भर्खरै :

आर्यघाटमा शवको पनि मोलमोलाइ !

–कमल रिजाल
पशुपति आर्यघाटमा घाट व्यवस्थापन समितिकै तर्फबाट शवमाथि खेलबाड हुन्छ, बार्गेनिङ हुन्छ भन्ने सुनिएको थियो । मृतकका आफन्तले आफैं शव जलाउन खोजे दाउरालगायतका दाह संस्कारका समान पूरा दिँदैनन्, समितिकै तर्फबाट जलाउन आग्रह गर्ने हो भने दाहकहरूले इमोसनल ब्ल्याकमेल गर्छन्, अनावश्यक निहुँ झिकेर खोचे थाप्छन्, दुःख दिन्छन्, भावनामा खेलेर अतिरिक्त रकम असूल गर्छन् भन्ने पनि सुनिँदै आएको थियो तर विश्वास भने लागेको थिएन । गत कार्तिक ३० गते शनिबार आफैले यस्तो अप्रिय घटनाको सामना गर्नुप¥यो, व्यहोर्नुप¥यो । पंक्तिकार आफ्नै आमाको शव लिएर दाहसंस्कारका लागि त्यहाँ पुगेको थियो त्यसदिन ।
दाहसंस्कारको सामान खरिद गर्न जाँदा घाट व्यवस्थापन समितिको तर्फबाट सोधियो दाहसंस्कार कसले गर्ने भन्ने कुरो । प्रश्नको आशय थियो दाहसंस्कार आफैले गर्ने कि समितिको तर्फबाट गराउने भन्ने । हामीले समितिकै तर्फबाट जलाइदिन आग्रह ग¥र्यौँ । समितिले सामानको साथै दाहसंस्कार गर्ने मानिसको शुल्कसमेत जोडेर रसिद काट्यो । शुल्क तिरेर फर्कने क्रममा समितिका तर्फबाट भनियो– “के गर्ने हजुर यस्तै हो, दाहसंस्कार गर्नेले छुट्टै आश गर्छन्, दुई–पाँच सय दिनुहोला ।”
हामीहरू हुन्छ भनेर फर्कियौं । समितिकै तर्फबाट सबै काम फटाफट भए । करीब दुई घण्टामै दाह संस्कारको काम सकियो । फर्कने बेला ‘मेरो ज्याला खोइ ?’ भन्दै बाटो छेक्न आए दाह संस्कार गर्ने भाइ । रू. पाँच सय झिकेर दिए भतिज भगवान् रिजाल र ज्वाईं रामप्रसाद ढुङ्गानाले । समितिका कर्मचारीले पहिले जति भनेका थिए त्यति नै दिएका थिए उनीहरूले त्यतिबेला तर दाहक भाइले ठाडै अस्वीकार गर्दै भने– “त्यतिले पुग्दैन, दुई हजार चाहिन्छ, हाम्रो रेट नै यही हो, त्यति नै दिनुपर्छ ।”
उनी खोचे थापेर कड्किन थाले– “कसले कहाँ कति दियो जान्दैनौं । हाम्रो रेट त्यति हो, जुन हामीलाई नै दिनुपर्छ । दिने भए दिनुहोस्, होइन भने भयो, पर्दैन त्यसै जानुहोस् । तपाईंको आमालाई सित्तैमा जलाइदियौं ।” यस्तै भन्दै इमोसनल ब्ल्याकमेल गर्न थाले । हामीले विवाद गर्न चाहेनौँ र उनले भने जति नै दिएर बिदा भयौँ ।
सबै आफन्त बितेर त्यहाँ पुगेका हुन्छन् । आर्यघाटमा पुग्ने भनेकै आफन्त बितेर हो । उनीहरू यसैपनि भावनामा बगेका हुन्छन् तर यसको अर्थ यो होइन कि त्यसैलाई भजाएर ब्ल्याकमेल गर्नु, गर्न थाल्नु । यो सरासर ठगी हो, लुट हो, बेइमानी हो । आर्यघाटमा पुग्दा पनि घूस, ठगी, ब्ल्याकमेल र मोलमोलाइको सामना गर्नुपर्छ भने अन्यत्र के आशा गर्ने ? प्रसूतिगृहदेखि आर्यघाटसम्मको सरकारी शुल्क तिरेका हुन्छन् जनताले । त्यसमाथि छुट्टै नजराना चढाउनुपर्छ भने यो कस्तो मानवता हो, कहाँ गर्ने मानवीय मर्यादाको खोजी ? यसमा ध्यान दिनुपर्ने सम्बद्ध निकायले हो तर यहाँ त सम्बद्ध निकाय आफै मतियारको भूमिका निर्वाह गरिरहेको छ भने कसलाई के भन्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *