भर्खरै :

नेपाल भ्रमण वर्ष २०२० र भक्तपुर महोत्वस २०७६ सम्बन्धमा पत्रकार भेटघाट कार्यक्रम

२०७६ पौष १४ गते सोमबार ।
नेपाल भ्रमण वर्ष २०२० र भक्तपुर महोत्वस २०७६ सम्बन्धमा भक्तपुर नगरपालिकाको सभाकक्षमा सोमबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै भनपा प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० बारे भनपाका महत्वपूर्ण कार्यक्रमहरुबारे अवगत गराउनुहुँदै भक्तपुर नगरलाई आदर्श नगरको रुपमा विकास गर्ने लक्ष्यअनुरुप नगरपालिका अगाडि बढिरहेको बताउनुभयो । मौलिक बस्तु र सँस्कृति संरक्षण गर्न भनपाले नगरबासीहरुलाई उत्साहित गरिरहेको बताउनुहँुदै उहाँले भक्तपुर नगरलाई सफा र सुन्दर बनाउने परिकल्पना गरेको बताउनुभयो ।

प्रमुख प्रजापतिले नगरपालिकाले ख्वप अस्पताल, छात्ती पुनःस्थापना केन्द्र स्थापना गरेको, पर्यटकहरुलाई सामान किन्न सहज गराउनको लागि कोसेली घर निर्माणको लागि नक्सा डिजाइन गरेको, नगरको मुख्य मुख्य क्षेत्रमा गाडी निषेध गरी ढु·ा छपाई गरेको, साँस्कृतिक नगरको मौलिक सँस्कृतिलाई जीवन्तता प्रदान गर्ने लगायत साँस्कृतिक गुरुहरुको सम्मान र नयाँ पुस्तालाई साँस्कृतिक सीप हस्तान्तरण गर्न प्रशिक्षणहरुको आयोजना गरिरहेको जानकारी दिनुभयो ।

पत्रकारहरुको जिज्ञासा माथि प्रष्ट पार्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सार्वजनिक शौचालयहरु आन्तरिक पर्यटकका साथसाथै स्थानीयवासीको प्रयोगका लागि बनाएको तर विदेशीहरुलाई पनि सहज होस् भन्ने हिसाबले स्तरीय शौचालय निर्माण गरिएको बताउनुहुँदै स्तरीय पुस्तकालयको व्यवस्थान गर्न जनज्योती पुस्तकालयलाई ई–लाइब्रेरीको रुपमा स्तरोन्नति गर्ने सोच रहेको उहाँले बताउनुभयो ।

उहाँले नेपाल भ्रमण वर्ष २०२० भित्र २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य चुनौतीपूर्ण भएको बताउँदै भक्तपुर नपाले वर्षौदेखि जीर्ण अवस्थामा रहेको पोखरीहरुको पुनःनिर्माण कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आयोजित कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्नुहुँदै पुष १५ गते हुने सन्ध्याकालीन पदयात्रा र पुष १६ गते प्रभातफेरी कार्यक्रममा सहभागिताको लागि आव्हान गर्दै नयाँ वर्ष जनवरी १ का दिन नगर प्रवेश गर्ने पहिलो पर्यटक टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष एवं वातावरण तथा पर्यटन समितिका संयोजक रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *