काठमाडौँ । ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनः स्थापना अभियान र नेवाः राजनीतिक अभियानले भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा ठमेलको ऐतिहासिक सम्पदा कमलपोखरी गैरकानुनी तरिकाले मासेर बनाइएको छायादेवी भवन निर्माणसम्बन्धी जानकारी दिने उद्देश्यले सोमबार पत्रकार सम्मेलनको आयोजना गरे ।
पत्रकार सम्मेलनमा कमलपोखरी पुनःस्थापना अभियानका अध्यक्ष भागवतनरसिंह प्रधानले गुठियारहरूलाई गुठीको चलअचल सम्पत्तिको लेनदेन र बेचबिखन गर्ने अधिकार नभएको हुँदा उनीहरूले गरेको मिलापत्र बदर गरी छायादेवी कम्प्लेक्सको भवन भत्काएर ऐतिहासिक कमलपोखरी कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
छायादेवी कम्प्लेक्स भवन बन्नुअघि र बनिसकेपछि भइरहेको गतिवधिको चर्चा गर्नुहुँदै उहाँले गुठीको जग्गा व्यक्तिको नाममा दर्ता नहुने, सार्वजनिक जग्गा दर्ता भए पनि स्वतः बदर हुने कानुनी प्रावधान भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “विसं १९७८ मा केयुर शमशेरका बुबा केशर र २०२६ मा केयुर शमशेरले गुठीको पोखरी भनी स्वीकारेका छन् । पोखरीमा मोही लाग्ने कानुनी प्रावधान छैन, संस्कृतिसँग सम्बन्धित धार्मिक एवम् सार्वजनिक जग्गा कुनै व्यक्तिको नाममा दर्ता गर्न नहुने व्यवस्था छ ।”
अध्यक्ष प्रधानले थप्नुभयो, “मिलापत्र गरिसकेपछि २०६३ मा किनं १६१८ किनं २४१२ मा परिवर्तन गरी अम्बिका राणाको हाउजिङ कम्पनी सुरेशायको नाममा नामसारी गरिएको हो । किनं १६१६ र किनं १६१७ दाजु शङ्करप्रसाद शाह र बहिनी अम्बिका राणाको हाउजिङ्ग कम्पनीको नाममा नामसारी गरिएको सो पाखेरी आफ्ना नातेदार हिमालय शमशेर राणाकी छोरी तथा पृथ्वीबहादुर पाँडेका श्रीमती प्रतिमा राणा पाँडेको नाममा नामसारी गरेको देखिन्छ ।”
अभियानका सल्लाहकार शाक्य सुरेनले सही कुराको सही आवाज उठाएकै कारण छायादेवी कम्पनीमा ‘भूकम्प’ गएको उल्लेख गर्नुहुँदै सबै मिलेमा न्याय पाउने विश्वास व्यक्त गर्नुभयो । सरकारले उक्त स्थानमा कमलपोखरी नै कायम गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
ठमेलका स्थानीय पञ्चलाल महर्जनले सार्वजनिक सम्पत्ति लुट्ने, ठग्ने र छलकपट गरेर लालपुर्जा बनाउने कार्यको निन्दा गर्नुभयो ।
स्थानीय नरेश श्रेष्ठले कला, संस्कृति र सम्पदा नष्ट गर्नेमाथि तत्काल कारबाही नभए कसैले टुँडिखेल र रत्नपार्कको जग्गा पनि कब्जा गर्न बेर नलगाउने बताउनुभयो ।
पत्रकार सम्मेलनका सभापति श्रीकृष्ण मानन्धरले सम्पदा जोगाउन छायादेवी कम्प्लेक्स भवन भत्काएर कमलपोखरी बनाउने दबाबमूलक कार्यक्रममा सञ्चारकर्मीले पनि साथ दिने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनमा सञ्चारकर्मीहरूले राखेका विभिन्न जिज्ञासाको जवाफ पोखरी पुनः स्थापना अभियानका सचिव प्रेमराज शिल्पकारले दिनुभएको थियो । दलाल, भू–माफिया, भ्रष्ट कर्मचारीहरूको मिलेमतोमा सरकारबाटै सम्पदा नष्ट हुँदै गएकोमा आयोजकहरूले चिन्ता व्यक्त गरे ।
स्मरणीय छ, परापूर्वकालदेखि विहारको पूजा, जात्रा पर्व चलाउँदै आएको उक्त ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वको कमलपोखरी विसं १९७७ मा श्री ३ चन्द्र शमशेर राणाका छोरा केशर शमशेरले आफ्नो दरबारको शोभा बढाउन दरबारको कम्पाउण्डभित्र पारेका थिए । २०४७ मा उक्त पोखरीको किनं १६१६, १६१७ र १६१८ लाई रैतानीमा परिणत गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *