाध्यमसम्बद्ध पत्रकारहरूसँगको भेटको क्रममा उहाँले हङकङ मामिलामा संरा अमेरिका, बेलायतलगायतका साम्राज्यवादी देशहरूको चासो राखी उच्छृङ्खल गतिविधि गर्नु चीनको सार्वभौमिकतामाथिको हस्तक्षेप भएको बताउनुभयो ।
चीनका सिन्ह्वा न्यूज एजेन्सी र चाइना न्यूज एजेन्सीका पत्रकारहरूसँग भएको कुराकानीमा अध्यक्ष बिजुक्छेँले चीनजस्तो शक्तिशाली देशमा उपद्रव मच्चाउन दुःसाहस गर्ने साम्राज्यवादी देशहरूले स्वतन्त्र देशमा हस्तक्षेप गरिरहेको प्रस्ट पार्दै साम्राज्यवादी देशहरू विश्वमा पुनः उपनिवेश स्थापनामा तल्लीन रहेको बताउनुभयो ।
चीनमा भइरहेको साम्राज्यवादी हस्तक्षेपबारे संसारका प्रगतिशील र उपनिवेशवादविरोधी जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले संरा अमेरिकाले संसद्मा हङकङको विषयमा ऐन पारित गर्नु चीनसँग भएको सन्धि–सम्झौताहरूको ठाडो उल्लङ्घन हो भन्नुभयो । एक देश – दुई व्यवस्थाअन्तर्गत समाजवादी चीनको हङकङ क्षेत्रमा पुँजीवादी अर्थव्यवस्था कायम रहेको र त्यसलाई साम्राज्यवादीहरूले चिनियाँ समाजवादविरूद्ध प्रयोग गर्ने चेष्टा गरिरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “हङकङको चुनावमा पनि पुँजीवादी प्रभावहरू घटेको छैन । साम्राज्यवादी देशहरूले आफ्नो उपनिवेश छोड्दा झगडाका बीउहरू पनि छोडेर जान्छन् ।” भेटमा नेमकिपाका केन्द्रीय सदस्यहरू सुरेन्द्रराज गोसाई, सृजना सैंजू र वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवाललगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *