भर्खरै :

भनपाद्वारा भक्तपुरका नयाँ प्रजिअ हुमकला पाण्डेलाई स्वागत

भक्तपुर, २७ मंसिर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी हुमकला पान्डेको स्वागत तथा परिचयात्मक कार्यक्रम शुक्रबार सम्पन्न भयो । नगर प्रमुख प्रजापतिले नवनियुक्त प्रजिअ पाण्डेलाई ढाकाको पछ्यौरा र पुष्प गुच्छाले स्वागत गर्दै उहाँको कार्यकाल सफलताको लागि शुभकामना दिनुभयो ।
काम गर्ने सिलसिलामा आइपर्ने बाधा अड्चन र अप्ठ्यारा परिस्थितिमा प्रशासनको सहजीकरणको भूमिका आवश्यक भएको बताउँदै मेयर प्रजापतिले भक्तपुर जिल्लाको शान्ति–सुरक्षा कायम गर्न प्रशासनको सकारात्मक सहयोग रहनेमा विश्वास व्यक्त गर्नुभयो ।
कुनै पनि ठाउँको शान्ति–सुरक्षा त्यस ठाउँ विकासको पहिलो सूचक भएको बताउँदै प्रमुख प्रजापतिले स्थानीय सरकार सञ्चालन ऐनको परिधिभित्र रहेर प्रशासनको सहयोगमा आफ्ना कार्यहरू अगाडि बढाइरहेको र विकास निर्माणमा उपभोक्ता समितिलाई नै जोड दिइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले सांस्कृतिक र पर्यटकीय नगरको शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले सहयोगी भूमिका निर्वाह गर्नेमा विश्वास प्रकट गर्दै सामाजिक समस्याहरूबारे सचेतना कार्यक्रममा सहजीकरण भूमिका आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्लाका नवनियुक्त प्रजिअ हुमकला पान्डेले ऐतिहासिक एवम् सांस्कृतिक नगरमा प्रजिअको रूपमा काम गर्न पाएकोमा उत्साहित भएको बताउँदै भक्तपुर नपाले गरेको न्यानो स्वागतको लागि आभार प्रकट गर्नुभयो । उहाँले विभिन्न सङ्घ–संस्थामा आफ्नो कार्य अनुभव पनि सुनाउनुभयो ।
स्थानीय सरकार र प्रशासन जति नजिक भएर काम गर्छ, जनताको समस्या समाधान गर्न र विकास निर्माणको गति त्यहीअनुरुप अगाडि बढ्ने बताउँदै प्रजिअ पाण्डेले भक्तपुर जिल्ला प्रशासन कार्यालय भक्तपुर नपासँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाको तर्फबाट नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला र जनप्रतिनिधिका तर्फबाट वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभयो ।
नगर प्रमुख प्रजापतिले प्रजिअ पाण्डेलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र भक्तपुर नगरपालिकाको प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *