भर्खरै :

दुईदलीय तानाशाही जनतालाई सह्य छैन

– आर. के. श्रेष्ठ, नारायणगढ
आज देश साँढेको जुधाइ बाच्छाको मिचाइझैँ भइरहेको छ । निर्वाचनमा ढाँटेर, छलेर, ललाइ, फकाइ, डर, त्रास, भोज, भतेर र पैसा बाँडेर सोझा सीधा जनताको मत लुटेर राजनीतिको नाममा शासकहरूले शासन गर्दै छन् । वास्तवमा राजनीति भनेको देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नु हो । आज ठूला दलको नाममा पुँजीवादी पार्टीहरूले मजदुर र किसानको रगत पसिनामा दाइँ गरेका छन् । देशको सार्वभौमिकता र स्वाधीनतामाथि नै खलल पुग्ने गरी रजाइँ गरेको स्थिति छ ।
राजनीतिक दल सिद्धान्त, विचार र नैतिकतामा चल्दछ । नेका र नेकपालाई कुनै विचार, सिद्धान्त र नैतिकता आवश्यक पर्दैन । चुनावको बेला राजावादीसँग पनि मिल्छ र मधेसवादीसँग पनि मिल्छ । यसरी नै नेकपा आज शक्ति बटुल्न प्रथम भएको छ भने नेका दोस्रो शक्ति बनेको छ । दुई शक्ति मिलेर पालैपालो देश लुट्दै छ ।
सिद्धान्त र विचारलाई परै राखी निर्वाचनमा जित्नेलाई मत दिने सङ्कीर्ण सोच राखी यिनीहरूले जनतामाझ जालझेल गरेका थिए । सोझा जनता त्यसैका पछि लागे । यसले पुँजीवादी पार्टीलाई शासन गर्न थप बल पुग्यो ।
बेइमानीहरूले आफू शक्तिमा पुग्नको निम्ति एक माथि अर्को झूट बोलिरहेका हुन्छन् । जनतालाई पनि दिग्भ्रमित पारिरहेका हुन्छन् । कामदार जनताको राजनैतिक पार्टी सत्तामा नआएसम्म झूटहरूले नै शासन गरिरहन्छन् । कामदार जनताको पार्टीलाई खतम गर्न, माथि उठ्न नदिन शासकहरू जालझेल गरिरहन्छन् । आज यस्तै जालझेल नेकपा र नेकाले जनतामाझ गर्दै छन् ।
आज भोलि राष्ट्रिय दैनिक पत्रिकाहरूमा ठूला दलहरूकै बेमेलहरू, झै–झगडा र नेतृत्व तहबाट नै अमर्यादित कामहरू भइरहेको मुख्य समाचारको रूपमा हेर्न बाध्य छौँ । पदीय भागबन्डा, दलीय भागबन्डा, भ्रष्टाचार र देशलाई नै लुछाँचुँडी गरी खाने आन्तरिक झै–झगडा व्यापकरुपमा जनताले पत्रपत्रिका र टेलिभिजनमा देख्न र पढ्न पाइरहेका छन् । केन्द्र, प्रदेश हुँदै स्थानीय तहसम्म पुँजीवादी शासक पार्टीहरूको नाङ्गो नाच सोझा जनता सहन विवस छन् ।
पक्कै पनि यी दुई दलको राजनैतिक खिचातानी र देशमाथिको अखडा अब जनतालाई स्विकार्य हुँदैन । ठूला दलको नाममा दुईदलीय तानाशाही सहन सक्दैन । अब त अति भयो । जनताले विकल्प खोज्नैपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *