भर्खरै :

विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक

विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक

भक्तपुर, ८ जेठ । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको आयोजनामा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले भन्नुभयो, “मानिसले पहिलो श्रम गरेको जङ्गली अवस्थामा शिकार खेलेको भनिन्छ । त्यसयता पशुपालन, कृषि हुँदै उद्योग र व्यापारसम्म मानिस पुगेको हो ।”
डाक्टर, इन्जिनियर, पत्रकार, कवि, कलाकार, वकिल, शिक्षक–प्राध्यापक सबै बौद्धिक मजदुर भएकोले सबैले श्रमलाई सम्मान गर्नु जरूरी भएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “विज्ञानले संसारमा पत्ता लगाउन नसक्ने केही नभएको बताउँछ भने अन्धविश्वासले संसार रहस्यको विषय बताउँछ । एउटा खास अवस्थामा पदार्थको गुण बदलिएजस्तै मात्र समाज पनि पुरानोबाट नयाँतर्फ विकास हुन्छ ।”
निर्वाचन प्रजातन्त्रको एउटा प्रक्रियामात्र भएको धारणा राख्दै सचिव सुवालले भन्नुभयो, “निर्वाचनले मानिसको समस्या समाधान गर्न सक्दैन । प्रजातन्त्रले आर्थिक र सामाजिक समानता दिनु जरूरी हुन्छ । नेपालको निर्वाचनमा पनि विद्युतीय मेसिनबाट मतदान र अनलाइन मतदानसम्बन्धी कानुनी मस्यौदा भइरहेको छ । भारत र संरा अमेरिकामा विद्युतीय मेसिनबाट मतदान र अनलाइन मतदान पनि धाँधली भइरहेको सार्वजनिक भयो । यसबारे नेपाली जनता सचेत हुनु आवश्यक छ ।”
“विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक छ । उत्पादनका साधनहरू सामाजिकीकरण नभएसम्म श्रम गर्नेहरूको पारिश्रमिक पुग्दो व्यवस्था सम्भव हुँदैन”, उहाँले थप्नुभयो ।
भक्तपुर नगरपालिकालाई नर्सिङ विषय अध्यापनको अनुमति प्राप्त गर्न बीस वर्षअघिका विद्यार्थीहरूले सीटीईभीटीमा धर्ना बसेर आन्दोलन गर्नुपरेको उहाँले स्मरण गर्नुभयो ।
विद्यार्थीहरूलाई ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका नर्सिङ विभागीय प्रमुख ईश्वरी डंगोललगायतले मार्गनिर्देशन गर्नुभएको थियो । विद्यालयका प्राचार्य बदनकेशरी प्रजापतिले पनि बोल्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा अध्ययन गर्दाको अनुभव राख्नुभएको थियो ।
शिक्षक पुरूषोत्तम सुवाल, मनिता थापा र अन्जना कुम्पाखले कार्यक्रममा गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूलाई हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘मार्गनिर्देशनबारे भाइबहिनीलाई चिट्ठी’ पुस्तिका वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *