भक्तपुर, २३ मंसिर । गत असोज २३ र २४ गते सम्पन्न उनन्चालिसौँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमको विविध विधाका उत्कृष्ट कलाकारहरूलाई पुरस्कार वितरण तथा सम्हेबजी कार्यक्रम मंसिर २८ गते हुने भएको छ ।
उनन्चालिसौँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिले सोमबार राखेको भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भारतले सिक्किमलाई जस्तै जम्मु–काश्मीरलाई आफ्नो देशमा गाभेको उल्लेख गर्दै अब बिस्तारै भुटान हुँदै नेपाललाई निल्न नेपालको लिम्पियाधुरा–कालापानी भारतको नक्सामा पारेको बताउनुभयो ।
जम्मु–काश्मीर भारतको आन्तरिक मामिला नभएको बताउँदै उहाँले छुट्टै राष्ट्रिय गान, झन्डा भएको देश कसरी भारतको हुनसक्छ भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “नेकपाले दुईतिहाइको दम्भ नेपालीलाई देखाए पनि भारतीय सरकारको आशीर्वादमा मात्र ओलीले सरकार गठन गर्न सकेको हो । नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा रहेकाले प्रचण्डले नेपाल–भारत सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न नहुने अडान राखेको हो ।”
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष चन्द्रबहादुर उलक, उनन्चालिसौँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम आयोजक समितिका सल्लाहकार रवीन्द्र खर्बुजा, आयोजक समितिका अध्यक्ष श्यामसुन्दर मातां, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र राजन जतिले पनि बोल्नुभएको थियो ।