भर्खरै :

सामाजिक उतरदायित्वको काम गर्न तत्पर : व्यवयासी

भक्तपुर, २७ मंसिर । भक्तपुरका इटा उद्योगीहरूले आफूहरू नाफामा मात्रै केन्द्रित नभई सामाजिक उतरदायित्वकाको काम गर्न पनि त्यतिकै तत्पर रहेको बताएका छन् । भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घको शुक्रबार भक्तपुरमा भएको २८ औँ वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा उनीहरूले इँटाभटा रहेको गाउँ–ठाउँका सडक, पुल, मठ–मन्दिर, पाटी–पौवा पुनःनिर्माणलगायतका काम पनि आफूहरूले गरिरहेको र भविष्यमा पनि गरिरहने प्रतिबद्धता जनाए ।
साधारणसभाको उद्घाटन गर्दै नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले सरकारको गलत नीतिका कारण स्वदेशी उद्योगीहरू पलायन हुनु परिरहेको बताउनुभयो ।
स्वदेशी उद्योगधन्दाहरूको प्रवद्धर्नका लागि सरकारले काम गर्न नसकेको भन्दै उहाँले सरकार यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल इँटा उद्योग व्यवसायी सङ्घका महासचिव कृष्णप्रसाद अवालले नेपालमै आत्मनिर्भर रहेको इँटा उद्योगहरूलाई सरकारकोतर्फबाट प्रोत्साहन हुनुपर्ने जोड दिनुभयो ।
भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका संस्थापक अध्यक्ष विश्वराम कवाँले उद्योगीहरूले सामाजिक उतरदायित्वका काम गरिरहेको र भविष्यमा पनि गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बा, उपाध्यक्ष आशाकाजी त्वानाबासु, सचिव आशाराम वैद्य, सल्लाहकारहरू प्रकाशराम जाकिबञ्जार, राजेन्द्रप्रसाद प्रजापतिलगायतले आफूहरू नाफामा मात्रै केन्द्रित नभई समाजको हितमा विभिन्न कामहरूमा पनि उतिकै सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा साढे दुई दसकदेखि सङ्घमा कार्यरत कर्मचारी देवेन्द्र नापितलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *