भर्खरै :

पुँजीवादी पार्टीलाई पाखा लगाउनुपर्छ

–गोपाल नगरकोटी
ठूला दलका नेताहरू जनतालाई राजनीतिक चेतना दिँदैनन्, सांस्कृतिक स्तर उठाउँदैनन् । जनता राजनीतिकरूपले सचेत र सङ्गठित भएपछि आफ्नै दल र सरकारको विरोध गर्छन् भन्ने उनीहरूलाई थाहा छ । ती दलका नेताहरू निर्वाचन, उपनिर्वाचन या अन्य सम्मेलन, महासम्मेलनमा सिद्धान्त र विचारको वकालत गर्दैनन् ।
राणा शासक चन्द्र शमशेरले त्रिचन्द्र कलेजको शिलान्यास गर्दा आफ्नै खुट्टामा बञ्चरो हानेको कुरा त्यसै फलाकेका होइनन् । जनता टाठाबाठा शिक्षित या चेतित भएपछि राणाशासनकै विरोध गर्छन् र लखेट्छन् भनेर थाहा पाएरै कलेजको शिलान्यासपछि उनले प्रायश्चित गरेका थिए र आफूले आफूलाई धिक्कारेका थिए । कलेज स्थापना भएकै कारण राणा शासन अन्त्य भएको त होइन तर त्यसले केही बल पु¥यायो । राणा शासकहरूको त्यहीँ रोग गणतन्त्रका शासकहरूमा पनि देखिएको छ । अतः वर्तमान शासक र पूर्वशासकहरू पनि बहुमत जनताको पक्षमा राजनीति गर्दैनन् राजनीतिक चेतना दिँदैनन्, सिद्धान्त र विचारको कुरा फलाक्दैनन्
ती दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरू जनताको सेवा गर्ने दललाई होइन जित्ने दललाई मतदान गर्न आग्रह गर्छन्, पैसा बाँडेर, भोज खुवाएर, जागिरको लोभ देखाएर, विकासको सपना छरेर जनताको मत लिन्छन् र जित्छन् । राजनीतिक र सांस्कृतिक स्तर नभएकै कारण कति जनता पनि अवसर खोज्छन्, पैसा र विकासमा भुल्छन् र गरिब जनताकै अहितमा ऐन–कानुन बनाउने, दमन र शोषण गर्ने दललाई जिताउँछन् । भारतले नेपाली भूमि मिचेकोमा भारतीय सरकार दोषी छ, यसमा कुनै सन्देह छैन ।
भारतले नेपाली भूमि मिचेकोमा हालसम्मका नेपाल सरकारहरू पनि दोषी छन्, सरकारको नेतृत्व गर्ने दलका नेता र मन्त्रीहरू दोषी छन् । राजनीतिक दलको जिम्मेवारी जनतालाई सुसूचित र सङ्गठित गर्नु पनि हो । तर, सत्तासीन दल र ठूला दलले जनतालाई सचेत पार्ने काम गरेनन् । आफ्नो दलविरुद्ध जनता उठ्छन्, निर्वाचनमा हराउँछन् र पाखा लगाउँछन् भनेरै ती दलले जनताको सैद्धान्तिक स्तर उठाउने चेष्टा गरेनन् । सचेत जनताले असल र बहुमत जनताको सेवा गर्ने दल खोज्नुपर्छ, त्यस्तो दलमा लाग्नुपर्छ र जिताउनुपर्छ । जनता सचेत नभएकाले जित्ने दल भनेर ठूला दललाई मतदान गरे, लोभमा फसे । त्यसकारण जनताले देश र जनताको हित गर्ने दल र सरकार पाएनन् । यो चिन्ताको विषय छ, यो देशको दुर्दशा हो ।
जनता कसैको लहैलहैमा हिँड्ने होइन, कुन दलले कुन वर्गको हितमा राजनीति गर्छ भन्ने कुरा जनताले थाहा पाउनुपर्छ । बहुमत जनताको हितमा काम नगर्ने, देश हित नखोज्ने, देशलाई परनिर्भर बनाउने, सामूहिकभन्दा व्यक्ति पोस्ने दलको पक्षमा शोषित पीडित जनता लाग्नु हुँदैन । गरिब वर्गलाई शोषण, दमन गर्ने दललाई गरिब जनताले जिताएर आफ्नो खुट्टामा आफैले बञ्चरो हान्ने काम गरिरहेका छन् । अब जनता सचेत हुनुपर्छ र सङ्गठित हुनुपर्छ, शोषक, सामन्त, पुँजीपति वर्गको पक्षपोषण गर्ने दललाई पाखा लगाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *