भर्खरै :

ट्रम्पको घातक निर्णय

 वाङ लिनकोङ्ग
इरानी सैनिक कमान्डर कासिम सोलेमनीको हत्यालाई लिएर बितेका केही दिनमा संरा अमेरिका र इरानबीच तनाव तीव्रगतिमा बढिरहेको छ । दुई देशबीच कुनै पनि बेला हानाहान हुने अवस्था बनेको छ । इरान र संरा अमेरिकाबीचको तनाव नियन्त्रणभन्दा बाहिर गए परिणाम के होला ? यतिबेला संसारभरकै सबभन्दा ठूलो चिन्ताको विषय यही बनेको छ ।
केही जानकारहरू दुवै पक्षको प्रतिरोध युद्धको पृष्ठभूमि भएको बताउँछन् । तर, इरान र संरा अमेरिकामध्ये कसैले पनि युद्धको थालनी गर्ने छैनन् । तथापि स्थानीय स्तरमा हुने तनावले नै अन्ततः युद्धको रूप नलेला भन्न सकिंदैन ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका उच्चपदस्थ सैनिक अधिकारीको हत्या गर्ने यस्तो कडा निर्णय लिनु पछाडिका दुई मूल कारण छन् । पहिलो, संरा अमेरिका मध्यपूर्व, त्यसमा पनि विशेषतः इराकमा इरानी प्रभावलाई कम गर्न खोजिरहेको छ । मध्यपूर्वमा आफूले गुमाएको पहिलेको प्रभाव फिर्ता गर्न नै संरा अमेरिकाले सोलेमनीको हत्याको निर्णय गरेको हुनसक्छ । तर, यस्ता कामले संरा अमेरिकाले सोचेजस्तो परिणाम भने आउने छैन ।
इरान र इराक आपसमा भौगोलिकरूपमा मात्र जोडिएका छैनन्, बरू धार्मिक र राजनीतिकरूपमा पनि दुई देश एकअर्कोसँग नजिकबाट जोडिएका छन् । इराकका ६० देखि ७० प्रतिशत जनता सिया मुसलमान छन् । इराकको पपुलर मोबिलाइजेसन फोर्स इरानसँग नजिकबाट गाँसिएको छ ।
त्यसकारण इराकमा इरानी प्रभाव बहुआयामिक छ । वस्तुतः मध्यपूर्वबाट इरानको प्रभाव पूर्णरूपमा निर्मुलन गर्न संरा अमेरिकाको लागि असम्भव हुन्छ ।

संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका उच्चपदस्थ सैनिक अधिकारीको हत्या गर्ने यस्तो कडा निर्णय लिनु पछाडिका दुई मूल कारण छन् । पहिलो, संरा अमेरिका मध्यपूर्व, त्यसमा पनि विशेषतः इराकमा इरानी प्रभावलाई कम गर्न खोजिरहेको छ । मध्यपूर्वमा आफूले गुमाएको पहिलेको प्रभाव फिर्ता गर्न नै संरा अमेरिकाले सोलेमनीको हत्याको निर्णय गरेको हुनसक्छ । तर, यस्ता कामले संरा अमेरिकाले सोचेजस्तो परिणाम भने आउने छैन ।

दोस्रो कारण, ट्रम्प आफ्नो देशका जनताको ध्यान अन्यत्र मोड्न खोजिरहेका छन् । यतिबेला ट्रम्प संसदमा महाभियोगको सामना गरिरहेका छन् । साथै कोरिया र इरानी आणविक मुद्दा सही तरिकाबाट सम्हाल्न नसकेको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ । इरानका एक जना उच्चपदस्थ सैनिक अधिकारीलाई मारेर उनी आफ्नो कडा नीति आफ्ना जनतासामु देखाउन खोजिरहेका छन् ।
तथापि आवेगमा निर्णय गरेको भन्दै ट्रम्पको चर्को आलोचना पनि भइरहेको छ । सोलेमनीको हत्याले संरा अमेरिकालाई अर्को ठूलो खतरामा धकेलेको छ । संरा अमेरिकाले खाडी क्षेत्र, विशेषतः इराकमा अमेरिकी सेना परिचालन गरेको छ । इरानको धम्कीबीच सतर्कता बढाएको छ । यस्तो परिस्थितिमा सोलेमनी हत्याको प्रभाव संरा अमेरिकाले सोचेभन्दा निकै भिन्न हुनेछ ।
सतहमा हेर्दा ट्रम्पको मध्यपूर्व नीति रणनीतिकरूपमा मध्यपूर्वबाट पछि हट्न खोजेजस्तो देखिन्छ । तर, व्यवहारमा संरा अमेरिका सो क्षेत्रको जञ्जालमा भित्रसम्म फसेको छ । मध्यपूर्वबाट पछि फर्कने आफ्नो लक्ष्य ट्रम्पले पूरा गरेका छैनन् । बरू उनले त्यहाँथप सेना परिचालन गरेको र थप लडाइँको सम्भावना बढाएको छ ।
इरानले स्वाभाविकरूपमा बदला लिने छ । संरा अमेरिकाले गरेका कामले इरानसँग उसको सम्बन्धमा स्पष्ट असर पार्ने नै छ । दुईपक्षीय सम्बन्ध बिग्रनु र आपसी द्वन्द्व बढ्दै जानुको विकल्प छैन ।
इजरायललाई छोडेर मध्यपूर्वका अरू सबै देशहरू संरा अमेरिका र इरानबीचको मल्ल युद्धप्रति निकै सावधान छन् । उनीहरू सोलेमनीको हत्याको प्रभाव युद्धमा अनुवाद हुनसक्नेमा सजग छन् । संरा अमेरिकाको अधिकतम दबाब र इरानको अन्तिम तहसम्मको प्रतिरोधको निकै पातलो सन्तुलन यो घटनासँगै तोडिन सक्छ ।
मध्यपूर्वको सबभन्दा महत्वपूर्ण सहयोगी देश इजरायलले संरा अमेरिकाको पक्ष लिएको छ । तर, यदि अवस्था खराब बन्दै गए सबभन्दा घातक प्रभाव आफ्नो देशमाथि पर्ने विषयमा इजरायल निकै सजग छ । त्यही भएर घटनाक्रमको पछिल्लो विकासलाई ध्यानमा राखेर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आफ्नो ग्रीस भ्रमण छोट्याएर स्वदेश फर्केका छन् ।
इरान र संरा अमेरिकाबीचको यो द्वन्द्वमा निःसन्देह इजरायलले सहयोग गरेको हुनसक्छ । तथापि यतिबेला इजरायलले सिरिया र लेवनानबाट हुनसक्ने सम्भावित हमलाबाट आफूलाई जोगाउनुपर्छ र मध्यपूर्वमा इरानको प्रभावलाई न्युनाङ्कन गर्न हुँदैन ।
लेखक चिनियाँसामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिम एसिया र अफ्रिका अध्ययनका अध्येता हुनुहुन्छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *