भर्खरै :

भारतको जेएनयूमा फासीवादी हमलाको सर्वत्र विरोध, उदाङ्गियो मोदी फासीवादको कुरुप

नयाँ दिल्ली, २१ पुस । आइतबार साँझ भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का प्राध्यापक र विद्यार्थीमाथि भएको निर्मम हमलाको सर्वत्र निन्दा भइरहेको छ । आइतबार साँझ जेएनयूको प्राध्यापक सङ्गठनले आयोजना गरेको कार्यक्रममा मुखमा रुमाल बाँधेका केही हतियारधारीले अचानक गरेको भौतिक हमलामा परी दर्जनौँ प्राध्यापक र विद्यार्थीहरू गम्भीर घाइते भएका थिए । हमलाकारीहरू भारतको सत्तारुढ भारतीय जनता पार्टीको विद्यार्थी सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद् (एभीबीपी) सम्बद्ध विद्यार्थीहरू भएको विभिन्न प्रमाण सार्वजनिक भएका छन् ।

घाइते प्राध्यापक सुचित्रा सेन र आइशी घोष


आइतबारको घटना सम्झंदै जेएनयू कला र सौन्दर्यशास्त्र विभागका प्राध्यापक शुक्ला सावन्तले भने, “मुख पूरै छोपेका एक बथान मानिस आएर हामीमाथि हमला गरे । उनीहरूले ढङ्गा वर्षाइरहेका थिए । लाठीले कुटपिट गरिरहेका थिए । उनीहरूले पार्किङ गरिएका कारमा हमला गरे । फर्निचर भाँचकुँच गरे ।”
सावन्तले क्षेत्रीय विकास अध्ययन केन्द्रका प्राध्यापक सुचित्रा सेन ढङ्गा लागेर ढलेको प्रत्यक्ष देखेको बताए । सेनको टाउकोमा गम्भीर चोट लागेको छ ।
हमलाकारीको हमलामा परी जेएनयू विद्यार्थी युनियनका सभापति आइशी घोष पनि गम्भीर घाइते भइन् । “मेरो टाउको फुटेर म रगतपिच्छे भएकी छु”, उनले भनिन् ।
विश्वविद्यालय परिसरभित्र भाजपा समर्थित हमलाकारीले कुटपिट गर्दैै गर्दा गेट बाहिर तैनाथ प्रहरीले कसैलाई पनि गेटभित्र पस्न दिएको थिएन । हमलाकारीलाई रोक्नुपर्ने प्रहरी गेटबाहिर मूकदर्शक बसेकोमा प्रहरीको चर्को आलोचना भएको छ । जेएनयूका विद्यार्थीमाथि सरकारकै संरक्षणमा हमलाकारीले हमला गरेको भनी मोदी सरकारको चर्को आलोचना भइरहेको छ ।
इतिहास अध्ययन केन्द्रका प्राध्यापक आर महालक्ष्मीले भनिन्, “हमलाकारीहरूले हातमा लाठी, फलामे छड बोकेका थिए । उनीहरूले त्यस्तै साँझ ६ः३० बजे सबरमती छात्रावासमाथि हमला गरे । त्यसअघि उनीहरू पेरियार होटेलको वार्डन कार्यालयअघि जम्मा भए । त्यहाँबाट उनीहरू ताप्ती र काएना छात्रावासतिर हमला गर्न गएका थिए ।”

छात्रावासमा हतियारसहित पसेका हतियारधारी


जेएनयूमा अर्थशास्त्रका अध्यापक रोहित आजादले आइतबार साँझ आयोजित कार्यक्रममा सहभागी नभएका विद्यार्थीहरूमाथि समेत साङ्घातिक हमला भएको बताए । “एक जना विद्यार्थी पुस्तकालयमा जाँदै थिए । उनलाई पनि बाँकी राखेनन् । दुई जना शिक्षकहरू गम्भीर घाइते बनाइए ।”
नकाबधारी हमलाकारीले छात्राहरूको छात्रावासमा समेत प्रवेश गरेर हमला गरेका थिए ।
“त्यहाँको अवस्थाबारे केही विद्यार्थी र प्राध्यापकले प्रहरीलाई खबर गरेका थिए । तर, त्यहाँ कोही प्रहरी थिएन”, सबरमती छात्रावासमा भएको हमलाका प्रत्यक्षदर्शी इतिहास विभागका एक विद्यार्थीले भने । हमलाको समयमा विश्वविद्यालय वरपरका सबै बत्ती निभाइएको थियो ।
हातमा क्रिकेटका ब्याट बोकेका हमलाकारीहरूले आकस्मिक उद्धारको लागि विश्वविद्यालयभित्र प्रवेश गरेका चिकित्सक र नर्सहरूमाथि हमला गरेका थिए । उनीहरूले घाइतेको उद्धारको लागि गएका एम्बुलेन्सहरूसमेत तोडफोड गरेका थिए ।
स्क्रोल. आइएनका पत्रकार रोहन भेन्कातारामा कृष्णनलाई हमलाकारीले ‘नक्सलवाडी’ भन्दै कुटपिट गरेका थिए । ‘आज तक’ र ‘इन्डिया टुडे’का पत्रकार अशुतोष मिश्रमाथि पनि हमला भएको थियो । अभियन्ता योगेन्द्र यादवमाथि गेट बाहिर सञ्चारमाध्यममा प्रतिक्रिया दिंदै गर्दा अखिल भारतीय विद्यार्थी परिषद्का कार्यकर्ताले हमला गरेका थिए ।
विभिन्न माध्यमबाट जेएनयूमा भएको हमलाको खबर जङ्गली आगोजस्तै दिल्ली सहरमा फैलिएपछि प्रतिकारको लागि क्याम्पस पुगेका विद्यार्थी, सामाजिक अभियन्ता र राजनीतिक कार्यकर्तालाई प्रहरीले विश्वविद्यालयभित्र पस्न दिएन । गेटबाहिर जम्मा भएका उनीहरूले मध्यरातसम्म नाराबाजी गरेका थिए । गेटबाहिर पनि केही झडप भएका थिए ।
घाइते सबैको दिल्लीकै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेन्समा उपचार भइरहेको छ ।
सर्वत्र विरोध
जेएनयूका विद्यार्थी र प्राध्यापकहरूमाथि सत्तारुढ दलसम्बद्ध गुण्डाहरूबाट भएको हमलाको विरोधमा भारतका विभिन्न सहर र विश्वविद्यालयमा प्रदर्शन भएका छन् । भारतका पोन्डिचेरी विश्वविद्यालय, बैङ्ग्लोर विश्वविद्यालय, हैदराबाद विश्वविद्यालय, अलिगढ विश्वविद्यालय, मुम्बई विश्वविद्यालय, दिल्ली विश्वविद्यालय, अम्बेडकर विश्वविद्यालय, बनारस हिन्दू विश्वविद्यालय, चण्डीगढ विश्वविद्यालय, बैंगलुरुको नेसनल कानुन विश्वविद्यालय, पुणेको सावित्रीबाई फुली विश्वविद्यालय, मुम्बईस्थित टाटा इन्स्टिच्युट अफ सोसियल साइन्स, जाभेदपुर विश्वविद्यालय, कोलकोत्ताको प्रेसिडेन्सी विश्वविद्यालय र द इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीलगायत शैक्षिक निकायमा सोमबार विरोध कार्यक्रमहरू भए ।
काठमाडौँको माइतीघरमा पनि सोमबार केही विद्यार्थीहरूले जेएनयूमा भएको हमलाप्रति भत्र्सना गर्दै प्रदर्शन गरे । जेएनयूका विद्यार्थी र प्राध्यापकहरूले भने सोमबार साङ्लो जुलुस प्रदर्शन गरे । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र सुसेक्स विश्वविद्यालय तथा संरा अमेरिकाको कोलोम्बिया विश्वविद्यालयमा पनि जेएनयू हमलाप्रति खेद प्रकट भएको छ ।
उपकुलपतिको राजीनामा माग
आइतबार राति भएको हमलाको नैतिकरूपमा दोषी भएकोले जेएनयूका उपकुलपतिलाई पदबाट राजीनामा दिन जेएनयू विद्यार्थी युनियनले माग गरेको छ । जेएनयूको उपकुलपतिमा हाल एम. जगदिशकुमार उपकुलपति छन् । जेएनयू प्राध्यापक सङ्गठनले भारतका राष्ट्रपति रामनाथ कोविदलाई पत्र लेखेर उपकुलपति एम जगदिश कुमारलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेको छ ।
भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) ले पनि वक्तव्य जारी गरी उपकुलपतिलाई पदबाट हटाउन माग गरेको छ । मोदी मन्त्रिमण्डलका दुई जना मन्त्रीहरूले पनि जेएनयूमा भएको हमलाप्रति खेद व्यक्त गरेका छन् । वित्तमन्त्री निर्मला सितारमण र परराष्ट्रमन्त्री एस. जयशड्ढरले सो घटनाप्रति खेद व्यक्त गरेका हुन् । उनीहरू दुवै जना जेएनयूका पूर्वविद्यार्थी हुन् ।
जताततै विरोध
सन् २०१९ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री अभिजित बेनर्जीले जेएनयू घटनाप्रति खेद व्यक्त गरेका छन् । उनले आइतबार राति जेएनयूमा के भएको हो भन्ने कुरा मोदी सरकारले सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए । “मेरो विचारमा भारतको छविप्रति चासो राख्ने जोकोही भारतीयले पनि यतिबेला चिन्ता गर्नुपर्छ”, स्वयम् जेएनयूका पूर्वविद्यार्थी बेनर्जीले भने, “जर्मनी नाजी शासनतर्फ जाँदै गर्दा जस्ता प्रतिध्वनि यतिबेला भारतबाट सुनिंदै छ ।”
उनले लगातार मोदी सरकारको अर्थनीतिको आलोचना गर्दै आएका छन् ।
जेएनयू हमलाको विरोधमा आइतबार भारतीय सिनेकलाकार स्वारा भास्कर, शवाना आज्मी, सोनम कपुर, दिया मिर्जा, मोहद जिशन अयुब, तपसी पन्नु, अर्पणा सेन, हस्मी मेहत्ताले खेद प्रकट गरेका छन् ।
मोदी सरकार बनेयता भारतमा विश्वविद्यालयका प्रगतिशील र वामपन्थी विद्यार्थीमाथि हमला गर्ने यसप्रकारका घटना पहिलो होइन । सन् २०१९ को डिसेम्बरमा दिल्लीकै जामिया इस्मालिया विश्वविद्यालयमाथि भारतीय प्रहरी र प्रहरीको भेषमा आएका सत्तारुढ दलका विद्यार्थीहरूले त्यहाँका विद्यार्थीहरूमाथि निर्मम हमला गरेका थिए । मोदी सरकारले जेएनयूमाथि यसअघि पनि पटक–पटक हमला गरेका छन् ।
राजनीतिक विश्लेषकहरूले मोदी सरकारकै संरक्षणमा भइरहेका यस्ता घटना मोदीको हिन्दू फासीवादी नीतिको परिणाम भएको बताएका छन् । हालै संसदबाट पारित नागरिक संशोधन ऐन र राष्ट्रिय नागरिकता पञ्जीकरणको विरोधमा उठेको जनआन्दोलनमाथि मोदी सरकारले निर्मम दमन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *