भर्खरै :

सक्वको म राजदास – १३

 ई. राजदास श्रेष्ठ
म आफ्नो इच्छाअनुसार इन्जिनियरिङ्ग पढ्न सोभियत सङ्घ गएँ । तर सोभियत सङ्घमा मेरो बसाइ सुखद रहेन । बसाइ र पढाइमा हर्षोल्लास थिएन ।
म सिभिल इन्जिनियरिङ्गको कोटामा आएको थिएँ । तर, सिभिल इन्जिनियरिङ्ग पढ्नका लागि अत्यावश्यक विषय डिस्क्रीभ्टीभ जिओमेट्री (चित्र कोर्ने गणित) मा मेरो रुचि त्यति थिएन । चित्र कोर्न मलाई त्यति मनपर्दैन र आउँदैन पनि । त्यसैले पढाइको प्रथम वर्ष नै मलाई नरमाइलो लाग्यो । प्रथम वर्षको भाषा कोर्स मैले बल्ल सकाएँ । पहिलो एक वर्ष रुसी भाषा नै पढ्नुपथ्र्यो ।
भाषाको साथसाथै गणित, रसायनशास्त्र, विज्ञान विषय पनि पढाइन्थ्यो । रसायन शास्त्रमा मेरो अलि राम्रो थियो । त्यसकारण मलाई अध्यापकहरूले केमिकल इन्जिनियरिङ्ग पढ्न सुझाव दिए । हाम्रो सरकारको नियमअनुसार मैले सोभियत सङ्घमा गएर आफ्नो पढाइको विषय परिवर्तन गर्न पाइँदैनथ्यो । त्यसको पर्वाह नगरी मैले आफ्नो अध्ययनको विषय परिवर्तन गरेँ । सरकारी प्रतिबद्धताअनुसार पढाइ सकाएर आफ्नो देश फर्केपछि ५ वर्ष सरकारी सेवामा लाग्नुपर्छ र फर्कँदा सरकारले नै आफ्नो विषयअनुसारको रोजगारी (जागिर) दिने भन्ने सर्त थियो । यो सबै औपचारिकमात्र थियो भन्ने कुरा म नेपाल फर्कँदा थाहा पाएँ । जे भए पनि त्यो कुनै ठूलो कुरो भएन । सोभियत सङ्घमा ६ वर्ष बसेर म नेपाल फर्कँदा मैले आफँैले रोजगारी खोज्नुप¥यो । ५ वर्ष सरकारी सेवामा लाग्नुपर्छ भन्ने कुराको कुनै लेखाजोखा कतैबाट भएन । मैले १९७६ मा इन्जिनियरिङ्ग कोर्स सकाएर आएपछि नेपालकै विभिन्न सङ्घ संस्थामा ५–६ वर्ष आफ्नो इन्जिनियरिङ्ग पेशाअन्तर्गत सेवा गरेँ र सन् १९८३ देखि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवेश गरी काम गर्न थालँे ।
सोभियत सङ्घमा हासिल गरेको केमिकल इन्जिनियरिङ्ग ज्ञान–विज्ञानले मलाई धेरै सहयोग मिल्यो आफ्नो व्यवसायिक जीवनमा । स्वदेश तथा विदेशमा गरेका कामहरूमा मलाई सन्तोष नै थियो । यसको लागि म सोभियत सङ्घ र सोभियत जनताप्रति आभारी छु । सोभियत सङ्घले मलाई इन्जिनियरिङ्ग डिग्रीमात्र दिएन एक सानो–राम्रो परिवार उपहार पनि दियो । गएको दुई तीन वर्षभित्र सोभियत सङ्घमा एक सोभियत विद्यार्थी भालेन्टिनासँग मेरो विवाह भयो । उहाँबाट सन् १९७२ मा पहिलो छोरा अलेक्जेन्डर र १९७५ मा दोस्रो छोरा देनिश श्रेष्ठ प्राप्त भयो । हामी पढ्दै गर्दागर्दै दुई छोराहरू पनि हामीले हुर्कायौँ । सन् १९७६ मा हामी चारजना नेपाल फक्र्यौँ ।
गएको सुरुका महिनादेखि नै आफूलाई धेरै अप्ठयारो महसुस भयो । सबभन्दा पहिले आफ्नै कोठामा बस्ने सहपाठी एक रुसी विद्यार्थीसँग कम्युनिज्मको विषयलाई लिएर मेरो मनमुताव भयो । उनी चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङ्गका कट्टरविरोधी थिए । म जानी नजानी उनका समर्थक थिए । यही कुराले हामी दुईको बीचमा दिनदिनैझै विवाद हुन्थ्यो ।
पछि मलाई थाहा भयो, सारा सोभियत युनियन नै चीनको विरोधमा थियो । माओ त्सेतुङ्गलाई उनीहरू ठूलो आलोचना गर्थे । कक्षामा पढाउँदा प्राध्यापकहरूसमेत कुनै बहाना मिल्नासाथै चिनियाँ कम्युनिस्ट नीतिको विरोधमा बोल्थे । मलाई लाग्यो, यो रुसी जनताले आफ्नो भाषा बोलेका होइनन् सरकारी र रुसी कम्युनिस्ट नेताहरूको बोली बोलेका थिए, बोल्न लगाएका थिए र उनीहरू बोल्न बाध्य थिए । यो कुरा मैले आफ्नो अन्तरआत्माले बुझेको थिएँ । त्यसैले मलाई सोभियत सङ्घमा पाइला टेकेदेखि नै असजिलो महसुस भएको थियो । तैपनि आफ्नो विचारलाई सकेसम्म भित्र मनमै थुनेर आफ्नो पढाइ अगाडि बढाउँदै लगेँ । कुरा सोभियत रुसी जनताको मात्र होइन नेपाली विद्यार्थीहरूबीच पनि यो विषयले गहिरोरूपमा स्थान लिएको थियो ।
त्यसबेला सोभियत सङ्घमा धेरै नेपाली विद्यार्थीहरू पढ्थे । सोभियत सङ्घका विभिन्न गणराज्य र सहरहरूमा पढिरहेका नेपाली विद्यार्थीहरू एक हजारको हारा–हारीमा थिए। तीमध्ये धेरै विभिन्न विषयका इन्जिनियरिङ्ग कोर्समा थिए भने दोस्रो स्थानमा मेडिकल साइन्स पढ्ने विद्यार्थीहरू थिए । सबभन्दा धेरै विद्यार्थीको सङ्ख्या स्वभावत ः सोभियत रुसको राजधानी मस्को सहरमा थियो । त्यसमध्ये तत्कालीन ‘पाट्रीसा लुमुम्बा मैत्री विश्वविद्यालय’ मा नेपालीमात्र होइन अत्यधिक विदेशी विद्यार्थीहरू थिए ।
सोभियत मस्कोस्थित लुमुम्बा विश्वविद्यालय भनेपछि विश्व प्रसिद्ध थियो । पाट्रीसा लुमुम्बा मध्य अफ्रिकी राज्य कङ्गोका एक देशभक्त कम्युनिस्ट नेता थिए । सन् १९६० मा कङ्गो बेल्जियम उपनिवेशवादबाट स्वतन्त्र भएपछि गणतन्त्र कङ्गोका प्रथम प्रधानमन्त्री भएका थिए पाट्रीसा लुमुम्बा । तर १९६० को जून महिनामा प्रधानमन्त्री चुनिएका लुमुम्बाको १९६१ जनवरी महिनामा निर्मम हत्या भएको थियो ।
बेल्जियम उपनिवेशबाट भर्खर मुक्त भएको स्वतन्त्र कङ्गोमा लुमुम्बाका विरोधी नेता मोशे छोम्बेले आधिपत्य जमाएर कङ्गोबाट अलगिएको घोषणा गरे । खनिज पदार्थले सम्पन्न भएको कङ्गोको एक ठूलो भाग काटाङ्गा क्षेत्र थियो । उपनिवेशवादी बेल्जियमले विरोधी नेतालाई छोम्बेलाई सैनिक समर्थन गरेर देशमा गृहयुद्धको आगो बाल्न लगायो ।
भर्खर स्वतन्त्र भएको गणतन्त्र कङ्गोका प्रधानमन्त्री लुमुम्बासँग उपनिवेशवादी बेल्जियमको समर्थन पाएको विरोधी नेतासँग लड्न यथष्ेट शक्ति र साधन थिएन । देशमा स्थिरता ल्याउन लुमुम्बाले संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घलाई अनुरोध गर्न पुगे । अमेरिकाले लुमुम्बालाई साथ सहयोग दिन इन्कार ग¥यो भने संयुक्त राष्ट्र सङ्घले केही शान्ति सैनिक त उपलब्ध गरायो तर कुनै प्रकारको सैनिक हस्तक्षेप गर्न चाहेन ।
त्यसपछि पाट्रीसा लुमुम्बाले सोभियत सङ्घसँग आफूलाई सैनिक तथा आर्थिक सहयोग गर्न अपिल गरे । सोभियत सङ्घले तत्काल कङ्गोको प्रधानमन्त्रीको आग्रहअनुसार सैनिक तथा आर्थिक सहयोग उपलब्ध गरायो ।
मध्य अफ्रिकी राष्ट्र कङ्गो एक ठूलो भूभाग ओगटेको देश थियो । हीरा, कोबाल्ट, तामा जस्ता खनिज पदार्थले धनी देश अफ्रिकाको अल्जेरियापछिको सबभन्दा ठूलो देश हो । यहाँ जलविद्युत् शक्तिको ठूलो सम्भावना छ ।
सोभियत सङ्घको प्रवेशले गर्दा अमेरिका र पश्चिम युरोपका पुँजीवादी देशहरू धेरै आक्रोशित भए । पाट्रीसा लुमुम्बा कम्युनिस्ट विचारधाराका नेता भएकाले तत्कालीन कङ्गोली राष्ट्रपतिलाई पनि मनपरेको थिएन र त्यही कारण राष्ट्रपतिले लुमुम्बालाई प्रधानमन्त्रीको पदभारबाट मुक्त गरिदिए । लुमुम्बाले यसको प्रतिकार गरे । देश राजनीतिक सड्ढटमा फस्यो ।
लुमुम्बाले स्वतन्त्र अफ्रिकी राष्ट्रहरूको साथ र सहयोगको पनि आह्वान गरे । लुमुम्बाको क्रियाकलापबाट तर्सेका अमेरिका र अमेरिकी समर्थित पश्चिम युरोपका देशहरूको दबाबमा राष्ट्रपति कासामुभुले लुमुम्बालाई अपदस्थ गरेका थिए सेप्टेम्बर ५ तारिखको दिन । सेप्टेम्बर १४ तारिखमा राष्ट्रपति कासामुभुसँग मिलेर कङगोली सेनाध्यक्ष जोसेफ मोबुटुले सैनिक हस्तक्षप गरी सत्ता आफ्नो हातमा लिए ।
अक्टोबर १९६० मा अपदस्थ पाट्रीसा लुमुम्बालाई नजरबन्दमा राखे लियोपोल्डमिल सहरमा । लुमुम्बा नजरबन्दबाट भागेर आफ्ना समर्थकहरू रहेको स्टानलिभील सहरमा जाने क्रममा मोबुटुको सैनिकले समातेर केही समय थीसभाइल भन्ने सहरको एक सैनिक क्याम्पमा राखे । त्यस क्याम्पमा लुमुम्बालाई सैनिकहरूबाट सहयोग मिल्नसक्ने डरले, केही दिनपछि उनलाई अन्तै सारे जहाँ उनको हत्या गर्ने नियोजित योजना थियो ।
सन् १९६१ को जनवरी १७ तारिख लुमुम्बालाई उनका दुई जना सहयोगीहरू जोशेफ ओकिटो र माउरीस म्पोलोको साथ तत्कालीन एलिजावेथभिल भन्ने सहरमा लगिए । एलिजावेथभिल सहरको नाम अहिले लुमुम्बाशी राखिएको छ पाट्रीसाको नामबाट ।
मोबुटुको सैनिकले पाट्रीसालाई काटान्गाका पृथकतावादी विद्रोही नेता र उनका बेल्जियन सहयोगीहरूको हातमा सुम्पिदिए । प्लेनमा ल्याउँदा पाट्रीसा र उनका सहयोगी मित्रहरूलाई प्लेनभित्रै चरम यातना दिइएको थियो । पछि काटान्गामा पुगेपछि उनीहरूलाई मरणासन्न गरी कुटपिट गरियो । त्यहीँ दिन लुमुम्बा र उनका दुईजना सहकर्मीलाई बेल्जियन सल्लाहकारहरूको रोहरमा गोली हानी हत्या गरे । लुमुम्बा र उनका साथीहरूको लासलाई पहिले एउटा चिहानमा फालिदिए । पछि त्यहाँबाट निकालेर मृत शरीरलाई टुक्रा टुक्रा गरी काटेर तेजाबमा डुबाएर नष्ट गरे । बाँकी अवशेषलाई आगोमा पोलेर नष्ट गरे ।
यसरी निर्ममतापूर्वक कन्गोको स्वाधीनताको निम्ति लड्ने योद्धाको हत्या भएकोमा सर्वत्र निन्दा गरियो । पछि स्वयं पाट्रीसाका विरोधीहरूले उनलाई एक राष्ट्रको सहिदको रूपमा व्याख्या गरे । उनकै नामबाट सोभियत सङ्घले रुसी राजधानी मास्कोमा “पाट्रीस लुमुम्बा जनमैत्री विश्वविद्यालय” स्थापना ग¥यो । त्यहाँबाट लाखौँ विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्न पाए दशकौँसम्म । तर, सोभियत सङ्घ विघटन भएपछि उक्त विश्वविद्यालयको नाम परिवर्तन गरिएको छ र पाट्रीसा लुमुम्बाको नाम हटाएर केवल “रुसी जनमैत्री विश्वविद्यालय” राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *