भर्खरै :

कोही किन झूटो बोलोस् ¤

– जी. एस. राज
“बज्यैलाई सुन्तला खाएको कुरो नभन है ¤ म मारी दिन्छु तँलाई” आमाले छोरालाई झूटो बोल्न सिकाइन् । यद्यपि सुन्तलाको गन्धबाट बज्यैले थाहापाइसकिन् कि दीपेशले सुन्तला खाएको छ र पनि बज्यैले सोध्दा उसले सुन्तला खाएको स्वीकारेन ।
दस वर्षीय रकी एक सोझो, निश्चल, शान्त प्रवृत्तिको बालक हो । अक्सर होमवर्क नगरेका बच्चाहरूलाई स्कूलकी एक शिक्षिकाले नराम्रोसँग हकार्थिन्, बेइज्जत गर्थिन्, दण्ड दिन्थिन् र कहिलेकाहीँ पिट्थिन् पनि । एकदिन तिनै शिक्षिकाले रकिलाई धेरै होमवर्क दिइन् । दुई दिन बिदा हँदा पनि होमवर्क नगरेको देख्दा मिसले जँगिदै र चिच्याउँदै सोधिन् “रकी तिमीले होमवर्क किन गरेनौ ?”
“मिस म बिरामी भएको थिएँ”, पिटिने डरमा रकीले आफ्नी गुरुआमासँग झूट बोल्यो ।
एकदिन म साथीको फोटोकपी गर्ने पसलमा बस्दै थिएँ । एकजना अन्दाजी ११÷१२ वर्षको केटा फोटोकपी गर्न आयो । केटाले भन्यो, “मम्मीले बीस रुपैयाँमात्र दिएर पठाउनुभयो ।” मेरो साथीले ठीक छ भनी पैसा लियो । साथीलाई शड्ढा लागेछ कतै केटाले झूट त बोलिरहेको छैन ? पछि त्यो केटाकै आमा फोटोकपी गर्न आउँदा पो थाहा पाइयो आमाचाहिँले राजुलाई पुग्दो पैसा दिएर पठाएकी रहिछन् । तब मेरा साथीले मसँग भने, “आमा बुबाले बच्चाहरूको दिमाग नै चोर बनाइदिएको छ । बच्चाहरूलाई झूट बोल्न र चोर बनाउन स्वयम् ठूलाले प्रेरित गर्दै छन् । बडो विडम्बनाको कुरो छ यार । बच्चाहरू खेलौना, कापी, चकलेट किन्न पनि चोरी गर्नुपर्छ भन्ने मान्यता विकास गर्दै छन् । लौ हेर त राजुको आमाबुबा उसलाई ४–५ रुपैयाँ दिन नसक्ने होइनन् । बरु सम्झाई देओस् न त्यो पैसा राम्रो काममा उपयोग गरोस् ।”
अर्कोदिन कुनै कामको सिलसिलामा एक गुरुकहाँ गएको थिएँ । घण्टी बजाएँ । एउटी बच्चीको आवाज आयो, “बाबा त हुनुहुन्न ।” “उसो भए फिरोज आएको छ भनी दिनु ल छोरी ।” यति भनी केही पाइलामात्र के अघि म बढेको थिएँ साथी कुमारले झ्याल खोल्दै मलाई माथि आउन बोलायो । “के गरुँ फिरोज परीक्षा दिने बच्चाहरू प्रश्न सोध्न आइरहन्छन् । दिक्क लागेर कोही आयो भने छैन भन्नु भनी नीतालाई भनेको थिएँ ।”
माथिका केही प्रसङ्गहरूबाट अभिभावक वा ठूलाहरूले नै बच्चाहरूलाई झूट बोल्न सिकाउँदै छन् भन्ने कुरा स्पष्ट हुन्छ । प्रख्यात मनोवैज्ञानिक पाल एकमैनका अनुसार, “बच्चाहरूले पनि ठूलाले जस्तै झूट बोल्न सक्छन्, जस्तो कठोर झूट, दयापूर्ण झूट, सामाजिक झूट आदि ।”
बच्चाहरू मनोरञ्जनको निम्ति, रवाफ देखाउनको निम्ति, स्वार्थ पूर्तिको निम्ति र अरुलाई दुःख दिने नियतले झूट बोल्छन् । तर यसमा दुईमत छैन कि अभिभावक वा ठूलाबडाबाटै बच्चाहरू यस्ता कुरा गर्न सिक्दछन् । हामी आफूले झूटा कुरा गरेर उनीहरूलाई पनि छलकपट सिकाउँछौँ । यसरी पारिवारिक र सामाजिक वातावरणले बालबच्चाको बानी व्यहोरामा प्रत्यक्ष प्रभाव छोडेको हुन्छ । ठूलो भएपछि त्यही खराब बानीले विकराल समस्या पैदा गर्नसक्दछ ।
शिक्षित भनाउँदा अभिभावकहरू पनि आफ्ना बच्चाहरूलाई एउटा तस्वीर देखाएर वा एउटा ढुङ्गा देखाएर भगवान् भन्दै पूजा गर्न र ढोग्न सिकाउँछन् । मेरो विचारमा योभन्दा ठूलो धोका बच्चाहरूको निम्ति अरु हुने छैन । त्यस्तै एउटा व्यापारीले ६० रुपैयाँको सामानलाई “धरोधर्म हामीलाई नै १०० रुपैयाँ परेको” भनी कोमल दिमाग भएको ठिटो अगाडि झूट बोली १२० रुपैयाँमा सामान बेचेर बच्चाहरूलाई पनि झूट बोल्न सिकाइरहेको हुन्छ ।
प्रश्न उठ्न सक्छ कि बच्चाहरूको झूट बोल्ने बानीलाई कसरी छुटाउन सकिन्छ ? सबभन्दा पहिले त बाल बच्चाको गतिविधिलाई ध्यान दिनुप¥यो । ऊ कस्तो साहित्य पढ्छ ? कस्तो फिल्म हेर्छ ?
हामी आमाबाबुले कहिल्यै आफ्ना बालबच्चासामु झूट बोल्नु ठीक होइन । झूटा आश्वासन दिएर बच्चाहरूलाई भुलाउनु पनि उपयुक्त होइन । बरू आफ्नो नानीलाई वास्तविकता बुझाउनु आवश्यक छ । साथै केटाकेटीलाई कहिल्यै पिट्ने, झपार्ने, गाली गर्नु पनि ठीक हुन्न । बच्चाले कुनै गल्ती गर्नासाथ कडा सजाय दिनु, अरुको सामु बेइज्जत गर्नु समस्या समाधानको उपाय होइन । बच्चालाई आत्मविश्वास बढाउनको निम्ति विभिन्न उदाहरण र कथाहरू सुनाएर उनीहरूलाई सही बाटोमा ल्याउन सकिन्छ ।
बच्चाहरूलाई महापुरुषहरूका जीवनसम्बन्धी कुनै प्रसङ्ग सुनाएर पनि उनीहरूमा मानसिक एवम् वैचारिक परिवर्तनको निम्ति प्रभाव पर्न सकिन्छ । जस्तो अमेरिकाका राष्ट्रपति जर्ज वाशिङ्गटनले बाल्यास्थामा एकदिन आफ्नो बगैँचाको एउटा बिरुवा काटेर फाले, जब उनको बाबाले बिरुवा काटेर फालिएको देखे र घरका सबै सदस्यहरूलाई त्यो कसले गरेको भनी सोध्न थाले बालक वाशिङ्गटनले निर्भिक भई भने, “मैले काटेको थिएँ बाबा ¤” उनको पिताले आफ्नो छोराले सत्य बोलेको सुनेर खुसी हँदै उनलाई अँगालो हाली भन्यो, “वाशिङ्गटन तिमी एक दिन अवश्य एक महान् मानिस बन्ने छौ ।” अन्तमा त्यो सत्य सावित पनि भयो ।
त्यस्तै महात्मा गान्धीको बाल्यकालको एक प्रसङ्ग पनि उनीहरूलाई प्रेरणादायी हुन्छ । गान्धी स्कूलमा पढ्दै गरेको बेला एकदिन स्कूल निरीक्षक परीक्षा लिन आए । गान्धीले एउटा शब्द ठीकसँग लेख्न जानेनन् । अध्यापकले अर्को केटासँग हेरी लेख्न भने । तर गान्धीले त्यस्तो गरेनन् र त्यसलाई अशुद्ध नै छाडे । पछि गान्धी पनि एक ठूला मानिस बने ।
त्यस्तै बच्चाहरूलाई सत्यप्रति निष्ठावान बनाउन ‘दाउरे र बञ्चरोको’ कथा, ‘बाघ आयो’ को कथा आदि थुप्रै कथा एवम् प्रसङ्गहरू सुनाउन सकिन्छ । आजको बाल बच्चाहरूको शुद्ध आचरण, सत्य बोल्ने बानी र कर्तव्य निष्ठता नै भोलिको सुनौलो भविष्यको कसि हो ।
कवि केदारमान व्यथित भन्छन्
“सुन्दर कहाँ छ ?
बालकको ओठमा
फुलेका गुलाफ जहाँ छ ।”
हामीले ध्यान दिनुपर्ने थप कुरा
१. बच्चाहरूको अगाडि कहिल्यै झगडा नगर्नुु । किनभने यसले तिनीहरूमा असुरक्षाको भावना पैदा हुन्छ र तिनीहरू हामीदेखि हीन भावना पैदा गर्नेछन् ।
२. आफ्ना छोरा छोरीलाई कुनै पनि काम यस्तै गर्नुपर्छ भनी काम वा निर्णय लाद्नु उपयुक्त होइन । कुनै काम गराउनु छ भने नम्रतापूर्वक भन्नु आवश्यक छ । केटाकेटीले काम बिगारे भनेर गाली नगरौँ ।
३. बच्चालाई उसको साथीभाइसँग नदाँजौँ । यसबाट उसमा आत्मविश्वास घट्नसक्छ ।
४. उनीहरूको आन्तरिक वा गोप्य कुरा बुझ्नेतिर नलागौँ र उसको गोपनियता भङ्ग नगारौँ किनभने त्यो उसले कहिल्यै कसैले थाहा पाओस् भन्ने चाहेकै हुन्न ।
५. केटाकेटीहरूलाई बढी सुरक्षा प्रदान गर्नु उचित होइन । तिनीहरू स्वतन्त्र हुनुपर्छ र बढी हदसम्म तिनीहरू आफ्नो सुरक्षा आफै गर्नसक्छन् ।
(नौलो आयाम द्वैमासिक, २०५४ बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *