भर्खरै :

नयाँ दिल्लीमा भिषण आगलागीः कम्तीमा ४३ जनाको मृत्यु

नयाँ दिल्ली, २२ मङ्सिर (रासस/एएफपी) — भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा भएको आगलागीको घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।
एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
सहरका साँघुरो बस्तीमा आगलागी भएपछि निर्माण सामग्री र भण्डारण गरिएका सामग्रीका कारण आगो नियन्त्रण गर्न कठिन भएर धेरैतिर फैलिएको बताइएको छ ।
“घटनास्थलबाट हामीले कम्तीमा ५० जनालाई उद्धार गरेका छौँ,” नयाँ दिल्लीका प्रहरी उपप्रमुख सुनिल चौधरीले भन्नुभयो ।
“उद्योगमा काम गर्ने मजदुरहरु सुतिरहेका बेला चार पाँच तले भवनमा आगलागी भएको थियो,” उहाँले भन्नुभयो, “खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको छ ।”
नयाँ दिल्लीका एक जना बरिष्ठ प्रहरी अधिकारीले आगलागी भएको भवनमा कम्तीमा ५८ जना रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताउनुभयो ।
अग्नि नियन्त्रकहरुले आगलागी नियन्त्रण गर्न निकै कठिनाई भएको बताएका छन् । आगलागी भएको भवनमा स्कुले विद्यार्थीका झोला र प्याकेजिङ गर्ने सामग्री राखिएका थिए ।
उद्धारकर्ताहरुले आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको जनाएका छन् ।
उद्धार गरिएका सबैलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
भारतका धेरै शहरमा रहेका कारखाना तथा साना उत्पादन केन्द्रहरु पुराना तथा साँघुरा गल्लीहरुमा सञ्चालन गर्ने गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *