भर्खरै :

बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन खोज्दा विवाद

– प्रकाश अधिकारी
सुर्खेत, २४ पुस । वीरेन्द्रनगरस्थित सुर्खेत सिटी बसपार्क व्यवस्थापनको विषयलाई लिएर व्यवसायी र नगरपालिकाबीच विवाद बढेको छ । नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीलाई सुम्पिने तयारी गरेपछि सोही स्थानमा निर्माण पूर्व व्यवसाय गरिरहेका व्यवसायीहरू अदालत पुगेका छन् । नगरपालिकाले पूर्वसहमतिको पालना नगरेको भन्दै ती ५४ व्यवसायीले बोलपत्र प्रक्रिया रद्द गर्न उच्च अदालत, सुर्खेतमा रिट दायर गरेका हुन् ।
दुवै पक्षको बहसपछि उच्च अदालतले वीरेन्द्रनगर नगरपालिकालाई व्यवस्थापन प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । पुरानो बसपार्कमा व्यवसाय गरिरहेका निवदेकहरूले नगरपालिकाका प्रमुख देवकुमार सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाललाई विपक्षी बनाई अन्तरिम आदेशसहितको उत्प्रेषणयुक्त परमादेश जारी गरी पाऊँ भनी पुस १३ गते रिट दायर गरेका थिए । सोमबार उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नित्यानन्द पाण्डे र सुदर्शनदेव भट्टको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।
बसपार्क टोल विकास संस्थाका अध्यक्ष इन्द्र थापाले बसपार्क क्षेत्रमा लामो समयदेखि भाडा तिरेर व्यवसाय गर्दै आएका व्यवसायीको पहलमा बसपार्क निर्माण भएको स्मरण गराउँदै नगरपालिकाले आफूहरूलाई बेवास्ता गरेपछि अदालत जानुपरेको बताउनुभयो । उहाँका अनुसार बसपार्क निर्माणमा संस्थाको रु. ५४ लाख साझेदारी छ । उहाँले भन्नुभयो, “बसपार्क निर्माण भएपछि हामीलाई प्राथमिकता दिने सहमति थियो, अहिले उक्त सहमतिबाट नगरपालिका पछि हट्न खोजेपछि समस्या निम्तियो ।” त्यस्तै, रिट निवेदकका तर्फबाट बहस गर्नुभएका अधिवक्ता नन्द भण्डारीले नयाँ बसर्पाकमा भोगाधिकार, लगानी र अग्राधिकारका हिसाबले पहिलो हक पुराना व्यवसायीकै हुने बताउनुभयो ।
विसं २०६८ असार ३ गते नगरपालिका र व्यवसायीसहितको सर्वदलीय बैठकले साबिकको पुरानो बसपार्कमा व्यापार गरिरहेकालाई बसपार्क निर्माणपश्चात् व्यापार–व्यवसाय गर्न दिने सहमति भएको थियो । उक्त सहमतिपत्र र बसपार्क निर्माणमा आर्थिक साझेदारीको विषयलाई लिएर व्यवसायी अदालतसमक्ष पुगेका हुन् । नगरपालिकाद्वारा सूचिकृत व्यवसायीलाई प्राथमिकता दिई आन्तरिक प्रतिस्पर्धाबाटै बोलपत्र आह्वान गर्न व्यवसायीको माग छ ।
यही २०७६ असोज ११ गते नगरकार्यपालिका बैठकले बसपार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत गर्दै त्यसका लागि मंसिर १६ गते बोलपत्र आह्वान गरेको थियो । पुस २० गते खोलिएका बोलपत्रमध्ये नगरपालिकाले सबैभन्दा बढी मासिक रु. ३१ लाख राजस्व तिर्ने फर्म स्वीकृत गरेको थियो । बसपार्क सञ्चालन गर्नेले ५४ सटर, ग्यारेज, रेष्टुरेन्ट भाडाका साथै प्रवेश र पार्किङ्गलगायतका शुल्क उठाउन पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *