के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
– मेरिना शाक्य
देशले विकासमा फड्को मार्न नसक्नुका अनेक कारण छन् । असल शासक या असल शासन गर्ने नेता र मन्त्रीहरूको अभाव त्यसको एक महत्वपूर्ण कारण हो । सत्तारुढ दलको राजनीति गर्ने शैली या तरिका नै सही छैन । सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका नेता र मन्त्रीहरू राजनीति भनेकै जसरी भए पनि ठूलो दल बनाउनु र सरकारमा सामेल हुनु या नेतृत्व गर्नु ठान्छन् । राजनीतिलाई शक्ति र पैसासँग दाज्छन् या शक्ति र पैसाको भरमा राजनीति गर्छन् । सत्तारुढ र ठूला दलका लागि निर्वाचन पैसा बाँडेर मत बटुल्ने माध्यम बनेको छ । ती दलका नेता तथा कार्यकर्ताहरू निर्वाचनमा नसोचेझैँ पैसा खर्च गर्छन् । प्रचारप्रसारमा भन्दा जनताको मत लिन बढी पैसा खर्च गर्छन् । कुन दलका कुन उम्मेदवारले के कति खर्च गरे सोको वास्तविक हिसाब सार्वजनिक हुँदैन । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल त सुशासनको सबैभन्दा ठूलो बाधक नै दलहरूको अपारदर्शिता ठान्छन् ।
पोखरेलका अनुसार राजनीतिक दलहरू अधिकांश पैसा समाजका आपराधिक मनोवृत्ति भएका मान्छेहरूसँग लिन्छन् । राजनीतिक दलबाटै ढाँट्ने, छल्ने, ठग्ने अभ्यास भइरहेको उनको दाबी हो । दलको वरिपरि सामाजिक अपराधी, कमिसनखोर, कालाबजारी, अपराधी, भ्रष्टाचारी, कमिसनखोर, घुस्याहा, ठेकेदार भइरहेसम्म देशमा सुशासन सम्भव छैन । सरकारको नेतृत्व गरिरहेका दलका दुईचार जना नेता र मन्त्री असल, इमानदार, निःस्वार्थी हुँदैमा असल शासन हुने र सबै इमानदार र निःस्वार्थी हुने होइन । निर्वाचनमा जसरी भए पनि जित्ने र सरकारको नेतृत्व गर्ने सवालले नै देशको राजनीति बिग्रेको हो । दलका नेता, मन्त्री र कार्यकर्ताहरू जनतामाझ पुगेर दुःखसुख बुझ्दैनन्, जनताको सेवा गर्दैनन् भने कुनै दलले जतिसुकै लामो शासन गरे पनि त्यसको अर्थ हुँदैन । मुख्य सवाल कुनै दलले यतिउति वर्ष शासन गर्ने धाक देखाउने होइन । बरु आफूले के–कसरी जनताको सेवा गर्ने भन्नेतर्फ ध्यान दिनुपर्छ ।
राजनीति गर्नुको अर्थ सरकारको नेतृत्व गर्नु या सरकारमा सामेल हुनुमात्र होइन । दलहरू सरकारमा गए पनि या नगए पनि राजनीति जनताको सेवा गर्नु नै हो, जनताको सेवा गर्न अघि बढ्नु हो । जनताको सेवा मीठो भाषण बाँडेर, निर्वाचनमा पैसा बाँडेर, धाक धम्की र रवाफ देखाएर जनताको सेवा हुने छैन । सत्तारुढ र ठूला दलका नेता कार्यकर्ताहरू सिद्धान्तनिष्ठ राजनीति गर्दैनन् । जनतालाई राजनीतिक र सांस्कृतिक स्तर जगाउने काम गर्दैनन् । त्यही भएर यो विज्ञान र प्रविधिको युगमा पनि अन्धपरम्परा र कुरीति यथावत् छ । छाउपडी प्रथा त्यसकै सिलसिला हो । बालविवाह पनि जनचेतनाकै अभावमा भइरहेको हो । १६ वर्षकै उमेरमा विवाह गर्ने कानुनी व्यवस्थाको लागि तराईवासीले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए, सडक जाम गरे या त्यस्तै अन्य क्रियाकलाप गरे । यो सामन्तवादको कुसंस्कार हो । पहिलेका राजा–महाराजा, नेता र मन्त्रीहरूले त्यही गल्ती गरे । जनतालाई अन्धविश्वासमा छोडेर शासन गरे । कुरीति, कुसंस्कारको कुनै विरोध गरेनन् । राजतन्त्र अन्त्य भए पनि कुरीति र कुसंस्कार बाँकी रहे । समुदायको हक हित र सेवाभन्दा व्यक्ति पोस्ने काम हुन्छ, स्वच्छ राजनीति गर्दैन भने असल शासन, विधिको शासन नाउँमात्रको हुन्छ । असल शासन, असल नेतृत्वको सरकारविना देशको विकासले काँचुली फेर्ने छैन ।
Leave a Reply