भर्खरै :

थारु बस्तीमा माघीको रौनक

– मेनुका चौधरी
धम्बोझी, २९ पुस । “माघी लइली सिखार खेली सखिय हो, माघकी पिलीगुडी जाँड…¤” पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ को उल्लासमय वातावरण उनीहरूको घरआँगन तथा गाउँबस्तीमा छाएको छ । आफ्नो वर्षभरिको दुःख, पीडा बिर्सदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिँगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छपक्कै छोपेको छ ।
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर दाङलगायत २४ जिल्लामा थारुहरूको घर–आँगनमा यतिबेला ‘माघी लइली सिखार खेली सखिय हो, माघकी पिलीगुडी जाँड…¤’ भन्ने गीत सबैको मुखमा झुण्डिएको छ । यो गीत थारू फिल्म कमैयाको हो । यो थारु लोकभाका पनि हो । माघी पर्वमा विशेषगरी पाहुनाले खाने रक्सी र बङ्गुरको मासु हो । जति मीठो बनायो, उति पाहुना खुसी हुन्छन् । माघीमा बङ्गुरको मासु, दारु, तरुल, ढिक्री, घुङ्गी, गन्जी (सखरखण्ड) थारु समुदायको विशेष परिकार हो । माघीमा रक्सी नखाए देउता रिसाउने कथन छ । बच्चादेखि बुढाबुढीले समेत चाख्नैपर्ने थारु अगुवाको भनाइ छ ।
विधिवत् रूपमा पुस २९ गतेबाट सुरु हुने यो पर्वको तयारी थारु बस्तीमा सुरु भइसकेको छ । माघी पर्व तयारीमा थारु समुदायले अहिले अन्नपात कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको पाइन्छ । यो पर्वका अवसरमा थारु समुदायले छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नुका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत गर्दछन् ।
माघीको अघिल्लो रात सँगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ । त्यसरात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्दछन् । माघे सङ्क्रान्तिका दिन विशेष गरी थारू समुदायमा बिहानै उठेर नजीकैको नदी, तलाउमा गई नुहाइ आफू भन्दा ठूलाबाट आशीर्वाद लिने चलन छ । माघीको अवसरमा विवाहित छोरी चेलीलाई (निश्राउ) चामल, नून, तेल, बेसार लगायतका खाद्यान्नबाट तयार पारिएको परिकार दिने परम्परा छ । जसलाई थारु भाषामा ‘उपहार’ भनिन्छ ।
थारू समुदायमा यो पर्वमा विशेष गरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सँगुरको मासु, माछा, गङ्गोटालगायतका स्थानीय खानाका परिकारलाई महत्व दिने गर्दछन् । थारू समुदायका विभिन्न लोक संस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । यो प्रक्रिया माघ महिना भर चल्ने भए पनि पछिल्लो समय भने एक÷दुई दिनमा सीमित हुन थालेको छ ।
कामको सिलसिलामा युवाहरूले गाउँ छोड्नुपर्ने बाध्यताका कारण यो पर्व दुईचार दिनमै सीमित हुने गरेको बताइएको छ । थारु समुदायमा माघी पर्व र नयाँ वर्षलाई मनाउने शैली फेरिन थालेको छ । माघी सुरु भएदेखि १०÷१५ दिनसम्म घरघरमा गएर मघौटा, धमार, झुमा नाच प्रदर्शनी गर्ने परम्परा भन्दा अहिले रमाइलो मेलाका माध्यमबाट स्टेज कार्यक्रम युवाको प्राथमिकतामा पर्ने गरेको छ । मघौटा, धमार, झुमा नाचलाई घरघरमा गएर प्रदर्शन गर्ने परम्परा भने बुढापाकामा मात्रै सीमित हुन थालेको छ । यस वर्ष पनि बर्दियाका विभिन्न स्थानमा माघीलाई लक्षित गरी महोत्सव र रमाइलो मेला आयोजना गरिएका छन् । मेलामा युवाको आकर्षणसमेत राम्रो देखिन्छ ।
नयाँ वर्ष र माघी पर्वलाई विशेष रूपमा मनाएको दोस्रो दिन अर्थात माघ २ गते गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यसदिन छलफलका माध्यमबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ । जसलाई भलमन्सा र गुरुवा भनिन्छ । उनीहरूले गाउँको रक्षा गर्ने, अपठ्यारो परिस्थितिमा उचित निर्णय दिने, न्याय दिनेलगायतका कामहरू गर्दछन् । भलमन्सालाई नेतृत्वका रुमा लिइन्छ भने गुरुवालाई पूजारीका रूपमा लिइन्छ । यति मात्र हैन, राजनीतिमा पनि उनीहरूको महत्वपूर्ण भूमिका हुन्छ । निर्वाचनका क्रममा थारु समुदायका भलमन्सा र गुरुवाहरूले दिने निर्णय नै आधिकारिक हुने भएका कारण सबै दलले गुरुवा र भलमन्सालाई विशेष रूपमा हेर्ने गरेका हुन्छन् ।
आफ्नो भाषा संस्कृति र पहिचानको संरक्षण र सम्वद्र्धन गर्न वकालत गरिरहेको तप्काले अहिले माघ र माघीबारे बहस चलाउँदै छन् । माघ वा माघे सङ्क्रान्ति मनाउने समाजमा माघी कहाँबाट भित्रियो, सोचनीय विषय छ । थारुहरूले प्रयोग गर्ने मैलिक शब्द नेपालीकरण गरेको यो पहिलो पटक होइन् । थारुहरूको मौलिक शब्दका गाउँका नाम परिवर्तन गरिने पुरानै परिपाटी छ । जस्तो थारुगाउँका नाम घोरीघोरा घोडाघोडी हुनु, पिर्ठीपुर पृथ्वीपुर हुनु, रानामुरा रानामुडा हुनु जस्ता थुप्रै उदाहरण छन् । त्यस्तै थारुहरूको बरघरलाई बडघर भन्नु र लेख्नु अर्को उदाहरण हो ।
त्यसकै निरन्तरता हो माघलाई माघी बनाइनु । थारुका ठेट र मौलिक शब्द परिवर्तित हँुदै जानु थारु भाषामाथिको प्रहार हो । हेर्दा सामान्य लाग्छ, माघलाई माघी भन्यो, बरघरलाई बडघर भन्यो । तर, यी शब्द केवल शब्द मात्र होइनन् । यी शब्द भनेका थारुका पहिचानसँग जोडिएका विषय हुन् । यी शब्दसँग थारुको इतिहास जोडिएको छ । थारु मात्रै किन सबै भाषाका आफ्नै मौलिक र ठेट शब्द र त्यसको उच्चारण हुन्छ, सबैको आफ्नै महत्व, आफ्नै पहिचान र इतिहास हुन्छ । कसैको पनि पहिचान र इतिहास मेटाउनभन्दा त्यसको सम्मान र संरक्षण गर्न जरुरी हुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *