भर्खरै :

सुशासन कायम नभएकोमा समितिको चिन्ता ¤

काठमाडौँ, २३ पुस । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा समग्र देशको सुशासनबारे बुधबार छलफल भयो ।
छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘समारोही संसद्,’ ‘ट्याक्सीमा ठगी उस्तै’, ‘बलात्कारी अभियुक्त गाउँ फर्केर भोजभतेर’, ‘सरकारी अस्पतालका कर्मचारी बिरामी निजी अस्पतालमा पठाउने’, ‘बढेन सर्वोच्चको मुद्दा फछ्र्यौट’जस्ता अखबारको शीर्षकअनुसार देशको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा सुशासन नभएको पुष्टि हुने उल्लेख गर्नुभयो ।
देशको सन्तुलित विकास गरिएको भए झण्डै दुई खर्ब रूपैयाँको काठमाडौँ–बारा द्रुतमार्ग निर्माण आवश्यक नहुने, काठमाडौँ उपत्यकामा थप ‘स्मार्ट सिटी’ विकास गर्न नपर्ने उल्लेख गर्दै उहाँले फोरजी, एनसेल, वाइडबडी, गोकर्ण, कालीमाटी, दरबारमार्ग, ललितनिवासको जग्गामा भ्रष्टाचारको समाचारले कुशासन नै भइरहेको बताउनुभयो ।
कानुनी शासनमा पनि सुशासन नहुने उल्लेख गर्दै उहाँले कम्पनीको नाममा जग्गा हदबन्दी नलाग्ने कानुन स्वयम् पक्षपातपूर्ण र सुशासनविपरीत भएको बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा देश र जनविरोधीहरूको प्रतिष्ठा सुरक्षित हुने हुँदा मानिसलाई सुसंस्कृत बनाउने वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु आवश्यक छ, सांसद सुवालले थप्नुभयो ।
अहिलेसम्म प्रधानमन्त्री र मन्त्री भएकाहरूले सुशासन कायम गर्न नसकेको सम्बन्धमा छलफल गर्नुपर्ने उल्लेख गर्दै सांसद सुवालले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र अर्का वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्य तथा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पदाधिकारीहरूसँग सुशासन कायम गर्नेबारे छलफल गर्नु आवश्यक भएको बताउनुभयो ।
माओवादीका सांसद पम्फा भुसालले द्रुतमार्गको लागि भारतको सतलज कम्पनीसँग सिमेन्ट खरिदको निर्णयसँगै पाँच प्रतिशत कमिसन खानेहरू भएको समाचार उल्लेख गर्दै द्रुतमार्गको ५५ अर्ब रूपैयाँको लागतलाई १७७ अर्ब रूपैयाँ पु¥याएको समाचारले आफू तीन रात सुत्न नसकेको बताउनुभयो ।
उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रको दुई नीति नै जनविरोधी भएको उल्लेख गर्दैै ७७ जिल्लामा अलग विश्वविद्यालय सञ्चालन गर्ने सेनाको समाचार पनि ठीक नभएको बताउनुभयो ।
नेकाका सांसद अमरेशकुमार सिंहले कार्यकर्ताहरूले आफ्नै नेता देउवा, ओली र दाहालसँग सुशासन खस्केको र भ्रष्टाचार बढेको बारे बोल्न नसकेको उल्लेख गर्दै नेता ठीक नभएसम्म सुशासन कायम नहुने विचार व्यक्त गर्नुभयो ।
प्रमहरूलाई सात बजेपछि भेट्नेहरू तस्कर र दलाल बढी भएको उल्लेख गर्दै उहाँले प्रमहरू आङ छिरिङ शेर्पाजस्ताका कार्यकर्ताजस्तै भएको र काठमाडौँ उपत्यकामा महँगो जग्गा खरिद गरी घर बनाउने बाहिरका थोरैको सोझो आम्दानी भएको बताउनुभयो ।
एमालेका सांसद नवराज सिलवालले तीन पुस्तालाई पुग्ने गरी सम्पत्ति कुम्ल्याउन पाउने कानुनी संरचना बदल्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *