भर्खरै :

भारतको विद्यार्थी आन्दोलनः हिजो र आज

माधव नायर
भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा छात्रावास शुल्कमा गरिएको वृद्धिको विरोधमा भएको विद्यार्थी आन्दोलनले धेरैको ध्यान तानेको छ । यो आन्दोलनले उच्च शिक्षामा समावेशितादेखि सरकारी लगानी भएका विश्वविद्यालयको भविष्य हुँदै भारतको उच्च शिक्षा नीतिबारे बहस चर्केको छ । तर, यो बहसमा छुटेको विषय भनेको ‘विद्यार्थीलाई कसरी हेर्ने र व्यवहार गर्ने’ भन्ने प्रश्न हो । के हामीले उनीहरूलाई समान नागरिक मान्दैछौँ ?
जेएनयुको आन्दोलनलाई सुरुमा आर्थिकरूपमा विपन्न गरिब वर्गका विद्यार्थीसम्म गुणस्तरीय उच्च शिक्षाको पहुँच विस्तार गर्ने आन्दोलनको रूपमा हेरिएको थियो । बीसौँ शताब्दीको पूर्वाद्धको पञ्जाबको विद्यार्थी राजनीतिबारे अध्ययन गरिरहेको, विद्यार्थी राजनीति र भारतीय राष्ट्रवादबीचको सम्बन्धबारे अनुसन्धान गरिरहेको म जस्तो अध्येताको मनमा जेएनयुको यो आन्दोलनले केही गम्भीर प्रश्न उठाएको छ । एउटा स्वतन्त्र र स्वाधीन राष्ट्र–राज्यले आफ्ना विद्यार्थीलाई कसरी हेर्ने वा व्यवहार गर्ने ? उनीहरूका माग र प्रजातान्त्रिक नागरिकको रूपमा उनीहरूको प्रतिस्पर्धालाई कसरी हेर्ने ? विद्यार्थीबाट राज्यले के अपेक्षा गर्ने ?
यी प्रश्नको उत्तर खोज्न हामीले इतिहासतिर फर्केर हेर्न उपयुक्त हुन्छ । दक्षिण एसियाको इतिहासमा विद्यार्थीहरू सधैँ हेलामा परेका छन् । स्वतन्त्रता आन्दोलनमा विद्यार्थीको योगदानलाई जति जस दिनुपर्र्ने थियो, त्यति दिइएको छैन । अहिले आन्दोलनरत विद्यार्थीहरू सीमान्तकृत समुदाय हुन् र देशभक्ति आन्दोलनको इतिहासमा उनीहरूको नाम मुस्किलले मात्र उल्लेख भएको देख्छौँ ।
त्यसमाथि राष्ट्रवादी इतिहासले सधैँ विद्यार्थीलाई सीमान्तकृत पार्न र दबाउन प्रयास गर्छ । पण्डित प्यारे मोहनले त विद्यार्थीहरूलाई बेलायत राजको पिछलग्गुसमेत भनेका थिए । राष्ट्रवादको महाआख्यानमा विद्यार्थीलाई झिनो पात्र वा निस्क्रिय सहभागीको रूपमा लिने गरेको छ । उनीहरूले विद्यार्थीलाई इतिहासका वैध ऐतिहासिक पात्र वा आफ्नै बलबुत्तामा उभेको इतिहासका प्रतिनिधिको रूपमा हेरेका छैनन् ।
विद्यार्थीहरूको लागि राष्ट्रवादी आन्दोलनमा सहभागिताको अर्थ आफ्नो वृत्ति विकास तिलाञ्जली दिनु हो । मेरा जिजुबुबा लाला चुन्नी लाल नायर सन् १९१९ को रोलात्त सत्याग्रहमा सहभागी बनेको अभियोगमा भारतीय निजामति सेवाको कालो सूचीमा राखिएको थिए । त्यत्तिबेला उनी लाहोरको सरकारी कलेजका विद्यार्थी थिए । मैले आफ्नो अनुसन्धान उनै मेरा जिजुबुबाको प्रेरणाले थालेको थिएँ । अनुसन्धानको क्रममा मैले आफ्नो जिजुबुबाजस्तै देशभक्ति आन्दोलनमा आफ्नो वृत्ति र जीवन त्यागेका सयौं सयौं मानिस भेटाएँ ।
ननाक चन्द कपुर, प्राणनाथ, शम्शेर सिंह, फहुर–उद्दिन, भगवान दास, दिनानाथ, शेरसिंह, मञ्जुर हसन खाँ, दुर्गा दत्त, दिन दयाल, देश राज र अरु धेरै जनालाई आन्दोलनमा लागेको कारण कलेजबाट निष्काशन गरिएको थियो अथवा भारी शुल्क जरिवाना गरिएको थियो । कतिलाई त फेरि भर्ना अवसरबाट समेत सदाको लागि वञ्चित गरिएको थियो । कति विद्यार्थीलाई पञ्जाब प्रशासनले फौजदारी कानुन लगाएर कोरा लगाउने सजाय गरेको थियो ।
‘प्रजा हो, नागरिक होइन’
आश्चर्यको कुरा के हो भने भारतमा बेलायती उपनिवेश छँदा विद्यार्थीप्रति जस्तो दृष्टिकोण थियो, स्वतन्त्र र स्वाधीन भारतले पनि विद्यार्थीलाई त्यही दृष्टिकोणले हे¥यो । उपनिवेशकालको अन्त्यपछि पनि भारतले विद्यार्थीको सन्दर्भमा उपनिवेशवादी चिन्तनलाई नै निरन्तरता दिएको देखिन्छ । जेएनयुका विद्यार्थीमाथि दिल्ली प्रहरीले गरेको निर्मम लाठीचार्ज यसकै उदाहरण हो । उपनिवेशवादी सरकार र त्यसपछिका सरकारले पनि विद्यार्थीलाई उपद्रयाहाको रूपमा मात्र हेर्ने गरेका छन् ।
त्यही चिन्तनकै कारण अहिले आन्दोलन गरिरहेका विद्यार्थीलाई पनि राज्यको फलामे हात प्रयोग गरी कडा ‘अनुशासन’मा राख्नुपर्ने जस्तो व्यवहार गरिएको छ । आन्दोलन गर्ने वा विद्रोही विद्यार्थीलाई बेवास्ता मात्र गरिने होइन, बरु अराजकतावादी, देशद्रोही वा अझ राष्ट्रविरोधी तत्वको रूपमा समेत व्यवहार गर्ने गरिन्छ । आन्दोलनरत विद्यार्थीलाई हिंसा, अराजकता, अस्थीरता निम्त्याउने कारणको रूपमा हेरिन्छ । उनीहरूलाई तर्कपूर्ण बहस र संवाद गर्न सक्षम नागरिकको रूपमा हेरिंदैन ।
विद्यार्थीलाई देशको भविष्यको कर्णाधार भनिन्छ । तर, उनीहरूलाई भविष्यको आकार निर्माणका सक्रिय साझेदारको रूपमा हेरिंदैन । उनीहरू वास्तवमा संस्थागत पक्षपातको शिकार बनेका छन् । विश्वविद्यालयका प्राध्यापक, प्रशासन र अधिकारीहरूबाट अपमानजनक व्यवहार गरिने उनीहरूलाई सम्मान योग्य नागरिकको रूपमा हेरिन्न ।
उपनिवेशवादी राज्यले जस्तै आजको राष्ट्र–राज्यले पनि विद्यार्थीलाई नागरिकको रूपमा भन्दा पनि प्रजाको रूपमा हेर्ने गरेको छ । प्रजा भनेका सधैं वफादार हुनुपर्छ र सानोभन्दा सानो अटेरी काम भए उसलाई कडाभन्दा कडा सजाय दिइन्छ । अहिले त राजनीतिबाट अलग रहने र आफ्नो पढाइमा मात्र सीमित रहने विद्यार्थीलाई नै ‘राम्रो विद्यार्थी’ मानिन्छ । सरकारले सधैं विद्यार्थीहरू सधैं अराजनीतिक प्राणी बनोस् भन्ने अपेक्षा गरेको हुन्छ ।
निःसन्देह, विद्यार्थीलाई सबभन्दा पहिले प्रजातन्त्रमा समान हिस्सेदारी भएका नागरिकको रूपमा हेरिनुपर्छ । साथै प्रजातान्त्रिक नागरिकको रूपमा विद्यार्थीलाई पनि राजनीतिक वा ऐतिहासिक भूमिका भएको समुदायको रूपमा लिइनुपर्छ । हामी के कुरा भुल्छौँ भने विद्यार्थी पनि नागरिक हुन् जसलाई प्रश्न गर्ने अधिकार छ । आफूलाई शासन गरिरहेको सत्ताको विषयमा प्रश्न गर्ने र त्यो सरकारका निर्णयले आफ्नो जीवनमा पार्ने प्रभावबारे सोच्ने अधिकार विद्यार्थीलाई पनि हुन्छ । राजनीतिक प्रक्रियामा उनीहरूको पनि साझेदारी हुन्छ ।
भविष्यका लागि उत्पादनशील नागरिकको रूपमा मात्र विद्यार्थीलाई हेर्ने सरकारको उपयोगितावादी सोचले विद्यार्थीको राजनीतिक कल्पनशीलता र देश निर्माणलाई आकार दिने आवाजको रूपमा स्वीकार्दैैन ।
जेएनयुका विद्यार्थीहरूले स्वतन्त्रता सङ्घर्षको भद्र अवज्ञा आन्दोलनमा भाग लिएका विद्यार्थीहरूबाट धेरै कुरा सिक्न सक्छन् । बेलायत राजको विरोधमा उनीहरूले प्रतिरोधको भद्र र रचनात्मक तरिका अपनाएका थिए । भद्र अवज्ञा आन्दोलनको उत्कर्षमा अमृतसरको खाल्सा कलेजमा विद्यार्थीहरूले गदालाई लुगा लगाइदिएर घाटीमा कागज झुण्ड्यिाइदिएका थिए । त्यसमा लेखिएको थियो–‘परीक्षामा म पनि सहभागी बन्न चाहन्छु ।’ त्यो गदालाई उनीहरूले हरेक कक्षाकोठामा लगेका थिए ।
बेलायत राजको जडताप्रति व्यङ्ग्य गर्ने यो एउटा भद्र तरिका थियो । एक शताब्दीको कालखण्ड बितिसकेको छ । तथापि आजका विद्यार्थीहरूले पनि यो तरिकाबाट सिक्न सक्छन् । पञ्जाबका विद्यार्थीहरूले जस्तै आजका विद्यार्थीहरूले पनि जुझारु गीत गाउँदै आन्दोलनमा होमिन सक्छन् । उनीहरूले गाएका थिए–हामीले जीवन गुमाउन परे पनि हामीलाई पराजय स्वीकार्य छैन ।
(लेखक सन् १९१८–२२ सम्म उपनिवेशकालीन अमृतसर सहरमा भएको विद्यार्थी आन्दोलन र प्रतिरोधका अध्येता हुन् । उनले आधुनिक दक्षिण एसियाको इतिहासबारे स्नातकोत्तर गरेका छन् ।)
स्रोतः स्क्रोल डट इन
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *