‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
– हर्षबहादुर केसी
उखुको पैसा नपाएका कारण उखु किसानहरू आन्दोलित छन् । आफूले बेचेको उखुको रकम नपाउँदा उनीहरू आन्दोलित भएका हुन् । उखु किसानहरू बेचेको उखुको रकम पाउन स्थानीय प्रशासन कार्यालय धेरै पटक धाए, अनुनय विनय गरे, साहुको घर घेरे उनीहरूले रकम पाएनन् । पटक–पटक आग्रह अनुनय गर्दा पनि उखुको रकम नपाएपछि उनीहरू राजधानीको माइतीघर आई प्रदर्शनमा उत्रेका छन् । माग पूरा नभए आन्दोलन चर्काएर उनीहरूले सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।
उखु किसान सङ्घर्ष समितिले २५ हजार उखु किसानको झन्डै रू. ५० करोड उठाउन बाँकी रहेको जनाएको छ । उखु पीडित किसानहरूका अनुसार उखु उधारोमा लिने साहुले पैसा दिन्छु भन्दा भन्दै लामो समयसम्म पैसा दिँदैनन् । किसानलाई समयमै पैसा नतिर्ने व्यापारीहरूको पुरानो बानी अद्यापि रहेको पीडित किसानहरू बताउँछन् । उखु लिन्छन्, पेल्छन्, चिनी तयार गर्छन् र आय आर्जन गर्छन् । तर, उखु किसानलाई किन पैसा दिँइदैन ? कति किसानको १० वर्षदेखिको रकम बाँकी रहेको छ । वर्षौँ वर्षसम्म उखुको पैसा नदिइकन व्यापारीहरू उखु किसानको जनजीवन किन कष्टकर बनाउँछन् ? उखु किसानहरूलाई किन अवहेलना ¤ व्यापारीहरूले दिने गरेको यस्तै दुःखले गर्दा उखु किसानहरू उखु नदिई चिनी कारखाना नै सुकाउने तयारीमा पुगेका छन् ।
आखिर उखु किसानलाई किनेको उखुको रकम पाउन किन समस्या ल्याइएको हो ? कतै नेपालको चिनी कारखाना बन्द गरेर भारतीय चिनी आयात गर्ने षड्यन्त्र त यसमा लुकेको छैन ? उखु किसानहरू उखुको रकम नपाएरै कहिले खेतमै उखु सुकाउन बाध्य छन् भने कहिले बेचेको उखुको रकम नपाएर हैरान छन् । आफूलाई परेको पीडा, समस्याउपर सरकारको ध्यान जाओस् भनी उनीहरू राजधानी छिरेर आन्दोलनमा छन् । उनीहरूको पीडालाई सरकारले हेर्छ हेर्दैन, समाधानको उपाय निकाल्छ ? निकाल्दैन समयले देखाउने छ । स्थानीय प्रशासन या सम्बन्धित मन्त्रालय समस्या समाधान गर्न अघि बढ्नुपर्छ । उखु किसानहरूको शान्तिपूर्ण प्रदर्शनलाई सरकारले अहिलेसम्म ध्यान दिएको छैन । आन्दोलन चर्किएपछि मात्रै सरकारले ध्यान दिने ? के कुनै माग पूरा गर्न सिंहदरबारै घेर्नुपर्छ ? तोडफोड नै गर्नुपर्ने ? होइन भने उखु किसानहरूको रकम दिलाउने काममा सरकारको ध्यान जानुपर्छ र माग पूरा गरेर राहत दिलाउनुपर्छ ।
Leave a Reply