भर्खरै :

भारतीय दलाल पुँजीबाट देश बर्बादीतिर

भक्तपुर, २० पुस । शुभ–लाभ बचत तथा ऋण सहकारी संस्था लि.को १२ औँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सांसद प्रेम सुवालले शनिबार उद्घाटन गर्नुभयो । संस्थाका ज्येष्ठ सदस्यद्वय श्यामबहादुर त्यात र लक्ष्मी चाकतूबाट साधारणसभाको सुभारम्भ गर्नुभयो ।
कार्यक्रममा सांसद प्रेम सुवालले जनताको सांस्कृतिक स्तरकै कारण भारतमा नागरिकता संशोधन विधेयकमा जनआन्दोलन भइरहेको चर्चा गर्दै नेपालको कालापानी, लिम्पियाधुराजस्ता भूभाग मिचेकोविरुद्ध नेपाली जनताले पनि आन्दोलन गर्नुपर्ने बताउनुभयो । भारतीय विस्तारवादले नेपाली जनतालाई थिचोमिचो गर्नुको साथै भारतीय दलाल पुँजीपतिहरूले देशलाई बर्बादीको दिशातर्फ अगाडि धकेलिरहेको उहाँले बताउनुभयो ।
“सामुदायिक सहकारीको मापनको पहिलो आधार भन्नु नै आर्थिक पारदर्शिता हो । साधारणसभाले सदस्यहरूमा संस्थाको गतिविधि, सङ्कलित पुँजीको परिचालन कसरी भइरहेको छ भन्ने कुराबारे जानकारी दिने हुनाले सभामा सक्रिय सहभागिता आवश्यक छ”, सांसद सुवालले भन्नुभयो ।
सांसद सुवालले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत उसु विधामा स्वर्णपदक विजेता चाँगुनारायण न.पा .४, चाँगुका सुस्मिता तामाङ र ज्येष्ठ सदस्यद्वय लक्ष्मी चाकतु र श्यामबहादुर त्यातलाई सम्मान गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले लघुवित्तका नाउँमा जनतालाई ठगिरहेको हुनाले जनता सजग र सचेत हुनुपर्ने बताउनुभयो । बेरोजगार युवाहरूलाई रोजगार सृजना गर्न सीपमूलक तालिम प्रदान गरी आर्थिकरूपमा आफ्नो खुट्टामा उभिन्न सक्ने बनाउन सहकारी क्रियाशील हुनुपर्ने कुरा उहाँले राख्नुभयो । उहाँले २०७५ को एसईई परीक्षामा उत्कृष्ट र सफल हुने विद्यार्थीहरूलाई कदर–पत्र वितरण गर्नुभयो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका चण्डिका छुकां, चाँगुनारायण नगरपालिका वडा नं ५ का वडा अध्यक्ष जयन्द्र खड्का, श्रमजीवी साकोस, भक्तपुर साकोस, सिद्धि गणेश साकोस, नौलो साकोसका प्रतिनिधिले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष लक्ष्मीनारायण लिगलको सभापतित्वमा सपन्न सो कार्यक्रममा सचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र अनुमानित बजेट र लेखा सुपरिवेक्षण समितिको प्रतिवदेनमा टीकाटिप्पणीसहित पारित गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *