भर्खरै :

काठमाडौँमा भारतीय विस्तारवादविरुद्ध विशाल जनप्रदर्शन

काठमाडौं, २३ मंसिर । भारत सरकारले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र आफ्नो देशमा गाभेर जारी गरेको नक्साको विरोधमा सोमबार राजधानीमा हजाराँै जनताले विरोध प्रदर्शन गरे । नेपाल मजदुर किसान पार्टीको आह्वानमा रत्नपार्कमा भएको भेलामा हजारौँ जनताले भारतीय विस्तारवादको मिचाहा र हेपाहा व्यवहारको चर्को विरोध गर्दै गगनभेदी नाराबाजी गरेका थिए । उनीहरूले भारतले एकतर्फीरूपमा जारी गरेको नक्सा खारेजीको माग गरेका थिए । प्रदर्शनकारीहरूले बोकेका प्लेकार्डहरूमा ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘भारतको नयाँ नक्सा खारेज गर’, ‘भारतीय सेना कालापानी छोड’, ‘असमान सन्धि खारेज गर’, ‘भारत अतिक्रमित नेपाली भूमि फिर्ता गर’, ‘सीमा अतिक्रमण बन्द गर’ आदि नारा लेखिएको थियो । उनीहरूले भारतबाट अतिक्रमित भूमिको नक्सा पनि बोकेका थिए ।
प्रदर्शनमा मजदुर, किसान, युवा, महिला, विद्यार्थी, कर्मचारी, शिक्षक, पत्रकार, इन्जिनियर, स्वास्थ्यकर्मी, व्यापारी आदिको बाक्लो सहभागिता थियो ।
जुलुस रत्नपार्कबाट जमल, नारायणहिटी सङ्ग्रहालय, नागपोखरी, उत्तरढोका हुँदै लैनचौरस्थित भारतीय दूतावासनेर धर्नामा परिणत भएको थियो । जुलुसलाई पैदलमार्गमा हिँडिरहेका बटुवा, सवारी साधनमा यात्रा गरिरहेका यात्रु र वरपरका विभिन्न कार्यालयका कर्मचारीहरूले हात उठाएर स्वागत गरेका थिए ।
भारतीय दूतावास जाने बाटोमा दसौँ हजार प्रदर्शनकारीले धर्ना दिएका थिए । त्यहाँ देशभक्ति भावनाले ओतप्रोत युवा विद्यार्थीहरूले लगातार नाराबाजी गरेका थिए ।
राजदूतावासअघि धर्ना चल्दै गर्दा नेपाल मजदुर किसान पार्टीको प्रतिनिधिमण्डल भारतीय दूतावास पुगेर विरोध पत्र बुझाएको थियो । नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल, केन्द्रीय सदस्यहरू डिल्लीप्रसाद काफ्ले, नारायण महर्जन र सुरेन्द्रराज गोसाईसहितको प्रतिनिधिमण्डलले भारतीय दूतावासका द्वितीय सचिवलाई विरोध पत्र बुझाएको थियो ।
बाहिर आयोजित धर्नामा नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले इतिहासजत्तिकै पुरानो नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बढाउन भारत सरकारले बेलायती उपनिवेशवादको धङधङी त्याग्नु आवश्यक भएको बताउनुभयो । उहाँले नेपाल–भारत खुला सिमानामा रहेका ८५२३ सीमा स्तम्भमध्ये ३७१६ हराउनुमा भारत सरकारले पनि चासो राख्नुपर्ने र नेपाल–भारत सीमा रातारात नेपालतर्फ सार्ने बद्नियतपूर्ण काम भारत सरकारले रोक्नुपर्नेमा जोड दिनुभयो ।
“सन् १८१६ को सन्धिअघि नेपालको भूभाग पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म फैलिएको थियो । सो सन्धिअनुसार महाकाली नदी पश्चिमतर्फ भारतको भूमि हो । लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्म नेपालको भूमि हो । यसकारण भारतले गएको कार्तिक १५ गते जारी गरेको आफ्नो नयाँ नक्सा खारेज गर्नुपर्दछ”, विरोध सभामा सुवालले भन्नुभयो ।
उहाँले भारतीय दूतावासका दोस्रो सचिवले हाम्रो पार्टीको पत्र बुझ्ने क्रममा नेपाल र भारत दुवै प्रजातान्त्रिक देश भएको उल्लेख गर्दै उक्त पत्र भारतीय प्रधानमन्त्री मोदीसम्म पु¥याउने वाचा गरेको जानकारी दिनुभयो ।
सुवालले भन्नुभयो, “नेमकिपाको तर्फबाट भारतीय प्रधानमन्त्रीलाई लेखिएको पत्रमा नेपालको भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेत भारतको नयाँ नक्सामा गाभेको फिर्ता गर्न आग्रह गरिएको छ ।”
उहाँले भन्नुभयो, “हाम्रो पार्टीको पत्रमा नेपाली भूमि डुबानमा पर्ने गरी भारतले बनाएका बाँधहरू महाकाली नदीमा टनकपुर, बाँकेमा लक्ष्मणपुर, रूपन्देहीमा खुर्दलोटन, कपिलवस्तुमा महलीसागर, रौतहटमा वैरगनिया रिङ्ग ड्याम बनाएको हटाउनुपर्ने माग गरिएको छ ।”
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईले नेपाल र भारतबीचको इतिहासजत्तिकै पुरानो मित्रता जोगाउने पक्षमा नेमकिपा रहेको चर्चा गर्दै एउटा छिमेकीलाई अर्को छिमेकीले पिरोल्ने काम हुँदा मित्रताको कुनै अर्थ नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “ठूलो देशले सानो देशलाई दबाउने कुचेष्टा हुन्छ, त्यहाँ मित्रताको केही अर्थ रहँदैन ।”
उहाँले भारतीय विस्तारवादको मिचाहा प्रवृत्तिविरूद्ध पुस्तौँ पुस्ता नेपाली जनता लडिसकेको र आवश्यक पर्दा अझ धेरै पुस्ता भारतीय विस्तारवादविरूद्ध लडिरहने बताउनुभयो ।
उहाँले देशलाई धोखा दिने नेपाली विभीषणहरूविरूद्ध नयाँ पुस्ता अझ सशक्तरूपमा लड्न जरूरी भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेश नं ३ का सांसद सृजना सैंजूले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतले हडपेको स्वीकार्य नभए नेपाली जनता सङ्घर्षमा आउनुपर्ने बताउनुभयो ।
नेमकिपाले भारतले बडा राष्ट्र अहङ्कारविरूद्ध लगातार सङ्घर्ष गर्दै आएको चर्चा गर्दै नेपालले आफ्नो एक इन्च भूमि पनि भारतलाई छोड्न नहुने बताउनुभयो ।
उहाँले भारतले जारी गरेको नक्सा खारेज गर्नुपर्ने र नेपाल सरकारले कूटनीतिक पहल गर्ने भनेर नेपाली जनतालाई झुक्याइरहेको प्रस्ट पार्नुभयो ।
“आफ्नो भूमिलाई आफ्नो भन्न नसक्ने सरकारको कूटनीतिक छल हो”, उहाँले भन्नुभयो ।
नेपाली भूमि एकतर्फी आफ्नो नक्सामा गाभेको घटनालाई अन्तर्राष्ट्रियकरण गर्न नहुने नेकपा अध्यक्ष पुष्पकमल दाहालको भनाइमा लेन्डुप दोर्जेको गन्ध रहेको उहाँले बताउनुभयो ।
जुलुस सुरू हुनअघि रत्नपार्कमा आयोजित सभामा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले कालापानीमा भारतले नक्कली काली नदीको मुहान बनाएर नेपाली भूमि जबरजस्ती हडप्न खोजेको बताउनुभयो ।
उहाँले बेलायती उपनिवेशवादी शासकहरूको चिन्तन आजका भारतीय शासकले पनि बोकेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले भारतीय विस्तारवादविरूद्धको नेपाली जनताको भावनालाई बेलैमा नेपाल सरकारले बुझ्नु बुद्धिमानी हुने धारणा राख्नुभयो ।
सभामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवाल र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *