भर्खरै :

“विज्ञानवाद” ः एक आलोचना

 सुरेश
नेपालमा बेलाबखत बालहठजस्तो ‘दार्शनिक’ रोदन सुनिन्छ ।
“छोडौँ अब विदेशी ‘माक्र्सवाद–साक्र्सवाद’, नेपालको विकासका लागि ‘नेपालवाद’ चाहिन्छ” भनी रुन्चे मुख लाउने वा बुरुक्क उफ्रिनेहरू बेलाबेला देखापर्छन् । अघिल्लो साता ‘नयाँ पत्रिका’ को शनिबारीय परिशिष्टाड्ढमा यस्तै अर्को गनगन सुनियो । ‘विज्ञानवाद’ को दुहाइ दिँदै लेखक उत्तम निरौला क्रुद्ध स्वरमा कराउँदै हुनुहुन्थ्यो,
“राजनीतिको एउटा पक्षले पाँच हजार वर्षअगाडि लेखिएको धार्मिक पुस्तकले जीवन र जगतका सबै समस्याको समाधान गर्दछ भन्यो, अर्को पक्षले बेलायतको पुस्तकालयमा कार्ल माक्र्सले लेखेको पुस्तकले सबै सामाजिक समस्याको अन्त्य गर्दछ भनी युद्ध थाल्यो । यी दुवै अतिवाद समग्रमा अन्धविश्वासमात्रै थिए ।”
“वेद, बाइबल र माक्र्सवाद छाडेर देशको वास्तविक समस्या पत्ता लगाउन फेरि पनि विज्ञानकै सहयोग लिन जरुरी छ ।”
(उत्तम निरौला । विज्ञान देशको सारथि बनेन । नयाँ पत्रिका । २८ मंसिर, ०७६)
त्यसो त लेखकलाई चिनेको भए लेखको मूल मर्म अझ राम्ररी बुझिन्थ्यो । तैपनि अर्को विकल्प बाँकी रहन्छ नै । लेख पढेर लेखक चिन्ने । लेखकले लेखको दोस्रो अनुच्छेदमै डा. बाबुराम भट्टराई र वैज्ञानिक महावीर पुनले नेपालमा विज्ञानवाद वा विज्ञानको महत्वलाई उजागर गर्न खोजेको प्रसँग कोट्याउनुभएको छ । पछिल्लो पल्ट माओवादी पार्टी त्यागेर ‘नयाँ शक्ति’ बनी जुर्मुराउन खोजेका भट्टराई देशका पढेलेखेकाहरूलाई आफ्नो बौद्धिकताले तान्ने कसरत गरिरहन्छन् । त्यसै सिलसिलामा उनले ‘अबको नेपालको राजनीतिक बाटो वैज्ञानिक मानववाद हो’ भनी लेखेछन् । त्यसो त सचेत नेपालीलाई डाक्टर साहेबको ‘विज्ञान’ राम्ररी थाहा छ । डा. भट्टराईको ‘विज्ञान’ पहिले शोषणकारी सरकारलाई ४० बुँदे अल्टिमेटम दिएर जङ्गल पस्यो र भारतीय सुरक्षाकवच भिरेर बाहिर निस्कियो । त्यसपछि डा. भट्टराईको ‘विज्ञान’ ले अनेकौँ औतार लियो । उनी कहिले सय वर्ष पुरानो ट्रोटस्कीको सुलसुुले विचार सापटी लिएर नेपालमा ‘आजको माक्र्सवाद’ चाहिएको छ भन्दै जे.एन.यू.का आफ्ना प्रिय प्रोफेसर एस.डी.मुनीलाई टिप्पणी लेखाइमाग्छन् । कहिले माक्र्सवाद र नवउदारवाद मिसाएपछि मात्र नेपाल प्रगतिपथमा लम्कन्छ भन्दै होहल्ला गर्छन् । उनको यो ‘विज्ञान’ को खुब खिसीट्यूरी भएको थियो । आगो र पानी मिलाउँदा पानी ज्यूँका त्यूँ रहन्छ, आगो निभ्छ । माक्र्सवादको आगो निभाएर हाल डा. भट्टराईको ‘विज्ञान’ झन्डा पनि भारतसँग मिल्ने, नाम पनि भारतीय सत्ताधारी भाजपासँग मिल्ने, देशमा नाकाबन्दी लगाउन विदेशी गुहार्ने र बिहारी मेसको खाना खाएर नेपाल–भारत सिमानामा आई नेपालतिर पेट्रोल बम र एसिड फाल्ने कथित ‘मधेसवादी’ दलहरूसँग साठगाँठ गरिरहेको छ । यसपालि मुलायम शब्द बुनी आएका डा. भट्टराईको ‘वैज्ञानिक मानववाद’ ले देशलाई अझ कुन खाल्डोमा जाँक्ने हो, समयले बताउला । हामी भने पुनः निरौलाजीको लेखमा केन्द्रित हुन्छौँ ।
निरौलाजी माक्र्सवादलाई वेद र बाइबलसँग तुलना गर्न कत्ति पनि हिच्किचाउनुहुन्न । लाग्छ, कुनै ‘नयाँ खोज’ गर्दाको दृढ भाषामा उहाँ बोलिरहनुभएको छ । माक्र्सवाद वेद र बाइबलभन्दा नितान्त आधुनिक र आन्तर्यका हिसाबले तीभन्दा उल्टो दर्शन हो । अध्यात्मवादले मान्छेलाई समस्याका अगाडि हात बाँधेर रामभरोसे हुन सिकाउँछ भने माक्र्सवादले मान्छेले आफ्नो बलबुद्धिले समाज, देश र संसार फेर्न सक्छ भनी मानवमुखी शिक्षा दिन्छ । यसकारण माक्र्सवाद भाग्यवादी नभई कर्मवादीहरूको दर्शन हो । यो जति जीवन्त छ, त्यति नै ऊर्जाकारी पनि छ । माक्र्सवाद अन्धसमर्थन र अन्धविरोधको एक नम्बरको शत्रु हो । जहाँसम्म माक्र्सवादको वैज्ञानिकताको विषय छ, यसबारेमा जापानका गैरकम्युनिस्ट आधुनिक भौतिकशास्त्रीहरूले विज्ञानको क्षेत्रमा माक्र्सवादको मार्गदर्शक योगदानसम्बन्धी गहकिला रचनाहरू लेखेर छाडेको दशकौँ बितिसकेको छ । आज पर्यावरणीय वा जलवायु परिवर्तनको विहङ्गम अध्ययन गर्न माक्र्सवादको प्रयोग भइरहेको छ । अर्को शब्दमा, माक्र्सवाद आफैमा विज्ञान हो । यो सबै समस्याको तयारी समाधान नभई समस्यालाई मसिनोसँग केलाई हल निकाल्न सघाउने वैज्ञानिक पद्धति हो ।
हुन त बिहानदेखि बेलुकासम्म आकाशमा घाम चलायमान देखिए तापनि यथार्थ उल्टो हुन्छ । वास्तवमा पृथ्वी आफ्नै कक्षमा फन्को मारिरहेको हुन्छ । निरौलाजी नेपालमा आफूलाई ‘माक्र्सवादी’ भन्नेहरूको लहलहैमा लागेर माक्र्सवादको अन्धविरोध गर्न पुग्नुभएको छ जुन उहाँले पैरवी गरिरहेको ‘विज्ञानवाद’ भन्दा ठ्याक्कै उल्टो कार्य हो । नेपालमा सत्तासीन पार्टी नेकपा न कम्युनिस्ट हो, न माक्र्सवादी । फेरि ‘यो देशमा हरेकले आफूबाहेक अरू सबैलाई नक्कली कम्युनिस्ट’ भन्छन् भनी लेखकले जिरह गर्नुहोला । यसको पनि जाँचपरख गर्ने ‘विज्ञानवादी’ काइदा छ । ‘कम्युनिस्ट घोषणापत्र’ को दोस्रो पाठको पुछारतिर “कम्युनिस्ट सरकारले यी १० थरी काम गर्नसक्छन्” भनी माक्र्स–एँगेल्सले उल्लेख गर्नुभएको छ । ती १० थरी काममध्ये लेखकले चिताएजस्ता बुँदा पनि होलान्, हेर्दा घाटा नहोला । बरु लेखकको ‘विज्ञानवाद’ लाई फाइदै पुग्ला । वर्तमान सरकारले ती १० थरी काममध्ये एउटा पनि नगरेकोले यो न ‘कम्युनिस्ट’ भनिन लायक छ, न ‘माक्र्सवाद’ को नाममा गाली गरिन लायक छ । तैपनि पार्टी कार्यालयमाथि हँसिया–हथौडा अङ्कित झन्डा राखेर नेकपाले पृथ्वीले मान्छेलाई झुक्याएजस्तो झुक्याइरहेको छ । ‘विज्ञानवादी’ निरौलाजी नै यस्तो भ्रममा पर्नुहुन्छ भने सर्वसाधारण नेपालीबाट हामीले के आस गर्ने ?
निरौलाजी प्रचण्डको ‘५ वर्षमा स्वीजरल्यान्ड’ मिसनलाई साकार हुन ‘नदिने तत्वको बारेमा नेतृत्व विज्ञानपरक अनुसन्धान गर्न चुकेको’ भनी विश्लेषण गर्नुहुन्छ । यहाँनिर लेखकको ‘विज्ञानवाद’ प्रचण्डको नै ‘विज्ञानपरक अनुसन्धान गर्न चुकेको’ देखिन्छ । अलि विस्तारमा जाऔँ । इतिहास साक्षी छ, नेपाली अर्थतन्त्रको बाधक भारतीय एकाधिकार पुँजी ९mयलयउयथि अबउष्तब०ि हो । नेपालमा औद्योगिकीकरण हुन नदिनु र भए पनि उद्योगहरू ध्वस्त पार्नुको पछाडि भारतीय एकाधिकार पुँजीले पाल्ने खुफियातन्त्र सक्रिय थियो र छ । नेपालको आत्मनिर्भरता भारत देखी सहँदैन । नेपालका नदीनालाको चाँबी अँठ्याएर आफ्नो नदी–जोड योजना पूरा गर्नु उसको स्वार्थ हो । जस्तो सगरमाथा क्षेत्रमा आइटी इन्स्टिच्युट खोल्ने पाकिस्तानी वैज्ञानिकको प्रस्तावलाई नेपाली शासकहरूले इन्कार गर्नुका पछाडि पनि यस्तै षड्यन्त्र हुनुपर्छ । नेपालमा विज्ञान प्रविधिको विकासले देश आत्मनिर्भर बन्न थाल्यो भने भारत मुर्छित हुनेछ । भारतबाट पठाइने विषमिश्रित तरकारी र फलफूलको वैज्ञानिक परीक्षण गर्नुप¥यो भन्दा त आत्तिँदै नेपाल सरकारलाई झपार्ने भारत नेपालमा विज्ञान प्रविधिको विकास भएको देखिसहला ? कुरा प्रस्ट छ, भारतीय एकाधिकार पुँजी नेपाललाई कच्चा माल कौडीको भाउमा बेच्ने र आफ्नो उत्पादन महँगो मूल्यमा किन्ने बजार बनाउन उद्यत छ ।
प्रचण्ड भारतको यहीँ उद्देश्य पूरा गर्ने पार्टी माओवादीका नेता थिए । कसरी ? माओवादी द्वन्द्वकालमै नेपालको अर्थतन्त्र डामाडोल भयो । कृषिले धानिरहेका गाउँहरू सुनसान हुन थाले । भारतको पुरानो गोटी काङ्ग्रेसले ल्याएको निजीकरणको नीतिमा माओवादी युद्ध घाउमाथि नून बनिदियो । गाउँबाट भागेर आएका युवाले सहरमा पनि काम पाएनन् । यसरी नेपाली युवाहरू विदेशिने र देशमा भारतीय मालसामान किन्न रेमिट्यान्स पठाउने सिलसिला सुरु भयो । ८ वर्षसम्म भारतकै दानापानी खाएर नेपालका गाउँसहरहरू आक्रमण गर्ने बोलक्कड प्रचण्डले देशलाई ‘स्वीजरल्यान्ड’ होइन ‘सिक्किम’ बनाउने लक्षण देखिन थालेको धेरै वर्ष भइसकेको छ । निरौलाजीको ‘विज्ञानवाद’ ले उनलाई ‘माक्र्सवादी’ देखिरहनु आठौँ आश्चर्य हो । प्रचण्ड आफैले ‘म ओरिजिनल होइन’ भनिसक्दा पनि उनलाई माक्र्सवादी भनी माक्र्सवादलाई नै धारेहात लगाउनु ‘विज्ञानवाद’ नहोला । यो त हिटलरको ग्याँस च्याम्बर बनाउने अविवेकी वैज्ञानिकहरूलाई हेर्दै विज्ञानको धतुरो झार्नुजस्तै भयो ।
माक्र्सको मूल्याड्ढन गर्ने सवालमा निरौलाजीको ‘विज्ञानवाद’ अन्धो हुन पुगेको छ । उहाँले माक्र्सलाई बेलायती पुस्तकालयमा कनिबस्ने व्यक्तिको रूपमा चित्रण गर्नुभएको छ । एक प्रकारले व्यङ्ग्य गर्नुभएको छ । वास्तवमा १९ औँ शताब्दीमा बेलायत विश्वको आर्थिक केन्द्र थियो र बेलायती पुस्तकालय आजको भाषामा भन्नुपर्दा त्यसबेलाको ‘गुगल’ समान थियो । विश्वका विभिन्न कुनाबाट त्यहाँ जम्मा गरिएका सूचनाहरूको आधारमा माक्र्सले सात समुद्रपारका देशका विषयमा गरेका विश्लेषणहरू सटिक ठहरिएका छन् । माक्र्सले नेपालकै शासक जङ्गबहादुरको विषयमा गरेको टिप्पणी सबै राणा शासकको हकमा सही सावित भयो । त्यस्तै जबजब संसार आर्थिक दुश्चक्रमा फँस्छ विश्वमै माक्र्सकृत ‘पुँजी’ को बिक्री ह्वात्तै बढ्छ । माक्र्स झन्झन् सान्दर्भिक बन्दै गएको पुँजीवादी अर्थशास्त्रीहरूले नै दाबी गरेका छन् । तसर्थ निरौलाजीको चित्रणले माक्र्सलाई कम आँकेको छ । फेरि माक्र्स एक्लैको कार्यमात्र माक्र्सवाद होइन । माक्र्स र एँगेल्स दुवैको विस्तृत कार्यलाई माक्र्सवाद भनिन्छ । उहाँहरूका सिद्धान्तको फैलावटतिर एकपल्ट नजर दौडाएको भए निरौलाजी यस्तो भ्रममा पर्नुहुन्नथ्यो ।
माक्र्सलाई उद्दण्ड, कट्टरपन्थी वा अतिवादी देखाउन प्रायः प्रयोग हुने तरिका निरौलाजीले पनि प्रयोग गर्नुभएको छ । ‘धर्म अफिम हो’ भन्ने माक्र्सको कथनलाई सन्दर्भबाट अलग पारेर माक्र्सलाई नै बदनाम गर्ने अस्त्र धेरैले धेरैचोटि प्रयोग गरिसकेका छन् । यो अस्त्र यति चर्चित भइसकेको छ कि यसको प्रयोग गर्न आजभोलि उक्त वाक्य कहाँबाट निकालिएको हो भनी खोजबिन गर्ने फुर्सद कमैले निकाल्छन् । निरौलाजीले पनि ‘फास्ट फूड’ को रूपमा यस्तै अस्त्र प्रयोग गर्नु उहाँको ‘विज्ञानवाद’ नहोला । ‘धर्म अफिम हो’ का पछाडिका दुईचार वाक्यमा माक्र्सले शोषणमा आधारित समाजमा धर्मको भूमिका र यसको भविष्यबारे सटिक र गहन विचार व्यक्त गर्नुभएको थियो । धर्म अफिम हो, उत्पीडित र दुःखी संसारको सुस्केरा हो । गरिबले दुःख पर्दा पनि ‘हे भगवान’ भन्छ । समस्यासँग जुध्दा केही सीप नचलेपछि भगवानको शरण लिन्छ । यसले उसलाई जुन आनन्द दिन्छ त्यो नक्कली सुख हो । जसरी अफिम खाएर लठ्ठ परेको मानिस केहीबेर आफ्ना सारा पीर व्यथा बिर्सेर आनन्दित हुन्छ, त्यस्तै आनन्द धर्मले गरिब गुरुवाहरूलाई दिन्छ । नशाले काम गर्न छोडेपछि आनन्दजति हराउँछ, समस्या जस्ताको तस्तै देखापर्छ । यस्तो नक्कली सुखको ठाउँमा सक्कली सुखको खोजखाज गर्नु नै हाम्रो जिम्मेवारी हो भनी माक्र्सको उक्त कथनमा उल्लेख छ । यसरी निरौलाजीले माक्र्सको एउटा कथनलाई समेत ‘विज्ञानवाद’ को चस्माले पर्गेलेर न्याय गर्ने कष्ट उठाउनु भएको छैन । पक्कै पनि यो सन्दर्भले नेपाली ‘विज्ञानवाद’ का हिमायतीहरूलाई शोभा नदेला ।
निरौलाजी दाबी गर्नुहुन्छ, “समाजका विभिन्न समस्याहरू जस्तै गरिबी, हिंसा इत्यादिलाई पनि विज्ञानले समाधान गर्नसक्दछ ।” पुँजीवादी समाजमा विज्ञानले मूलतः पुँजीपतिहरूको सेवा गर्छ । मोबाइल फोनमा कोल्टन प्रयोग हुन्छ । तर, कोल्टनजस्तो खनिजमा सम्पन्न देश कङ्गो आज पनि भोकमरीको चपेटामा छ । दिनभरि हीरा, सुन र कोल्टनको खानीमा काम गरेर फर्किने कङ्गोवासीका छोराछोरी कुपोषणग्रस्त हुनुमा एउटै कारण छ । त्यो हो, विज्ञानले त्यहाँ बहुराष्ट्रिय कम्पनीको सेवा गर्नु । विश्वका ८ जना धनाढ्यसँग संसारकै आधा जनसङ्ख्यासँग भएजति धन थुप्रिनुमा विज्ञान र प्रविधिको देन छ । अर्कोतिर, २० औँ शताब्दीको युद्ध इतिहासको घटनावली रसरती हेर्दा थाहा हुन्छ, विज्ञान र प्रविधिको विकाससँगै झन्झन् भयावह र आततायी हिंसा भएका छन् । अमेरिकी साम्राज्यवादको हातमा परेको ‘वैज्ञानिक उपलब्धि’ ले जापानलाई खरानी बनाएको थियो । समय बित्दै जाँदा अमेरिकाले संसारका प्राकृतिक स्रोतसाधनमा सम्पन्न देशमाथि हैकम जमाउन विज्ञान–प्रविधिकै सहारा लिएको थियो । सीआईएका पूर्वकर्मचारी एडवर्ड स्नोडेनको बयानअनुसार अमेरिकी सेनाले मान्छेको मुहार पनि छुट्याउन नसकिने उचाइबाट कम्प्युटरमा एक क्लिक गरेको भरमा अझै पनि विश्वका विभिन्न कुनामा ड्रोन हमला गरिरहेको छ । साम्राज्यवादीहरूको हातमा विज्ञान हिंस्रक र अमानवीय साधन सिद्ध भएको छ ।
आजको युगलाई विज्ञान र प्रविधिको युग भनिए पनि विज्ञान साधनमात्र हो । यसको प्रयोग कसले, केका लागि गरिरहेको छ भन्ने प्रश्न नै अहम् हो । अफिम युद्धमा चीनलाई उन्नत हतियारकै बलमा पश्चिमाहरूले दास बनाएका थिए । चिनियाँहरू कम्युनिस्ट पार्टीको झन्डामुनि गोलबन्द भई जागे । विज्ञान र प्रविधिको प्रयोगले आज चीनले विश्वकै आर्थिक नेतृत्व गर्दै छ । चिनियाँहरूको जीवनस्तर दिनप्रतिदिन उकासिँदै छ । विज्ञान, प्रविधि र वैज्ञानिक संस्कारबिना कुनै पनि देशको तीव्र विकास हुन्न । विद्युतीकरणसँगै औद्योगिकीकरणको लहरले सोभियत सङ्घलाई १० वर्षमै विकसित राष्ट्रको दाँजोमा पु¥याइदिएको ज्वलन्त उदाहरण छ । यसमा बिर्सन नहुने कुरा के छ भने ती देशको त्यस्तो द्रुत विकासका पछाडि उनीहरूको स्वाधीन राजनीतिक स्थिति पृष्ठभागमा थियो । त्यो राजनीतिक स्वाधीनता चीन र रुसको हकमा समाजवादी क्रान्तिबाट प्राप्त गरिएको थियो । सिङ्गापुरकै कुरा गर्ने हो भने उनीहरू देश निर्माण गर्न अमेरिकासँग जुध्न परे पनि तयार थिए । भियतनामीहरूको पनि त्यस्तै अनुभव छ । नेपालको पृष्ठभूमि अलग छ । नेपालका शासकहरू आज पनि भारतीय प्रभुसामु त्वम् शरणम् हुन्छन् । त्यसैले उनीहरूको कुनै खास राष्ट्रिय उद्देश्य पनि छैन । यता नेपाली जनता भने राजनीतिक शक्तिको रूपमा अझै जागिसकेका छैनन् । माक्र्सवाद तिनै तमाम शोषित पीडित नेपाली जनताको सैद्धान्तिक हतियार हो । अन्य सबै ‘वाद’ वा दर्शन जनतालाई यो वा त्यो रूपमा रामभरोसे बनाइराख्न प्रयासरत छन् ।
अन्धविश्वासमा रुमल्लिरहेका नेपाली जनताको आलोचनात्मक चेतना उकास्ने उद्देश्यमा संलग्न हुन्छ भने निरौलाजीको ‘विज्ञानवाद’ उत्पादक होला । कानमा बुजो हालेर विदेश भ्रमण र भ्रष्टाचारमा लिप्त रहने शासकहरूले ‘विज्ञानवादी’ खोज र अनुसन्धानमा लगानी बढाउलान् भनी चिताउनु बालुवा निचोर्दा पानी निस्कन्छ भनी हठ गर्नु सराबर हुनेछ । जनता नजागुञ्जेल विदेशमा सस्तो भाउमा बेचिन तयार ‘विज्ञानवादी’ तर पैसामुखी पुस्ता हुर्काएर रेमिट्यान्स भित्याउनुमै सरकारले आफ्नो सफलता देखिरहने छ । नेपाल अन्तरिक्ष युगमा पुगेको जस्ता बकम्फुसे गफ दिएर तिनै विदेशिएकाहरूको काम पनि भजाइरहने छ । जुन देशमा महिनावारी भएकी चेली अझै पनि छाउगोठमा मरिरहन्छन्, त्यस्ता देशका प्रधानमन्त्रीले देश अन्तरिक्ष युगमा पुगेको घोषणा गर्नु आफैँमा लाजमर्दो कुरा थियो । निरौलाजीको ‘विज्ञानवाद’ ले यतातर्फ ध्यान दिनुपर्ला ।
जनताले देशको निर्णायक क्षमता आफ्नो हातमा लिएका दिनदेखि नेपालमा पनि विज्ञान साँच्चै नै देश विकासको साधन बन्नेछ । संसारको कुनै तागतले नेपाल र नेपाली जनताको उन्नतिमा बाधा हाल्न सक्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *