ब्युनसआयर्स, १९ जनवरी (टेलिसुर) । दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा त्यहाँको बृहत् वामपन्थी मोर्चा–समाजवादउन्मुख आन्दोलनले आसन्न राष्ट्रपतीय निर्वाचनका निम्ति राष्ट्रपति र उपराष्ट्रपति तथा केही प्रान्तका सिनेटर उम्मेदवारहरू घोषणा गरेको छ ।
मोर्चाका अध्यक्ष एवम् पूर्वराष्ट्रपति ते मोरालेसले घोषणा गर्नुभएअनुसार मे ३ मा हुने निर्वाचनमा समाजवादउन्मुख आन्दोलन (मास) को तर्फबाट राष्ट्रपतिमा लुइस आर्से र उपराष्ट्रपतिमा डेबिड चोकेह्वान्काले उम्मेदवारी दिनुहुनेछ ।
५७ वर्षीय राष्ट्रपति उम्मेदवार आर्सेले राष्ट्रपति मोरालेसको कार्यकालमा २००६ देखि २०१७ सम्म र पुनः जनवरी २०१९ देखि दक्षिणपन्थी सैनिक विद्रोह नहुञ्जेलसम्म अर्थमन्त्री बनेर देशको अर्थतन्त्रलाई उकास्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको योगदानलाई अन्तर्राष्ट्रिय मुद्राकोष – आईएमएफले समेत उच्च प्रशंसा गरेको थियो । आर्सेले मायोर डे सान आन्द्रेस विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र लस आन्द्रेस विश्वविद्यालयबाट र फ्रान्ज तामायो विश्वविद्यालयबाट दोहोरो पीएचडी डिग्री हासिल गर्नुभएको छ ।
उपराष्ट्रपति उम्मेदवार चोकेह्वान्का ५८ वर्षीय हुनुहुन्छ । उहाँ राष्ट्रपति मोरालेसको कार्यकालमा २००६ देखि २०१७ सम्म विदेश मामिलामन्त्री हुनुहुन्थ्यो । आदिवासी पृष्ठभूमिका ती कूटनीतिज्ञ बोलिभियाको उच्च पहाडी क्षेत्रमा जन्मेर हुर्कनुभएको थियो भने कोका किसानका नेताको रूपमा ख्यातिप्राप्त हुनुहुन्थ्यो ।
केही दिनअघि चोकेह्वान्का राष्ट्रपतीय उम्मेदवार हुने चर्चा व्यापक थियो र पार्टीले चोकेह्वान्का नै राष्ट्रपति उम्मेदवार हुने निर्णय गरेको थियो । तर चोकेह्वान्काकै प्रस्ताव र जोडअनुसार लुइस आर्सेलाई अगाडि सार्ने गरी पार्टीले पुनःनिर्णय गरेको हो ।
घोषणाको क्रममा नेता मोरालेसले बोलिभियाका मुख्य सहरहरू ला पाज, कोचाबाम्बा र सान्ताक्रुजका सिनेटर उम्मेदवारको रूपमा क्रमशः इडुवार्डाे रोड्रिगेज, एन्ड्रोनिको रोड्रिगेज र आड्रियाना साल्भाटेइराका नाम अगाडि राख्नुभएको छ । तीनै जना मास पार्टीका युवा नेता र नेतृका रूपमा रहनुभएको छ ।
“लुइस आर्से र डेविड चोकेह्वान्का वैज्ञानिक ज्ञान र प्राचीन समृद्ध ज्ञानको योग हो, ग्रामीण क्षेत्र र सहरको एकता हो, दुई शरीर तर एकै आत्मा हो । हामीसित एउटा राजनीतिक स्वतन्त्रता परियोजना छ, जसले अर्काे बोलिभिया सम्भव छ भनी देखाएको छ ।” मोरालेसले ट्विट गर्नुभएको छ ।
“मासको उम्मेदवारी आदिवासी, सामाजिक र मध्यम वर्गीय आन्दोलनहरूको सम्बोधन हो । मोरालेसको पार्टीले यसपटक मोरालेस–गार्सिया सूत्रलाई उल्टाएको छ र अहिले मध्यम वर्ग प्रथम र आदिवासी आन्दोलन त्यसपछि भन्ने सन्देश पनि प्रवाहित गरेको छ ।” टेलिसुरका संवाददाता मार्काे तेरुगीको विश्लेषण छ ।
छिमेकी देश अर्जेन्टिनाको राजधानी ब्युनसआयर्समा उक्त उम्मेदवारी घोषणा भए पनि राष्ट्रपतीय निर्वाचन प्रचारको औपचारिक सुरुवात जनवरी २२ देखि बोलिभियाभित्रैबाट हुने बताइएको छ । नेता ते मोरालेसले नै उक्त अभियानको नेतृत्व गर्ने बताइएको छ तर सत्ता विप्लवबाट आएको वर्तमान सरकारले मोरालेसलाई स्वतन्त्र गतिविधि गर्न दिने नदिने निश्चित छैन ।