भर्खरै :

बेलायती चुनावअघि दुई नेताबीच आरोप प्रत्यारोप, ब्रेक्जिट नै मुख्य मुद्दा

लन्डन, २२ मंसिर (एपी) । बेलायती प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनबीच शुक्रबार राति अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भएका छन् । बेलायतमा संसदको आमचुनाव आउन ६ दिन बाँकी हुँदा आयोजित यो बहस निकै रोचक बनेको थियो । ब्रेक्जिट र ब्रिटेनको भविष्यका बारेमा दुई नेताले पुरानै शैली र योजना अघि सारेका थिए ।
युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) लाई समर्थन गर्ने कन्जर्भेटिभ्स पार्टीका नेता जोनसनले विपक्षी नेता कोर्बिनलाई एक अस्पष्टतावादी नेताका रुपमा चित्रण गर्ने कोसिस गर्नुभएको थियो । जोनसनको भनाईमा ब्रेक्जिटप्रति कोर्बिनमा कुनै दृढ अडान छैन र यसले बेलायतलाई थप अनिश्चिततामा डुबाउँछ ।
त्यस अवसरमा नेता कोर्बिनले उपस्थित दर्शकहरूलाई कन्जर्भेटिभ्स सरकारले ल्याएको खर्च कटौतीको बारेमा सम्झना गराउनुभएको थियो । उहाँले प्रधानमन्त्री जोनसन बेलायतलाई हानी गर्ने किसिमबाट संयुक्तराज्य अमेरिकासँग व्यापार सम्झौता गर्नेतर्फ केन्द्रित हुनुभएको दाबी गर्नुभयो ।
दुबै नेताले एकअर्कोको चरित्रलाई लिएर प्रश्नसमेत गर्नुभएको थियो । प्रधानमन्त्री जोनसनले कोर्बिनलाई आफ्नो पार्टीमा मौलाएको धार्मिक कट्टरवाद वा धार्मिक घृणालाई रोक्न असफल भएको आरोप लगाउनुभएको थियो ।
कोर्बिनले प्रत्युत्तरमा “नेतृत्वमा विफल हुनै लाग्दा आफू र आफ्नो दलमाथि जोनसनले अभद्र र अशिष्ट टिप्पणी” गरेको बताउनुभएको थियो । गत वर्ष एक पत्रिकाको लेखमा जोनसनले बुर्का लगाएकी मुसलमान महिलालाई चित्रित गर्दै उनीहरू “पत्र मञ्जुषा” भनी टिप्पणी गर्नुभएको कोर्बिनको भनाइ थियो ।
बीबीसीका पत्रकार निक रोबिन्सनले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उहाँले बेलायती जनताबीच दुई अलोकप्रिय र अविश्वसनीय नेता छनौट गर्नुपर्ने “असम्भव विकल्प” मात्र बाँकी रहेको बताउनुभएको थियो ।
बेलायतका दुईजना पूर्व प्रधानमन्त्रीले आफ्नै पार्टीका उम्मेदवारहरूका विचार सुनेपछि निराशा व्यक्त गर्नुभएको छ । कन्जरभेटिभ्स पार्टीबाट यसअघि प्रधानमन्त्री बन्नुभएका जोन मेजरले ब्रेक्जिटलाई “मेरो जीवनकालको सबैभन्दा नराम्रो विदेश नीति निर्णय” भन्नुभएको छ भने पूर्व लेबर नेता टोनी ब्लेयरले मतदाताहरूलाई एक ‘भयानक’ छनौट मात्र बाँकी रहेको बताउनुभयो ।
कन्जरभेटिभ्स पार्टीले हाल अल्पसङ्ख्यक सरकार सञ्चालन गरिरहेको थियो, र ब्रेक्जिट गतिरोध अन्त्य नभएका कारण जोनसनले डिसेम्बर १२ मा पुनः संसदका लागि आमचुनावको मिति तोक्नुभएको हो । दुई वर्षअघि भएको चुनावले ब्रेक्जिट गतिरोध हटाउन सकेको थिएन ।
विपक्षीको समेत सहमतिमा हुन लागेको यस चुनावमा जोनसनले बहुमत हासिल गर्ने र ब्रेक्जिटको गतिरोध तोड्ने आशा गर्नुभएको छ । उहाँको भनाइमा यदि कन्जरभेटिभ्सले बहुमत ल्यायो भने ब्रेक्जिट सम्झौतालाई अनुमोदन गर्न संसदमा प्रस्ताव लैजाने छ । बेलायतलाई आगामी जनवरी १ बाट युरोपेली सङ्घबाट अलग गरिने पनि उहाँले बताउनुभयो ।
बहसमा जोनसनको भनाइप्रति असहमति जनाउँदै विपक्षी नेता कोर्बिनले आफू ब्रेक्जिट मामिलामा तटस्थ रहेको र त्यसको अन्तिम निर्णय गर्ने अधिकार जनतामा हुनुपर्ने बताउनुभयो । उहाँले नयाँ ब्रेक्जिट सम्झौताका लागि वार्ता गर्ने वचन दिनुभएको छ ।
जोनसनका विपक्षीहरूले उहाँका ब्रेक्जिटसम्बन्धी प्रतिबद्धताहरू पनि खोक्रा रहेको बताएका छन्, किनकि युरोपेली संघबाट बाहिरिँदा त्यसबाट महिनौं वा वर्षौँसम्म जटिल व्यापार सम्झौतामा बेलायत अल्झिनुपर्नेछ ।
कोर्बिनको भनाइमा जोनसनको कार्यकालमा बेलायतका मित्र देशहरू घट्ने र अमेरिकासँगको व्यापार सम्झौताका लागि पनि वर्षौँ भौँतारिनुपर्ने अवस्था सिर्जना हुनेछ । उहाँले उत्पादन र उद्योगमा सात वर्ष पूर्ण अनिश्चितता र निरन्तर रोजगारी गुम्ने स्थिति आउनेछ भन्नुभयो ।
दुवै नेताले गत हप्ता लन्डनमा भएको घातक आक्रमणको विषयलाई लिएर पनि बहस गर्नुभएको थियो । प्रधानमन्त्री जोनसनले कोर्बिनलाई मुलुकको सुरक्षा मामिलामा कमजोर व्यक्ति रहेको भन्दै चित्रण गर्ने प्रयास गर्नुभएको थियो । तर नेता कोर्बिनले जोनसनकै सत्तारुढ दलले देशको प्रहरी र जेल सुधारका सेवाहरूमा व्यापक कटौती गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *