हेमन्त केसी
जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुसी लागेको छ । सामाजिक कुरीतिको रूपमा रहेको छाउगोठ बस्ने प्रचलन खड्काले आमाबाट सिक्नुभएको थियो ।
पुस्ता हस्तान्तरणजस्तै गरी कुसंस्कार पनि आमाबाट छोरी, छोरीबाट नातिनीसम्म पुग्ने गरेको छ । अहिले सुमित्राजस्तै गाउँका अधिकांश महिला छाउगोठ भत्काएर विगतको कुसंस्कारलाई सधैँका लागि अन्त्य गर्ने योजनामा छन् । गाउँमा पढेलेखेका युवा यो अभियानमा लागे पनि अघिल्लो पुस्ता भने छाउगोठ भत्काउने अभियानमा सक्रियताका साथ सहभागी भएको देखिएको छैन । अघिल्लो पुस्ताले अझै देवता रिसाउने र अनिष्ट हुने भन्दै झिना स्वर उठाउँदै आएका छन् ।
शिक्षित परिवारकै घरमा छाउगोठ भत्काइए पनि घरभित्रको चुलो पूजास्थलमा भने महिनावारी हुँदा जान पाइँदैन । “शिक्षकहरूले विद्यालयमा छाउलाई कुप्रथा भन्दै कक्षाकोठामा पढाउँछन् तर घरमा जाँदा छोरी, बुहारी र श्रीमतीलाई महिनावारी हुँदा सात दिनसम्म मूल कोठाको प्रवेशमा रोक लगाउँछन्, अनि कसरी हुन्छ परिवर्तन ?” जुनिचाँदे –७ का रामबहादुर खड्काले भन्नुभयो ।
उहाँले भन्नुभयो, “आत्मादेखि हाम्रा सोच, विचार र संस्कारहरू बदल्न जरुरी छ, शिक्षक आफँै धामी छ, दैनिक छिमेकीको घरमा देवता निकालेर बिरामीलाई भूत, प्रेत र बोक्सी लागेको भन्दै हिँड्छ ।”
जिल्ला प्रशासन कार्यालयले छाउ बस्ने र बस्न बाध्य पार्नेलाई सरकारी सेवासुविधा रोक्ने भन्दै सदरमुकाममा प्रचार गरे पनि त्यो सूचना गाउँगाउँमा पुग्न सकेको छैन । छाउगोठ भत्काउन सुरु गरिए पनि मानिसभित्र रहेको चेतना परिवर्तन नभएसम्म महिनावारी हँुदा भान्सा बस्न नपाउने तथा दूध, दही, मही, घ्यू खान नपाउने अवस्था ज्यूँका त्यूँ रहन्छ । अहिले पनि छाउगोठ भत्किए तर नागरिकका चेतना परिवर्तनका लागि भत्किएका छैनन् । अहिले पनि महिलाले दुःख पाइरहेका छन् । जिल्लाका अन्य ठाउँमा छाउगोठ नभए पनि महिनावारी हुँदा आगो बाल्ने चुलोसम्म जान नपाउने अवस्था विद्यमान छ ।
देवता रिसाउने भन्दै मूल चुलो भएको कोठा र देवताका ध्वजा, पताका भएको ठाउँमा महिनावारी भएको समयमा जान नपाउने अवस्था निरन्तर चलिरहेको डोल्पा मुड्केचुला गाउँपालिका–८ का विष्णु सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाममा हल्ला गर्दैमा ग्रामीण क्षेत्रमा सबै परिवर्तन हुँदैन, हाम्रो ठाउँमा कसले सचेतनाका कार्यक्रम गर्छ र सबैले थाहा पाऊन् ?” उहाँजस्तै अधिकांश गाउँका महिला पुरुषका कारण हेपिएका छन् । उनीहरूले सामाजिक कुसंस्कारको रूपमा रहेको परम्परालाई तोड्न खोज्दा अलच्छिना भनेर पगरी गुथाई अपहेलना गरिएको पञ्च भयार मावि नलगाड नगरपालिका–८ की शिक्षिका नन्दा शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “परम्पराको नाममा ठूलो ज्यादती रहेको छ, गोठ भत्काएको खबर त सुनियो तर मनमा विगतदेखि पत्थर भएर बसेको परम्परालाई मनबाट हटाउन जरुरी छ ।”
राज्यको मात्र दायित्व नभई सबै सचेत नागरिकले समाजमा भएका गलत मान्यतालाई हटाउनका लागि सङ्गठित भएर लाग्नुपर्ने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । उहाँका अनुसार जनयुद्धमा समेत यस्ता खालका विकृति हटाउने सबै खालका कारबाही गरिएको थियो, सो समयमा छाउगोठ बस्ने, छुवाछूत व्यवहार हटाउनका लागि जनकारबाहीसम्म गर्ने गरी यसको न्यूनीकरण गरिएको थियो । उहाँले अहिले समाज खुला भएकोले जसले जे गरे पनि मतलब नभएको गुनासो गर्नुभयो । “कुसंस्कारको विरुद्धमा बोल्ने सबैजना सङ्गठित भएर गलत संस्कारका विरुद्ध एकजुट भई लागे यस्ता खालका गतिविधि शून्यमा झार्न सकिन्छ”, उहाँले भन्नुभयो । जाजरकोट र डोल्पाका अधिकांश गाउँमा अहिले पनि सञ्चारमाध्यमको पहुँच नहुँदा त्यहाँ सचेतनाका कार्यक्रमले छुन सकेको छैन ।