भर्खरै :

जनविरोधीहरूको चङ्गुलमा नेपाल ट्रस्ट ¤

अनुदीप
नेपाल ट्रस्टको सम्पत्तिको प्रयोग कसरी भइरहेको छ भन्ने विषयमा केही दिनयताका अखबारहरूले प्रस्ट पारेका छन् । पूर्वराजा विरेन्द्रको नाममा रहेको सम्पत्ति सबै नेपाल ट्रस्टको नाममा नामसारी हुने कानुनी बन्दोबस्त छ । पूर्वराजाको नाममा रहेको २१ हजार रोपनी जग्गाको संरक्षण र उपयोग वा व्यवस्थापन गर्ने जिम्मा नेपाल ट्रस्टको हो । राजा विरेन्द्रबाट कौडीको मूल्यमा जग्गा भाडामा उपयोग गरिरहेको पक्षलाई नै अहिले नेपाल ट्रस्टमा सदस्य बनाइएको विषय पनि समाचारमा आएको छ । लेनदेनको दोस्रो पक्ष नै जब निर्णायक स्थानमा हुन्छ, त्यतिबेला स्वाभाविकरूपमा निर्णय प्रक्रियामा प्रभाव पर्छ । निर्णय प्रक्रियालाई प्रभावित पार्न नै यती समूहका सञ्चालक सीताराम सापकोटालाई नेपाल ट्रस्टको सदस्यमा नियुक्त गरेको समाचारहरूमा दाबी गरिएका छन् ।
सापकोटालाई नेपाल ट्रस्टमा सदस्य बनाएपछि ६ वर्ष लिज अवधि बाँकी छँदै त्यसपछिको २५ वर्षको लागि २,७९६ रोपनी जग्गा कौडीकै मूल्यमा यती समूहको गोकर्ण रिसोर्टलाई लिज अवधि थप्ने निर्णय गरेको छ । सापकोटालाई सदस्य बनाएर हतारमा ६ वर्षअगाडि नै लिज अवधि थपेकोले ट्रस्टका पदाधिकारीहरूको नियत शङ्कास्पद देखियो । ट्रस्टको सञ्चालकमा नियुक्त सापकोटाको नालीबेली आफैँमा विवादित छ । यती समूहका सापकोटा विदेशी पर्यटकलाई योजनाबद्धरूपमा बिरामी बनाई उद्धारको नाममा लाखौँ लाख ठग्ने ‘अपराधी’ भएको तथ्य पनि यथेष्ट छन् । देशकै बदनाम हुने गरी उद्धारको नाममा ठग्ने ‘अपराधी’ लाई नै नेपाल ट्रस्टको सञ्चालकजस्तो जिम्मेवार पदमा नियुक्ति गर्नु र उपप्रधान एवम् रक्षामन्त्रीको अध्यक्षतामा हुने ट्रस्ट सञ्चालक समितिले देशलाई नोक्सान हुने र व्यक्तिगत कम्पनीलाई पक्षपोषण गर्ने गलत निर्णय हुनु आदि कारणले फेरिपनि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भन्नुभएजस्तै सिंहदरबार र बालुवाटार ठगहरूको घेरामा रहेको तथ्य पुनः पुष्टि हुन्छ ।
समाचारहरूको शृङ्खला बाँकी नै छन् । यती समूहबाटै नेपाल ट्रस्टकै सम्पत्तिको भाडाबापतको ७ अरब लिनुपर्ने ठाउँमा डेढ अरबमात्र लिएको तथ्य खुलासा भएको छ । दरबारमार्गको एक रोपनी १४ आना जग्गाको यती समूहले नै प्रस्ताव गरेको रकमभन्दा पनि अत्यन्त न्यून अड्ढमा सम्झौता हुनुले ठूलो रकम अनियमितता भएको समाचार छ । देशलाई अरबौँ रकम नोक्सान हुने गरी सम्झौता गर्दा कागजपत्रमा हस्ताक्षर गर्ने अधिकारीबीच मात्र होइन अरू शक्तिशाली पदाधिकारीसम्म पनि लेनदेन भएको नहोला भन्न सकिन्न । त्यसकारण देशलाई आर्थिकरूपमा नोक्सान पार्ने काममा को – को संलग्न छन् ? एक –एकको खोजी हुनु आवश्यक छ । पत्रिकाहरूले ती विषयमा जनतालाई सुसूचित पार्नु आवश्यक छ । तिनीहरूलाई कडाभन्दा कडा कारबाही गर्नु आवश्यक छ ।
नेपाल ट्रस्टको जग्गालाई गणतन्त्रका ‘नयाँ राजाहरू’ ले दुहुनो गाई बनाउन खोजेका छन् । नेपाल ट्रस्टको जग्गालाई व्यक्ति वा संस्थालाई लिजमा दिन मिल्ने गरी कानुन नै संशोधन गरी कमिसन खाने र भ्रष्टाचार गर्ने बाटो खुला गरिएको छ । यसअघि नेपाल ट्रस्ट ऐनमा प्रस्टरूपमा ट्रस्टको सम्पत्ति ‘विद्यालय, महाविद्यालय, विश्वविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्थाहरू खडा गरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्न’ प्रयोग गर्न सकिनेमात्र भनिएको थियो । अहिले ऐन नै संशोधन गरी ‘पर्यटकीय तथा व्यावसायिक कार्यमा’ प्रयोग गर्न सकिने पनि भनिएको छ । ऐनमा ‘ट्रस्टको हित हुने गरी’ लेखिएको भए पनि ट्रस्ट आफैले ट्रस्ट र देशलाई घाटा हुने गरी धमाधम सम्झौता गर्नुले गणतन्त्रका ‘नयाँ राजाहरू’, शासक दलहरूको नियत र चरित्रलाई उदा·ो पारेको छ ।
गणतन्त्रका ‘नयाँ राजाहरू’ लाई देश र जनताको हित सोच्नेबारे ध्यान नै छैन । जसरी हुन्छ, कमिसन खाने र भ्रष्टाचारको मेसो मिलाउने मात्रै चासो छ किनभने जनतामा चासो गएको देखिएन । देश र जनताको हितमा कुनै मुद्दा उठेको छ भने ठगहरूको काँधमा चढेर बिगार्ने मात्र सोच छ । नेपाल ट्रस्टको स्वामित्वमा रहेको भक्तपुरको १०८ रोपनी जग्गामाथि अनावश्यक विवाद पनि यसैको सिलसिला हो । भक्तपुर नपा वडा नं १ सल्लाघारीस्थित १०८ रोपनी जग्गाको स्वामित्वमाथि नगरपालिकाले कहिल्यै दाबी गरेको छैन । नेपाल ट्रस्टकै जग्गा भनी संरक्षण गर्न भक्तपुर नगरपालिकाले लाखौँ बजेट खर्च गरी पर्खाल लगाएको छ । नेपाल ट्रस्टको जग्गा भनेको नेपाल सरकारकै जग्गा हो । सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्नु नगरपालिकाको कर्तव्य पनि हो ।
ट्रस्ट, गुठी, मठ मन्दिरका अलपत्र परेका सबै जग्गा स्थानीय निकायमा जानुु आवश्यक छ । उक्त १०८ रोपनी जग्गा भक्तपुरकै किसानहरूबाट न्यून रकममा राजा विरेन्द्रले अधिग्रहण गरेका थिए । त्यसैले सो जग्गामा भक्तपुर नगरपालिकाअन्तर्गत ख्वप विश्वविद्यालय र मेडिकल कलेज सञ्चालन गर्ने भक्तपुरका जनताको चाहना हो । सोको लागि भक्तपुरका जनताले हस्ताक्षर सङ्कलन गरेर पनि बुझाएका छन् । भक्तपुरका जनताको चाहनाबमोजिम भक्तपुर नगरपालिकाले पनि सरोकारवाला पक्षहरूसँग आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ । नेपाल ट्रस्टका सचिवसँगको पटक – पटकको बैठकले ‘भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा पर्खाल लगाएको सकारात्मक हुँदै भक्तपुरवासी जनताको अधिकतम हितमा उक्त जग्गा सदुपयोग गर्ने’ निर्णयसमेत भएको भक्तपुर नगरपालिकाले जनाएको छ । नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूको नेतृत्वमा रहेको भक्तपुर नगरपालिकाले शिक्षा स्वास्थ्यलगायत विषयमा जनताको प्रत्यक्ष हित हुने काम गरेपछि अत्तालिएका शासक दलका ‘ठगहरू’ यतिबेला उक्त १०८ रोपनीको अनावश्यक विवाद निकाल्न अनेक षड्यन्त्र र चलखेल गरिरहेका छन् ।
केही दिनअघि नेपाल ट्रस्टले उक्त जग्गामाथि ‘यो जग्गा नेपाल ट्रस्टको कार्यालयको स्वामित्वमा रहेको छ’ भनी नक्सा कटुञ्जे – ९ ख र कित्ता नं समेत उल्लेख गरी बोर्ड राखेको छ । स्वामित्वमाथि विवाद नै नभएको स्थानमा जग्गाको अवस्थिति भक्तपुर नपामा नभई सूर्यविनायक नगरपालिकामा हो कि भन्ने खालको भ्रम सिर्जना गर्ने गलत मनसायले बोर्ड राख्नु नेपाल ट्रस्टको लागि सुहाउने काम होइन । नेपाल ट्रस्टकै ऐनअनुसार सो जग्गामा भक्तपुर नगरपालिकाले शैक्षिक वा प्राज्ञिक संस्था सञ्चालन गर्न कानुनी सङ्घर्ष गरिरहेको सन्दर्भमा सस्तो शुलभ मेडिकल शिक्षाको लागि भक्तपुर नगरपालिकालाई उक्त जग्गाको जिम्मेवारी दिनु ट्रस्ट सञ्चालक समितिको न्यायोचित निर्णय हुनेछ । व्यापक जनताको हितलाई बेवास्ता गरी कमिसन खाने, भ्रष्टाचार गर्ने केही ठगहरू, गुण्डाहरूको उक्साहटबाट ट्रस्टका पदाधिकारीहरू प्रभावित हुनु कुनै पनि मानेमा सही हुन सक्दैन । यसकारण आफ्ना हजारौँ रोपनी जग्गा व्यापक जनताको हितमा उपयोग गर्नको लागि जनविरोधी ठगहरूको चङ्गुलबाट नेपाल ट्रस्ट उम्किनैपर्छ ।
(प्रजातन्त्र र गणतन्त्रमा देश र जनताको हितमा स्वतन्त्ररूपले सरल र शिष्ट भाषामा अभिव्यक्त गर्ने हरेक नागरिकको अधिकारको विषय हो । तर, त्यस अभिव्यक्तिले अन्य नागरिकहरूलाई व्यक्तिगत आक्षेप नहोस् भन्नेमा लेखक र पाठकहरूको ध्यान आकर्षित गर्न चाहन्छौँ –सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *