‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
–प्रकाश
नेपालमा केही स्वघोषित विकासपे्रमीहरू नेपालको पत्रकारिता विकासप्रेमी नभएको र विकास पत्रकारिता नगरेको आरोप लगाउने गर्छन् । केही अपवादलाई छाडेर सिङ्गो पत्रकारजगत विकासप्रेमी र प्रगतिशील छ । विकास निर्माणका सकारात्मक पक्षबारे खोतली खोतली लेखिरहेको पनि पाउँछौं । विकास पत्रकारिता धेरै हुन विकास निर्माणको गति पनि द्रुत हुनुप¥यो । एउटै कुरो पनि निर्माण हुने र पुनः निर्माण हुने भनेर धेरैपटक पत्रकारले लेखिसकेका हुन्छन् तर सम्बन्धित निकाय र ठेकेकदारले काम गर्न सुरु पनि गरेका हुँदैनन् । उदाहरणका लागि मेलम्चीले ‘यसै वर्षको दसैमा’, ‘नयाँ वर्षमा’ आदि इत्यादि समय किटानीभित्र काठमाडौँ उपत्यकावासीलाई पानी खुवाउने समाचार लेखियो तर ती सबै हावा समाचारजत्तिकै भए । त्यसमा पत्रकारहरूको केही दोष थिएन । दावी गर्ने मन्त्री, सचिव, आयोजना प्रमुख र सम्बन्धित निकायले आफ्नो काम नगरेपछि काम पूरा नहुनुमा समाचार वा पत्रकारको के दोष ? त्यस्ता आयोजनाहरूमा समयमै काम भएन भनेर लेखेपछि उल्टै पत्रकार र पत्रकारजगतलाई नै विकासविरोधी आरोप लगाउने रोग हाम्रो देशमा छ ।
अहिले काठमाडौँ उपत्यकालगायत देशका केही वर्ष पुराना सडकहरू बिग्रेका, भत्केका छन् । सम्बन्धित सडकका उपभोक्ता र स्थानीय जनताले पटक–पटक सडकै बन्द गरेर आन्दोलनसमेत गरिरहेका छन् । ती सडक पुनःनिर्माण र मर्मतसम्भारका लागि बजेट पनि छन्, तर सडक विभाग र डिभिजन सडक कार्यालयहरू सुतेर बसेका छन् । ती सडक पुनःनिर्माण र मर्मतसम्भारका लागि ठेक्का लगाइसकेका भए पनि काम सम्पन्न भएका छैनन् । किन काम भएन भनी सोध्ने पहिलो दायित्व सडक विभाग र डिभिजन सडक कार्यालयहरूकै हो । तर मिलेमतो भएरै हो वा किन काम नगर्ने ठेकेदारलाई समयमै काम थाल्न र काम पूरा गर्न ताकेता गर्दैनन्, न त गरेका काम निर्धारित गुणस्तरअनुरुप छ वा छैन भनेर अनुगमन नै गर्छन् । अनुगमन गरेकै भए पनि स्थानीय र सम्बन्धित बिटका पत्रकार बोलाउँदैनन् । उल्टो पत्रकारले खेदोमात्र खन्ने झूटो आरोप लगाउँछन् । पत्रकारले खेदो खन्ने होइन, नियम निर्देशिका काम भए नभएको, निर्धारित गुणस्तर कायम गरे नगरेको र समयमा काम गरे या नगरेकोबारे आम जनतालाई सुसूचित गराउने हो । आफ्नो त्यो जिम्मेवारी पूरा गर्दैमा पत्रकार र पत्रकारिता जगत विकासविरोधी हुन्छ भने विकासप्रेमी भनाउँदाहरू के हुन् ? र को हुन् ?
Leave a Reply