भर्खरै :

“श्रमिक” साप्ताहिक कामदार वर्गीय आन्दोलनको पक्षमा

सुर्खेत, ६ माघ । नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा नेमकिपा सुर्खेतले ‘श्रमिक’ साप्ताहिक २७ औँ वर्ष प्रवेशको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेमकिपा, कर्णाली प्रदेश संयोजक तथा ‘श्रमिक’ साप्ताहिकका प्रकाशक सरोजराज गोसाईले शासक वर्गले ठूला लगानीका सञ्चारमाध्यमका पत्रकारले शासकहरूको दबाब र प्रभावमा परी मिलेनियम च्यालेन्ज कर्पोरेसनको समर्थनमा लेख्न थालेको बताउनुभयो । उहाँले तथाकथित राष्ट्रिय तथा मूलधारको पत्रिकाले काठमाडौँको समाचारमात्र लेखेको भन्दै जिल्ला तथा गाउँको वास्तविक समस्या उजागर गर्न नसकेको धारणा राख्नुभयो । उहाँले दुईतिहाइको सरकार प्रमुख आफ्नो असक्षमता ढाकछोप गर्न ‘सम्पादकको मुटु’ नभएको भन्ने टिप्पणी गरेको भन्दै अधिकांश पत्रकार शासक वर्गकै समर्थक रहेको विचार राख्नुभयो ।
संयोजक गोसाईले कर्णाली प्रदेश भौगोलिकरूपमा विकट भए पनि प्राकृतिकरूपमा समृद्ध रहेको तर शासक वर्गको नालायकीले गर्दा जनताले दुःख खेप्नु परेको भन्दै लिम्पियाधुरामा अविलम्ब नेपाली झन्डा गाड्नुपर्ने तर्क राख्नुभयो । उहाँले मिचिएको भूमिसहित तत्काल नेपालको नक्सा सार्वजनिक गर्न माग गर्दै भूमि रक्षाको निम्ति अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले ‘श्रमिक’ साप्ताहिकले श्रमिक वर्गीय आन्दोलनको पक्षमा लेख्दै आएको विचार राख्दै आदर्श र सुसंस्कृत समाज स्थापना गर्न श्रमिकको भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रीय सदस्य कोइरालाले नेमकिपाले पञ्चायती व्यवस्थाको विरुद्धको सङ्घर्षमा मात्र नभई प्रजातन्त्र र जनअधिकारको निम्ति भएको हरेक आन्दोलनमा सक्रिय सहभागी भएको विचार राख्नुभयो । उहाँले नेमकिपाले जनमतसङ्ग्रहको उपयोगदेखि प्रतिक्रियावादी सङ्घसंस्था भित्र गई जनताको सेवा गर्ने क्रान्तिकारी संसदवादी सिद्धान्तअनुसार निर्वाचनमा भाग लिएको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य जग्यबहादुर शाहीले कामदार वर्ग मुक्त नभएसम्म श्रमिक साप्ताहिकको महत्व भइरहने उल्लेख गर्दै देशघाती सन्धिसम्झौतामा नेपाली काङ्ग्रेस र नेकपा एकै स्थानमा रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “एमसीसी सम्झौतामा नेका र नेकपाको स्वर एउटै छ । उद्योग निजीकरणमा उनीहरूको एकै मत छ ।”
नेमकिपा जुम्ला जिल्ला अध्यक्ष शिवलाल डाँगीले कर्णालीमा नेमकिपाले नै सबभन्दा पहिले क्रान्तिकारी झन्डा गाडेको उल्लेख गर्दै राजनीतिक परिवर्तनमा नेमकिपा अग्रपङ्क्तिमा रहेको विचार राख्नुभयो ।
उहाँले पञ्चायती व्यवस्थाको निर्मम दमनविरुद्ध सङ्घर्ष गरेको इतिहासको स्मरण गर्नुभयो ।
मध्यपश्चिम विश्वविद्यालय, मानविकी शास्त्रका पूर्वडीन पीताम्बर ढकालले सङ्घीयता र विकेन्द्रीकरणको वकालत गर्नेले कर्णाली प्रदेशको बैठक काठमाडौँमा गर्नु उपयुक्त नभएको र प्रदेशको बैठक प्रदेशभित्रै गर्नसक्थ्यो भन्नुभयो । उहाँले नागरिकमा चेतनाको अभाव हुँदा शासक पार्टीहरूले मनलागी गर्न पाएको धारणा राख्नुभयो ।
नेमकिपा सुर्खेत जिल्ला अध्यक्ष हरिबहादुर बोहराको सभापत्विमा सम्पन्न कार्यक्रममा नेमकिपा सुर्खेतका सचिव धनेन्द्र विक, जिल्ला कोषाध्यक्ष गोविन्दनाथ योगी, वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही, उपाध्यक्ष गणेश खड्का, नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेत जिल्ला अध्यक्ष तुल्सी खड्का, सुर्खेतका सदस्य टीकाप्रसाद पोखरेल, नेपाल क्रान्तिकारी किसान सङ्घका प्रेम थापामगर, नेपाल क्रान्तिकारी युवा सङ्घका लालबहादुर थापा, नेमकिपा जिल्ला सदस्य अकलबहादुर रानालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *