गौरव प्रधान

नेपालले पनि भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनायो । सत्तारुढ दल सरकारको नेतृत्व गर्दा र भ्रष्टाचारविरोधी दिवसमा मात्र भ्रष्टाचारीमाथि कारबाही गरेर भ्रष्टाचार अन्त्य गर्ने कुरा अघि सार्छ । प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व थालेसँगै भ्रष्टाचार शून्य बनाउन कुनै पनि भ्रष्टाचारीमाथि कारबाही गर्ने वाचा गरेका थिए । तर, भ्रष्टाचार अन्त्य त के घटेको पनि छैन । भ्रष्टाचार कुनै नेता र मन्त्रीले फुकेर हुने होइन । भ्रष्टाचार व्यक्तिको आचरणमा भरपर्छ । देशका कर्मचारीदेखि प्रधानमन्त्री इमानदार र निःस्वार्थी नभएसम्म भ्रष्टाचार अन्त्य हुने छैन । सत्तारुढ दलका नेता र सांसदहरू विकासको कुरा गर्छन्, विकास ल्याउँछन् तर तिनै विकासमा उनीहरू भ्रष्टाचार र अनियमितता गर्छन् । निर्वाचनमा बाँडेको पैसा र खर्च उठाउन उनीहरू अनेक भ्रष्टाचार गर्छन् । पुँजीवादी व्यवस्थाको प्रतिनिधित्व गर्ने दलले भ्रष्टाचार अन्त्य गर्ने छैन, अन्त्य भइरहेको छैन ।
विश्वमा भ्रष्टाचारको सूचीमा परेका देशहरूमध्ये नेपाल पनि एक हो । नेपाल सन् २०१७ मा १२२ औँ स्थानमा थियो भने २०१८ मा १२४ औँ स्थानमा थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलको यो आकलनले नेपाल पनि अधिक भ्रष्टाचार हुने मुलुकमा पर्छ । संयुक्त राष्ट्र सङ्घद्वारा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरिएको दिन ९ डिसेम्बरलाई भ्रष्टाचारविरोधी दिवस मनाइँदै आएको हो । नेपालले पनि प्रत्येक वर्ष मनाइरहेको छ । यसै अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार अन्त्य गर्न सरकारले पहल गरिरहेको बताए । पद र पैसाको निम्ति राजनीति गर्ने कुनै पनि दलले जसले जे भने पनि भ्रष्टाचार अन्त्य हुने छैन र अन्त्य गर्ने अभियान चलाइरहेको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भए पनि भ्रष्टाचार अन्त्य हुने छैन । अख्तियारको काम भ्रष्टाचारीमाथि कारबाही गर्ने प्रक्रिया अघि बढाउने हो, भ्रष्टाचारीमाथि कारबाही गर्दा भ्रष्टाचारीहरू हतोत्साही हुन्छन्, भ्रष्टाचार गर्न र गराउन डराउँछन् । तर, त्यो अनुसन्धान आयोग देशभर पुग्दैन । पुग्न सम्भव छैन । भ्रष्टाचार अन्त्य गर्ने हो भने सरकारले नै अभियान छेड्नुपर्छ । घूस खाने, अनियमितता गर्ने, विकासमा कमिसन खाने, विकासको रकम चुहावट गर्ने र ढिलासुस्ती गर्ने आदि भ्रष्टाचारका पक्षहरू हुन् । देशमा कानुनी र गैरकानुनीरूपमा भ्रष्टाचार भइरहेको छ । यस्ता कार्यमा सत्तारुढ दलका व्यक्तिहरू नै अधिकांश भ्रष्टाचारमा मुछिएका छन् । काममा पारदर्शिता छैन । सदाचार र जवाफदेहिता नाउँमात्रको छ । अधिकांश काम मिलेमतोमा हुन्छ । सदाचार, नैतिकता, आर्थिक अनुशासन, सेवाभाव र इमानदारिता सत्तारुढ दलमा झन्डै हराइसकेको छ ।
विकास कार्य मन्द गतिमा छ । समयमा काम भइरहेको छैन । विकासमा चुहावट छ । मालपोत, भूमिसुधारमा घूसविना काम हुँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको अवधिमा घूससहित १ सय ४० जनालाई नियन्त्रणमा लिएर १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको समाचार प्रकाशमा आएको छ । भ्रष्टाचार मुद्दामा इन्जिनियर धेरै भएको समाचार पनि छापामा आयो । सत्तासीन दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू इमानदार र निःस्वार्थी नभएसम्म भ्रष्टाचार घट्ने छैन । भ्रष्टाचार अन्त्य हुने छैन । सरकारले आफ्ना कार्यकर्तालाई इमानदारीपूर्वक सेवा गर्नुपर्ने मार्गनिर्देशन गरेको छैन र प्रशिक्षित पारेको छैन । त्यसकारण भ्रष्टाचार नहुने सरकारी सङ्घ संस्था विरलैमात्र हुन्छ । अतः सत्तासीन दल तथा अन्य सबै दलका कार्यकर्ताहरू इमानदार बन्नुपर्छ र निःस्वार्थी हुनुपर्छ । देश र जनताप्रति जिम्मेवार बन्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *