के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
आरके श्रेष्ठ, चितवन
झन्डै चार महिनादेखि रिक्त सभामुख पदपूर्ति गराउन केही दिनमै संसद् भवनमा निर्वाचन हुँदै छ । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुराचार आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महरा हाल प्रहरी हिरासतमा मुद्दा खेप्दै छन् ।
संविधानमा उल्लेख भएअनुसार सभामुख र उपसभामुख पद एउटै पार्टीको हुन नहुने भनी विपक्षी दलले आवाज उठाइरहेको छ । संसद्मा राजनीतिक दलका नेताहरू सभामुख पदको उम्मेदवारी तय गर्न लविङ गर्दै छन् ।
दलहरू सभामुख उम्मेदवारी तय गर्दै गर्दा र सांसदहरू मौका र पालो कुर्दै गर्दा जनता भने गरिमामय पदको लागि शिष्ट, संस्कारी र मर्यादापालक व्यक्ति आउने विश्वासमा छन् । फेरि पनि महरा काण्ड नमच्चिाउन ।
मानिसमा नैतिकता र इमानदारिता अपरिहार्य कुरा हो । राजनीतिक नेतृत्व, सिद्धान्तनिष्ठ, वैचारिक र कुटिल ज्ञानले ओतप्रेत हुनुपर्दछ । हाम्रा शासक दलका नेता र कार्यकर्ताहरूमा यी कुराहरू पाउन गाह्रो छ । नितान्त व्यक्तिगत स्वार्थमा लिप्त मानिसलाई समाजले मन पराउँदैन । त्यस्ता मानिसले समाजको हित पनि गर्न सक्दैन ।
आज जिम्मेवार व्यक्तिहरूबाट देशको इज्जत लुटिंदै छ । देश लुटिएको छ । स्वार्थकै लागि देश हितविपरीत सन्धि सम्झौताहरू शासक नेताहरूले गर्दै आए । व्यक्तिगत स्वार्थको लागि मनपरी गरिदिँदा नागरिक नतमस्तक हुनु परेको छ । पुँजीवादी शासकहरूदेखि जनता आक्रोशित छन् । संस्कार र मर्यादालाई उछिनेपछि खाल्डोमा जाकिने नै हो ।
आज महरामात्र खाल्डोमा परेको होइन, देश नै खाल्डोमा परेको छ । शासक दलहरूले यसको जिम्मेवारी लिनुपर्दछ । जब देशमा नैतिक सङ्कट पर्छ देश पछि धकलिने छ ।
Leave a Reply