नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
–हर्षबहादुर केसी
आफ्नो दलको स्वार्थ र हित नै देशको हित र स्वार्थ खोज्ने, आफ्नो हित नै जनताको हित सम्झने र आफ्नो दलको कमि कमजोरी औँल्याउनेबित्तिकै राष्ट्रको विरोध ग¥यो भन्ने प्रवृत्ति सत्तारुढ र ठूला दलका नेताहरूमा देखिएको छ । आफ्नो दलको स्वार्थमा अलिकति ठेस लाग्यो कि देशविरोधी र विकासविरोधी देख्ने नेताहरूको पनि यहाँ कमी छैन । अनि उनीहरू पार्टी एकतामा भाँड्न खोजेको, सरकार असफल पार्न लागेको र विकास गर्न नदिएको भनी फुक्छन्, बर्बराउँछन् र क्रान्तिको कुरा छोडेर सत्तामै बसेर टाँसिरहने चाहना व्यक्त गर्छन् । त्यस्ता नेताहरूको मुख्य चाहना सत्ताको आयु लम्ब्याउने हो र राज्यकोषमा रमाइरहने हो । कुनै दल मिलेकोमा कसैलाई टाउको दुखाइको विषय बन्दैन । तर, एकता सिद्धान्त र विचार मिलेको आधारमा हुन्छ, हुनुपर्छ । पद भागबन्डा मिलाउन, मन्त्री पद बाँडीचुँडी लिन र सरकारको नेतृत्व गर्न भएको एकता सैद्धान्तिक एकता हुँदैन । सिद्धान्तहीन एकता फूटभन्दा झन् राम्रो भनेर सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सले त्यसै भनेका होइनन् ।
कुनै पनि पार्टी पथप्रदर्शक सिद्धान्तअनुसार अघि बढ्छ । माक्र्सवाद–लेनिनवाद कुनै दलको मार्ग निर्देशक हो भने त्यसको मूल्य र मान्यताअनुसार अघि बढ्नुपर्छ । काम कुरो एकातिर काम कारबाही अर्काेतिर भयो भने गन्तव्यमा पुग्दैन । नेकपाको नेतृत्वमा रहेको सरकारको भरमा, नेकपाले हाल गरिरहेको गतिविधिको आधारमा नेपालमा आमूल परिवर्तन सम्भव छैन, न कम्युनिस्ट आन्दोलन अघि बढ्छ न त कम्युनिस्ट पार्टी नै बलियो हुन्छ ।
नेकपाले झूटको राजनीति गरिरहेको छ, नेकपाले जनतालाई धोका दिइरहेको छ, छलको राजनीति गरिरहेको छ । त्यस्ता दलका नेताहरु राष्ट्रियतामा आँच पुगेपछि, घाटा भए पनि, आघात पुगे पनि मतलब राख्दैनन् । आफूलाई फाइदा भयो, आफ्नो हित भयो भने सबै राम्रा ठान्छन्, गौरवको अनुभूति गर्छन् । अनि त्यसको विरोध भयो भने अर्काे आरोप लगाउन पछि पर्दैनन् । यसरी आफ्नो दल र व्यक्तिगत स्वार्थमा मात्र अल्झेकै कारण विदेशी शक्तिहरुको हस्तक्षेप बढ्दै गएको हो, देशको भूमि मिचिरहेको हो । हिजो नेपालमा भारतको मात्र चलखेल हुन्थ्यो भने अहिले संयुक्त राज्य अमेरिकाले पनि चलखेल गर्ने बाटो बुन्न थालेको छ, लोभको जाल फ्याँकेर नेपाल सरकारको घाँटी निमोठ्न थालेको छ । यस कार्यमा नेकपामात्र होइन नेका पनि जुटेका छन् । नेकाका नेता मीनेन्द्र रिजालले पुस १७ गते प्रकाशित नयाँ पत्रिकामा ‘एमसीसीमा निहुँ खोज्नु आत्मघात’ शीर्षकमा लेखे, “अहिले चीन अमेरिकाको होडबाजी व्यापार युद्ध पनि हाम्रा लागि अवसर हुनसक्छ । त्यो होडबाजीबाट हामीले फाइदा उठाउन सक्नुपर्छ । हाम्रो भूराजनीतिले गर्दा दिएको अवसर हो यो ।” नेपालले विकासमा सहयोग पाउन ठूलठूला देशबीच होडबाजी गर्नुपर्ने विचार पनि कहिल्यै न्यायोचित हुन्छ ? चीनप्रति नेपाली जनताको आस्था र विश्वास बढ्दै गएको हुँदा के अमेरिकाले एमसीसीको कदम उठाएको हो ? भारतको अन्धो समर्थन गरिरहेको दल नेकाका नेता रिजालले एमसीसीलाई संसद्ले अनुमोदन गर्नु गलत छैन अस्वाभाविक होइन ।
Leave a Reply