भर्खरै :

क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाइ सुरू

भ्यानकुभर, क्यानडा, ६ माघ (एपी) । चिनियाँ टेलिकम कम्पनी हुवावेका वरिष्ठ कार्यकारीका लागि प्रत्यर्पण सुनुवाइको पहिलो चरण सोमबार क्यानडास्थित भ्यानकुभर अदालतमा सुरू भएको छ । यस मुद्दाले पेइचिङ क्रुद्ध भएको छ भने चीन र संयुक्त राज्य अमेरिकाबीच प्रविधि युद्ध जारी रहेको सङ्केत गरेको छ ।
क्यानडाले सन् २०१८ मा अमेरिकाको अनुरोधमा हुवावेका संस्थापककी छोरी एवं हुवावेकी मुख्य वित्तीय अधिकारी मेङ वेनझाउको गिरफ्तारीले पेइचिङलाई चकित पारेको थियो ।
सूचना प्रविधिको क्षेत्रमा महान शक्ति बन्ने चीनको महत्वाकाङ्क्षालाई हुवावेले प्रतिनिधित्व गरिरहेको छ तर हुवावे वर्षौंदेखि अमेरिकाको सुरक्षा चिन्ताको विषय बनेको छ । पेइचिङले मेङको मामलालाई चीनको उदयलाई रोक्ने अमेरिकी कदमको रूपमा हेर्दछ ।
“यो चिनियाँ सरकारको सर्वोच्च प्राथमिकताको मुद्दा हो । तिनीहरू असाध्यै मूर्ख छन् । उनीहरूले यो मुद्दालाई नजिकबाट नियालिरहेका छन्,” ब्रिटिश कोलम्बिया विश्वविद्यालयको एसियाली अनुसन्धान संस्थानका अनुसन्धाता वेनरान जियाङले बताउनुभयो ।
वासिङटनले हुवावेमाथि अमेरिकी प्रतिबन्धहरूको उल्लङ्घन गरी इरानमा हङकङको एक बैङ्कमार्फत हुवावेका उपकरणहरू बिक्री गरेको आरोप लगाएको छ । इरानसँगको व्यापारिक कारोबारमा हुवावेकी प्रमुख वित्तीय अधिकारी मेङले एचएसबीसी बैङ्कलाई भ्रमित पारेर धोखा दिएको अमेरिकी आरोप छ ।
क्यानडाको एक अदालतबाट देश छाड्न नपाउने गरी जमानतमा मुक्त भएकी मेङ भ्यानकुभरमा आफ्नै स्वामित्वमा रहेका घरमा बस्दै आउनुभएको छ । उहाँले अमेरिकी आरोपको निरन्तर खण्डन गरिरहनुभएको छ । मेङको प्रतिरक्षा गरिरहेका वकिलहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका टिप्पणीहरूबाट यो मुद्दा राजनीतिक प्रेरित रहेको पुष्टी भएको दाबी गरेका छन् ।
हवाई उडान परिवर्तन गर्ने क्रममा डिसेम्बर २०१८ मा भ्यानकुभरमा क्यानडाली अधिकारीहरूले मेङलाई गिरफ्तार गरेका थिए । यसै दिन ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच व्यापार वार्ताका सन्दर्भमा भेटघाट पनि भएको थियो ।
अभियोजकहरूले मेङको मामला व्यापार विवादबाट अलग रहेको जनाएका छन् तर ट्रम्पले व्यापार वार्तामा मद्दत पुग्ने अवस्था देखिए आफूले मुद्दा सुल्झाउन हस्तक्षेप गर्ने बताएर यो मुद्दा राजनीतिक प्रेरित रहेको सङ्केत गर्नुभएको थियो ।
गत हप्ता चीन र अमेरिकाबीच ‘पहिलो चरण’ को व्यापार सम्झौता भएको थियो तर धेरै विश्लेषकहरूको विचारमा अमेरिकाको मुख्य चासोको सूचना प्रविधिको विषयलाई सम्बोधन गर्न वर्षौं लाग्ने छ । ट्रम्पले हुवावेको भाग्य व्यापार वार्तामा मोलतोलको रूपमा प्रयोग गर्ने सम्भावना देखाएको भए पनि बुधबार घोषणा गरिएको सम्झौतामा कम्पनीका विषयमा केही उल्लेख गरिएको छैन ।
मोबाइल फोनसेट र इन्टरनेट कम्पनीहरूका लागि हुवावे नेटवर्क गियरको सबभन्दा ठूलो विश्वव्यापी आपूर्तिकर्ता हो । वाशिङटनले हुवावेका प्रविधिको प्रयोग सीमित गर्न अरू देशहरूलाई दबाब दिएको छ । हुवावेका उपकरणहरू देशको सुरक्षाका दृष्टिबाट निकै जोखिमपूर्ण रहेको अमेरिकी आरोप छ ।
“मेरो विचारमा यो वैचारिक मोर्चासँगै प्राविधिक युद्धको सुरुआत हो,” टोरोन्टो विश्वविद्यालयका प्राध्यापक लिनेट ओङले बताउनुभयो । तपाईंले अबको विश्व दुई भागमा विभाजित भएको देख्नुहुनेछ । एउटा पक्षले चिनियाँ कम्पनीहरूका उपकरण प्रयोग गर्ने छन् भने अर्को पक्षले चिनियाँ कम्पनीहरूका सामान बहिष्कार गर्ने छन् ।
वासिङटनस्थित रणनीतिक र अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका जेम्स लेविसले अमेरिकाले मेङलाई पक्राउ गर्दा हुवावेले जानाजान प्रतिबन्धहरू उल्लङ्घन गरेका आफूसँग बलिया प्रमाणहरू रहेको दाबी गरेको बताउनुभएको छ ।
“अब चीन विकासशील मुलुकमात्र हो भन्ने छैन, चीन अब विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको बलियो मुलुक भइसक्यो । अब चीनले जिम्मेवार भएर प्रस्तुत हुनुबाहेक अर्को विकल्प छैन,” लेविसले भन्नुभयो ।
मेङको प्रत्यर्पण सुनुवाइको क्रममा उहाँले अमेरिकी र क्यानडाली कानुनको उल्लङ्घन गरे नगरेको बारेमा बहस हुने छ । मेङका वकिलहरूले शुक्रबार एउटा प्रस्ताव पेस गरेका छन् जसमा मेङमाथि धोखाधडीको मुद्दा नभई अमेरिकी प्रतिबन्धहरूका बारेमा मात्र हो भनिएको छ । क्यानडाले इरानमाथि समान प्रतिबन्ध लगाएको छैन ।
यो प्रत्यार्पण मामला समाधान गर्न केही वर्ष लाग्नसक्छ । वास्तवमा क्यानडाबाट संयुक्त राज्य अमेरिकामा हुने सबै प्रत्यर्पण अनुरोधलाई क्यानडाली न्यायाधीशले अनुमोदन गर्नुपर्दछ ।
मेङको पक्राउको विरोधस्वरूप चीनले क्यानडाका पूर्वकूटनीतिज्ञ माइकल कोभ्रिग र क्यानेडाली उद्यमी माइकल स्पाभोरलाई पक्राउ गरेको थियो । ती दुई व्यक्तिलाई वकिल र परिवारको पहुँच अस्वीकार गरिएको छ, उनीहरूलाई जेलमा राखिएको छ ।
चीनले क्यानडाबाट आयात हुने तेल बीज र मासुसहितका विभिन्न सामानको आयातमा प्रतिबन्धहरू लगाएको छ ।
क्यानडाले अमेरिकासँगको आफ्नो प्रत्यर्पण सन्धिका सर्तहरू पूरा गरिरहेको छ तर यसको ठूलो मूल्य चुकाउनु परिरहेको छ । क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रूडोका पूर्वविदेश नीति सल्लाहकार रोलान्ड पेरिसले बताउनुभयो । हामी अहिले बाँचिरहेको यो त्यस्तो प्रकारको संसार हो जहाँ क्यानडाजस्ता देशहरू खुम्चिएर खतरामा बाँच्नु परिरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *