भर्खरै :

इरान ः अर्को भियतनाम ¤

इरानले मङ्गलबार राति इराकस्थित संरा अमेरिकी आधार क्षेत्रमा हमला ग¥यो । इरानी सर्वोच्च नेता खामेनीले यो हमलालाई ‘संरा अमेरिकाको गालामा चड्कन’ को संज्ञा दिएका छन् । इरानी उच्च सैनिक नेता सोलेमानीको निर्मम हत्यापछि इरानले संरा अमेरिकासँग बदला लिनु स्वाभाविक छ । संरा अमेरिका भने यतिबेला आन्तरिकरूपमा विभाजित बनेको छ । जनरल सोलेमानीको हत्याको निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आवेग’मा लिएको भन्दै उनको चर्को आलोचना भइरहेको छ । इरानी नेताको हत्याको अर्थ युद्धको ललकार हो । युद्ध घोषणा गर्न संसदीय अनुमोदन आवश्यक पर्ने संरा अमेरिकी कानुनी व्यवस्थालाई समेत ट्रम्पले मिचेको आरोप लागेको छ । तथापि संरा अमेरिकी सुरक्षा विभागले मध्यपूर्वमा सेनाको सङ्ख्या भने थपेको छ । यसले लामो समयदेखि युद्धको शृङ्खला भोगिरहेको मध्यपूर्व अर्को ठूलो युद्धमा फस्ने सम्भावना देखिएको छ ।
सन् २०१५ को आणविक सम्झौतापछि इरान शान्तिको बाटोमा अघि बढिरहेको थियो । तर, संरा अमेरिकाको साम्राज्यवादी सरकारले आणविक सम्झौताबाट हात झिकेर इरानमाथि कडा नाकाबन्दी थोप¥यो । नाकाबन्दीका कारण इरानको अर्थतन्त्र कमजोर बन्यो । त्यही क्रममा आइलागेको प्राकृतिक प्रकोपले इरानलाई अझ कमजोर बनायो । अगाडि बढ्ने सबै बाटा बन्द भएपछि इरानले आणविक सम्झौतामा हस्ताक्षर गरेका देशहरूसामु या त सम्झौताको पूर्ण पालना सबैबाट हुनुपर्ने नभए सम्झौताका केही बुँदाबाट आफूले पनि हात झिक्ने घोषणा ग¥यो । इरानको यो घोषणा तर्कसङ्गत र न्यायपूर्ण थियो । संसारका सबै देश आफ्नो तखतमा बस्नुपर्ने साम्राज्यवादी सोच बोकेको संरा अमेरिकी नेतृत्व इरानलाई मध्यपूर्वमा प्रभाव विस्तार गर्न रोक्न चाहन्थ्यो । तर, संरा अमेरिकी हमला, हस्तक्षेप र कब्जाका कारण वाक्कदिक्क भइसकेका मध्यपूर्वका जनता उसको दासताको सिक्री तोड्न चाहन्छन् । संरा अमेरिकाले आतड्ढवादविरोधी युद्धको नाममा दोहोरो भूमिका खेलिरहेको सत्य मध्यपूर्वका देशहरूलाई थाहा छ । त्यसकारण उनीहरू अमेरिकी बदमासीबाट सदाको लागि मुक्ति चाहन्छन् । त्यसको निम्ति मध्यपूर्वका देश आपसमा एकढिक्का नभई सुखै छैन । आपसी विभाजनले मध्यपूर्वका देश र जनताले निकै दुःख भोगिसकेका छन् । समयले उनीहरूलाई सिकाएको बहुमूल्य पाठ त्यही हो ।
तर, अरब देशहरूलाई संरा अमेरिकाले लडाएर त्यहाँको तेल खानीलगायत प्राकृतिक स्रोत–साधन आफ्नो कब्जामा लिएको छ । आफूले भोग्दै आएको लुटको स्वर्ग त्याग्ने पक्षमा संरा अमेरिका छै्रन । आज मध्यपूर्वमा द्वन्द्वको मूल जरो यही हो । तर, आफ्नो स्वार्थको लागि संरा अमेरिकाले थोपरेको यो युद्ध कदापि न्यायपूर्ण होइन । लाखौँ लाख मानिसको रगतको होली खेलेर संरा अमेरिकाले मध्यपूर्वमा आज व्यापार गरिरहेको छ । आफ्नो निहीत स्वार्थको लागि अरू देशका जनतामाथि युद्धको पीडा थोपर्नु संरा अमेरिकाको अपराध हो ।
इराकी सरकारले आफ्नो भूमिमा कुनै पनि देशको विदेशी सेना स्वीकार्य नहुने भनी संरा अमेरिकी सेनालाई फिर्ता जान भनिसकेको छ । तर, संरा अमेरिकी रक्षा सचिवले इराकबाट आफ्नो देशको सेना नफर्किने घोषणा गरे । यो इराकी सार्वभौमिकतामाथि संरा अमेरिकाको हस्तक्षेप हो ।
संसारको इतिहासमा साम्राज्यवाद सधैँ पराजित भएको छ । इरानमा संरा अमेरिकाले युद्ध थोपर्नुको अर्थ अर्को भियतनाम जन्माउनु हो । भियतनाममा जसरी संरा अमेरिका पराजित भएर भाग्नुपरेको थियो, इरान र मध्यपूर्वबाट पनि भाग्ने दिन अब नजिकिएको छनक विस्तारै देखिंदैँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *