भर्खरै :

सही बोलेको कारण हत्या दण्डहिनताको पराकाष्ठा

जथाभावी प्राकृतिक स्रोत दोहनको विरोध गर्दै आएका धनुषा जिल्लाको मिथिला नगरपालिकाका २४ वर्षीय युवक ओमप्रकाश महतोको हत्याले नाफा र आफ्नो स्वार्थसिद्ध गर्न पुँजीपति वर्ग कति निर्मम र हिंसात्मक हुनसक्छ भन्ने वास्तविकता छर्लङ्ग बनाएको छ । प्राकृतिक स्रोत सम्पदाको जथाभावी अवैध दोहन गर्दा मानव बस्ती र प्रकृतिमा पर्ने प्रतिकूल प्रभावबारे सचेत युवकले स्थानीय व्यापारीले बालुवा र गिट्टीको जथाभावी दोहन गरिरहेकोमा विरोध गर्दै आएका थिए । त्यही कारण शुक्रबार उनको हत्या हुनु निकै खेदजनक घटना हो । समाजको हितको निम्ति केही असल गर्ने भावनाले उठाइएको आवाज दबाउने समाजका केही स्वार्थी र बदमासहरूको हिंसात्मक व्यवहार कुनै मूल्यमा पनि स्वीकार्य हुनसक्दैन । महतोको हत्यारालाई तत्काल गिरफ्तार गरी कडा कारबाही गर्नुपर्छ ।
सामान्यतः यस्ता अवैध धन्दा चलाउने बदमास व्यापारीको प्राण अन्ततः शासक दलसँग जोडिएको हुन्छ । खासमा शासक दलको संरक्षण र ढाडसकै कारण उनीहरू एकातिर अवैध धन्दा चलाउने हिम्मत गर्छन् भने अर्कोतिर त्यस्ता गलत धन्दाको विरोधमा उठ्ने आवाजलाई दबाउने गर्छन् । राज्यले नै त्यस्ता अपराधीलाई संरक्षण गर्ने कुरा रौतहटमा इँटा भट्टामा जिउँदो मान्छे कोच्ने अफताब आलमजस्ता जघन्य अपराधी सांसद र मन्त्रीसमेत बनेको इतिहासबाट पुष्टि हुन्छ । राजनीति जबसम्म यस्ता अपराधीको मैदान बन्ने गर्छ, तबसम्म राजनीति सफा हुनसक्दैन । फोहोर राजनीतिले कदापि पनि देशलाई सही बाटोमा डो¥याउन सक्दैन ।
प्राकृतिक स्रोत साधनको अवैध र जथाभावी दोहन तराईको मात्र होइन, सिङ्गो नेपालको समस्या हो । यसले मानव बस्ती र प्रकृतिमा अनेकन प्रतिकूल असर पारिरहेको छ । एकातिर सिङ्गो पृथ्वीको जलवायुमा भइरहेको परिवर्तन र अर्कोतिर स्थानीयरूपमा स्रोतसाधनको अवैध दोहनले हाम्रा मानव बस्तीमा प्राकृतिक प्रकोपको खतरा दिनानुदिन बढिरहेको छ । अतिवृष्टि, अनावृष्टि, खडेरी, डढेलो, मरुभूमकीरणजस्ता समस्या विकराल बनेका छन् । अनि बाढी–पहिरोले धेरै नेपालीको धनजनको बर्सेनि विनाश भइरहेको छ । चुरे विनास हुँदा नेपालको तराईको पर्यावरण र सामाजिक जीवनबारे धेरै अघिबाटै चिन्ता र चासो व्यक्त भएको हो । तर, सरकारले आजसम्म चुरे क्षेत्रमा हुने गरेको अवैध प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गर्न सकेको छैन ।
शुक्रबार बिहान हत्या गरिएका महतो प्राकृतिक स्रोतमाथि लोभी र बदमास व्यापारीहरूको लुटपाटको विरोधमा उभिएका सचेत नागरिक हुन् । वास्तवमा सरकारले गर्नुपर्ने काम उनले आफ्नो तहमा गरिरहेका थिए । तर, आफ्नो नाफामा असर पर्ने भएपछि व्यापारीहरूले उनको हत्या गरे । महतोका हत्यारालाई कडा कारबाही हुनुपर्छ । कदाचित राजनीतिक दबाब वा कुनै पनि खालको सत्ताको निकटताको कारण अपराधीले छुट पाउने अवस्थामा भविष्यमा नेपाली समाज सत्य बोल्न डराउने छ । सही कुरा गर्दा मारिने भयले मानिस मौन बस्न रुचाउने छन् । मौनताको संस्कृतिले समाजमा अझ दण्डहिनता बढाउने छ । सत्यको पक्षमा बोल्न उत्साहित गर्ने लोकतान्त्रिक संस्कारको हत्या सत्यको घाँटी रेट्ने बिन्दुबाट हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *