भर्खरै :

नागरिकता विधेयकको विरोधमा आसाममा प्रदर्शन

गुवाहाटी, भारत, २६ मंसिर (एएफपी) । भारतको केन्द्रीय सरकारले संसद्मा प्रस्तुत गरेको विवादास्पद नागरिकता संशोधन विधेयकको विरोधमा आसाममा जारी प्रदर्शनमा प्रहरीले बिहीबार गोली चलाएको छ । असममा लगाइएको निषेधाज्ञालाई बेवास्ता गर्दै हजारौँ मानिस प्रदर्शनमा उत्रिएका छन् ।
अधिकारीले हालैका प्रदर्शनमा २० जना घाइते भएको बताएका छन् । प्रदर्शनकारीले सवारी साधनमा आगो लगाएका र स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको छ । परिस्थिति निकै नाजूक भएको भन्दै आसाममा हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले एकपछि अर्को ट्वीट गर्दै आमजनतालाई शान्त रहन अपिल गरिरहनुभएको छ तर राज्यका अधिकांश भागमा इन्टरनेट सेवा नै अवरुद्ध छ ।
भारतको माथिल्लो सदनले बुधबार पारित गरेको नागरिकता संशोधन विधेयकले तीन छिमेकी मुलुकका धार्मिक अल्पसङ्ख्यक नागरिक खासगरी हिन्दु धर्मावलम्बीका नागरिकतासम्बन्धी आवेदनलाई छिटो निरूपण गर्न अनुमति दिएको छ तर यसमा मुस्लिम अल्पसङ्ख्यकलाई त्यस्तो मौका दिइएको छैन ।
इस्लामी समूह, विपक्षी, अधिकार समूह र अन्यले यो प्रधामन्त्री मोदीको हिन्दू–राष्ट्रवादी एजेन्डाको एक हिस्सा भएको भन्दै विरोध गरिरहेका छन् । उनीहरूको भनाइमा भारतका दुई करोड मुसलमानलाई सीमान्तकृत गर्नेगरी नागरिकता विधेयक आएको हो ।
भारतको सुदूर उत्तर पूर्वका धेरैजसो मानिसलाई केन्द्र सरकारको पछिल्लो कदमले निकै त्रासमा राखेको छ किनभने नयाँ कानुनले बङ्गलादेशबाट आएका इस्लामबाहेक हिन्दू आप्रवासीलाई मात्र नागरिकता दिने बाटो खोल्नेछ, र मुस्लिम समुदाय बिचल्लीमा पर्नेछन् ।
“म असमका मेरा भाइबहिनीलाई आश्वस्त पार्न चाहन्छु कि नागरिकता संशोधन विधेयक पारित भएपछि पनि उनीहरूले चिन्ता लिनुपर्दैन,” प्रधानमन्त्री मोदीले उत्तरपूर्वको सबैभन्दा ठूलो राज्य असमका जनतालाई सम्बोधन गर्नुभएको ट्वीटमा लेख्नुभएको छ ।
सरकारले रातिको समयमा निषेधाज्ञा (कफ्र्यु) लगाएको भए पनि धेरैजसो स्थानमा त्यसलाई उल्लङ्घन गरिएको छ ।
सरकारले मोबाइल इन्टरनेट सेवा पनि बन्द गरेको छ । त्रिपुरा र असम राज्यतर्फ जाने सबैजसो रेलसेवा स्थगित गर्नुका साथै केही हवाई उडान रद्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *