भर्खरै :

सम्पदा संरक्षण र पुनःनिर्माण आउँदो पुस्ताको निम्ति हो, सम्पदा भनेको विदेशीको निम्ति होइन

सम्पदा संरक्षण र पुनःनिर्माण आउँदो पुस्ताको निम्ति हो, सम्पदा भनेको विदेशीको निम्ति होइन

भक्तपुर, ३ वैशाख । विश्व सम्पदा दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा बिहीबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले संरक्षणको अभावमा विश्वका धेरै सम्पदाहरूको विनाश भएको उल्लेख गर्दै हामीसँग भएका सम्पदाहरूको संरक्षण गर्दै जानुपर्ने बताउनुभयो । “हाम्रो सम्पदाहरूलाई जोगाउने प्रयास हामीले गर्छौँ । सम्पदा संरक्षण र पुनःनिर्माण आउँदो पुस्ताको निम्ति हो, सम्पदा भनेको विदेशीको निम्ति होइन,” उहाँले भन्नुभयो ।
उहाँले पुर्खाले बनाएको सम्पदाहरूको संरक्षण भएकोले सोको अवलोकन गर्न पर्यटकहरू आएको बताउँदै सम्पदाबारे नयाँ पुस्तालाई जानकारी दिन भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा सम्पदासम्बन्धी जानकारी समावेश गरेको स्पष्ट पार्नुभयो ।
उहाँले २०७२ सालको भूकम्पले क्षतविक्षत भएका भक्तपुरका सम्पदाहरूको पुनःनिर्माणको लागि जर्मन सरकारबाट आर्थिक सहयोगको प्रस्ताव आए पनि सो अनुदान स्वीकार नगरेको बताउँदै भक्तपुरका १७१ वटा सम्पदाको पुनःनिर्माण विदेशीको अनुदानबिना नै स्थानीय स्रोत साधनबाट सम्पन्न गरेको विचार व्यक्त गर्नुभयो ।
सम्पदाको संरक्षणमा स्थानीय जनताको अपनत्व हुने भएकोले स्थानीय उपभोक्तामार्फत भक्तपुरका सम्पदाहरूको पुनर्निर्माण कार्य हुँदै आएको उल्लेख गर्दै उहाँले भविष्यमा पनि स्थानीय उपभोक्तामार्फत नै सम्पदाको पुनःनिर्माण हुने स्पष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाले नगरवासीले आफ्नो घर निर्माण गर्दा परम्परागत इँटा, काठका झ्याल ठोका प्रयोग गर्दा निश्चित प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको पनि उहाँले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर अमूर्त सम्पदाको खानी हो । यहाँको अमूर्त सम्पदाहरूको संरक्षणमा भक्तपुर नगरपालिकाले विशेष कार्य गर्दै आएको छ । नगरपालिकाले ती अमूर्त सम्पदाहरूको संरक्षणको लागि भक्तपुर महोत्सव, विविध बाजा प्रतियोगिता, सांस्कृतिक गुरुहरूको सम्मान, सांस्कृतिक पदयात्रा, नृत्य प्रतियोगिता आदि सञ्चालन गर्दै आएको छ । भक्तपुर जात्रै जात्राको पनि सहर हो । यहाँ हरेक १५/१५ दिनमा कुनै न कुनै जात्रा पर्व भइरहने भएकोले पर्यटकलाई आकर्षित गर्नुपर्छ ।”
नेपाल प्राकृतिक रूपले धनी तथा सांस्कृतिक रूपले सम्पन्न भए पनि पर्यटकहरू कम मात्र आकर्षित भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले नेपालभन्दा सानो देशहरूमा पर्यटकको घुइँचो हुने तर प्राकृतिक र सांस्कृतिक रूपमा धनी भएर पनि थोरै सङ्ख्यामा मात्र पर्यटक आउने यस विषयमा गहिरो चिन्तन गर्नुपर्ने बताउनुभयो ।
अर्को एक प्रसङ्गमा माध्यमिक तहसम्मको शिक्षाको एकल अधिकार संविधानमै स्थानीय तहलाई दिइएको चर्चा गर्दै शनिबार र आइतबार दुई दिन शिक्षण संस्था बिदा भएमा ९८ दिनमात्र पढाइ हुने हुँदा हालको पाठ्यक्रमअनुसार कोर्स सकाउन गा¥हो हुने शिक्षाविद्हरूबाट सुझाव प्राप्त भएको पनि उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले सम्पदाको निर्माणमा पुर्खाको योगदान रहेको चर्चा गर्दै ती सम्पदाहरूको संरक्षण गर्दै पुस्तान्तरण गर्दै जानुपर्ने बताउनुभयो ।
पुर्खाले बनाएको सम्पदाको अध्ययन र सोको संरक्षणमा ख्वप इन्जिनियरिङ कलेजमा अध्यापन हुने ग्चदबल Urban Design and Conservation को योगदान अतुलनीय रहेको उहाँले बताउनुभयो । आफ्नो तिब्बत भ्रमणमा तिब्बतको पोताला दरबारको संरक्षणबाट आफू प्रभावित भएको उल्लेख गर्दै उहाँले भक्तपुरका सम्पदाहरूको पनि मौलिक संरक्षण गर्नुपर्ने बताउनुभयो ।
उहाँले बिस्का जात्राको सांस्कृतिक तथा पूर्वाधारगत सन्दर्भमा यातायात इन्जिनियरिङ, संरचनात्मक इन्जिनियरिङ, भूकम्प इन्जिनियरिङ, ट्राफिक इन्जिनियरिङ तथा सामाजिक इन्जिनियरिङजस्ता पाँच प्रमुख इन्जिनियरिङ क्षेत्रहरूको महत्व औँल्याउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले सम्पदा संरक्षणको आवश्यकता औँल्याउँदै सम्पदा संरक्षण सम्बन्धमा विशेषज्ञ तयार गर्न भक्तपुर नगरपालिकाले ख्वप इन्जिनियरिङ कलेजमा सन् २००४ मा Master in Earthquake Engineering र सन् २००५ देखि Urban Design and Conservation को अध्ययन अध्यापन सुरु गरेको चर्चा गर्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले सम्पदाहरूको संरक्षणमा पुराना फोटोहरूको पनि विशेष महत्व हुने चर्चा गर्दै मूर्त तथा अमूर्त सम्पदाहरूको संरक्षण हुनुपर्ने बताउँदै अमूर्त सम्पदालाई आर्थिक पक्षसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उक्त कार्यक्रममा फोटोग्राफर सुनिल उलकले ‘हाम्रा सम्पदा र यसप्रति युवा पुस्ताको दायित्व’, आर्किटेक्ट बिनिता मगैयाले ‘The lost faithy of Brahma in Deopatana and restoration challenges of the Temple’, ई. विशाल महर्जनले M.A.T.S.- Music across time and space; Musical experience, community identity & ritual-communal setting in Harisiddhi’ र ई. रविन कस्तीले ‘Perception of Walkability in the historic core of Bhaktapur : A Comparative study of Residents and Tourists’ विषयमा आ–आफ्नो प्रस्तुति दिनुभएको थियो । सो अवसरमा सम्पदासम्बन्धी फोटो प्रदर्शनी पनि भएको थियो ।
कार्यक्रममा आर्किटेक्ट लिवास फैजू र प्रमिला शिल्पकारले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *