भर्खरै :

आइसियुका सामग्री स्टोर मै थन्किए

दाङ, १० वैशाख । यहाँको अस्पतालमा सघन उपचारसेवा लिने धेरै बिरामीलाई आइसियु सेवा नहुँदा समस्या परेको छ ।
राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने पहल सरकारले थालिसकेको छ । त्यसका लागि भौतिक पूर्वाधारका आवश्यक स्वास्थ्य उपकरणलगायतका सामग्रीसहित बजेटसमेत उपलब्ध गराइरहेको छ । तर पछिल्लो समयमा उपक्षेत्रीय अस्पतालमा आइसियु सञ्चालनका लागि आएका करोडौँ मूल्य बढीका आवश्यक सामग्री भने स्टोरमा थन्किएका छन् ।
अस्पतालमा आइसियु सेवाका लागि ती लाखौँका सामान आएको करिब डेढ वर्ष भइ सकेको छ । आइसियुका सामग्री लिएको पनि डेढ वर्षभन्दा धेरै भइसकेको छ, आइसियु सेवा सुरु हुन सकेको छैन । स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाबाट भेन्टिलेटर ल्याइएको हो । दुईवटा भन्टिलेटर लिएर राखेको हो तर त्यो भेन्टिलेटर भित्र्याएको डेढ महिना बितिसक्दा पनि सुरु नहुँदा बिरामीलाई जिल्ला बाहिर पठाउने गरिएको छ ।
दैनिकजसो बिरामीलाई आइसियुका लागि जिल्ला बाहिर पठाइन्छ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा आइसियु सेवा नहुँदा नवजात शिशुलाई दैनिकजसो अन्यत्र पठाउने गरिएको छ । दाङ, सल्यान, रुकुम, रोल्पालगायतका जिल्लाबाट सुत्केरीका लागि यस अस्पतालमा ल्याउने गर्छन् । तर यस क्षेत्रको ठूलो भनिएको अस्पतालमा आइसियु सेवा नहुँदा कतिपय नवजात शिशुले अकालमै ज्यान गुमाउने गरेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जनार्दन पन्थीले आइसियु अस्पतालका लागि हात्ती भएको बताउँदै अस्पतालले हात्ती चलाउन नसक्ने बताउनुभयो । उहाँले आइसियुका लागि मात्र १२÷१५ जना दक्ष कर्मचारी आवश्यक पर्ने तर अस्पतालसँग जनशक्ति नहुँदा सञ्चालनमा समस्या भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *