भर्खरै :

सरकारी भाषा नै नेपाङ्ग्रेजी ?

योगेश ढकाल
विषय सानो हो । र चर्चा नगरेको भएपनि हुने । एउटा÷दुईवटा अङ्ग्रेजी शब्दमा यतिधेरै लेखिरहनुपर्छ र भन्ने पनि लाग्न सक्छ । हो पनि, अचेल अङ्ग्रेजी शब्दको उपयोगको विस्तारले दैनिक बोलीचालीमा समेत नेपाली शब्द हराउन थालिसके । अर्कातिर मातृभाषा र स्थानीय भाषा मोह पनि संसारभर बढ्दैछ । त्यसैले, सामान्य सन्दर्भमा पनि अङ्ग्रेजी शब्दको प्रयोग त्यति रुचिकर लाग्दैन । अझ, सरकारी तहबाटै नेपाली शब्दको हेला हुँदा झनै नमीठो लाग्नेरहेछ । उपराष्ट्रपति नन्दबहादुर पुनको नयाँ भवनको नामले मन कटक्क बनाइदियो । कान्तिपथको ‘बहादुर भवन’ बाट केही महिनाअघि लैनचौरको समाज कल्याण परिषद्को भवनमा सरेका उपराष्ट्रपति पुनले भवनको नाम राखिदिए ‘ग्रीनहाउस’ । त्यही शब्दको कुरा गर्न खोजेको हो, अहिले ।
लाग्न सक्छ, भवनभित्र मात्र होइन बाहिरी परिसर पनि हरियो रङ्गले पोतिएको छ, अनि ‘ग्रीनहाउस’ भन्दा के फरक प¥यो त ¤ तर, त्यही ग्रीनहाउस अङ्ग्रेजी शब्दको सट्टा ‘हरितगृह’ वा यस्तै कुनै उपयुक्त नाम राखेको भए के बिग्रिन्थ्यो त ? कम्तीमा सरकारीस्तरबाट त उपलब्ध भएसम्म नेपाली शब्द प्रयोगलाई बचाइराख्न सकिन्छ नि । दरबारसँग जोडिएको बिर्साउन उपराष्ट्रपतिले भवनको रङ्ग र नाम परिवर्तन गरेका हुन सक्छन् । जे भए पनि भवनलाई नेपाली नामाकरण गर्न सकिन्थ्यो ।
पङ्क्तिकारले असार ०७६ मा लेखेपछि उपराष्ट्रपति कार्यालयले नाम परिवर्तन गरेको छ । र, अहिले त्यो हरियो घरलाई अङ्ग्रेजीनाम परिवर्तन गरेर नेपालीकरण गरिएको हरितगृह । अङ्ग्रेजीमोह हो वा सजिलो लाग्यो अथवा हेलचक्य्राइँमा प¥यो तर अङ्ग्रेजी नाममाथि प्रश्न उठेपछि त्यसलाई नेपालीकरण गरियो । सञ्चारमाध्यम र सामाजिक सञ्जालको टिप्पणीपछि मात्रै सुनवाइ हुनुले आफैँमा प्रश्न उठाइदिन्थ्यो ।
उपराष्ट्रपति कार्यालयको अङ्ग्रेजीकरणको प्रसङ्गसँग जोड्नैपर्ने अर्को सन्दर्भ छ, नेपाल टेलिभिजनसँग । नेपाली भाषा बचाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ । त्यसमाथि राष्ट्रिय सञ्चारमाध्यम जसले देशको आवाज र पहिचान बोल्छ त्यही सञ्चारमाध्यमको भूमिका दोहोरो भई दियो भने भाषिक आक्रमणमा परिन्छ । अहिले नेपाल टेलिभिजनका कार्यक्रममा नेपाली भाषाभन्दा बढी अङ्ग्रेजी शब्दहरूको प्रयोग हुन्छ । कार्यक्रम सञ्चालन गर्दा होस् वा कार्यक्रमको नाम चयनमै । नेपाल टेलिभिजनबाट प्रसारण हुने एउटा कार्यक्रमको नाम छ, ‘न्यूजलाइन’ । सामयिक विषयमा केन्द्रित भएर टिप्पणी गर्ने र रिपोर्ट प्रसारण गर्ने यो कार्यक्रममा प्रस्तोता उभिएर प्रसारण गर्छन् । तर, अहिले कार्यक्रमको विषयप्रतिभन्दा बढी त्यो कार्यक्रमको नामप्रति प्रश्न हो । कार्यक्रमको नाम अङ्ग्रेजी हिज्जेमा लेखिएको छ । केहीबेर प्रस्तोताको आवाज बन्द गरेर टेलिभिजन पर्दामात्र हेर्ने हो भने विदेशी टेलिभिजनजस्तै लाग्छ । बरु अङ्ग्रेजी शब्द प्रयोग गर्ने जनता टेलिभिजनले बाइलाइन कार्यक्रमको नाम कम्तीमा नेपाली शब्द प्रयोगबाट गरेको छ । नेपाल टेलिभिजनले त्यतिपनि गरेको छैन अङ्ग्रेजी ।
नेपाल टेलिभिजनमा अर्को कार्यक्रमको नाम यस्तै अङ्ग्रेजीकरणको छ । कला÷साहित्यका संलग्न व्यक्तित्वहरूसँग अन्तर्वार्ता गर्ने यो कार्यक्रम पाका पत्रकारले नै सञ्चालन गर्छन् । ‘बायस्कोपी’ नाम दिएको त्यो कार्यक्रम नेपाल टेलिभिजनमा लामो समय समाचारवाचन गरेका मनोहरि थापाले सञ्चालन गर्छन् । यी दुई कार्यक्रमको अङ्ग्रेजीकरण गरिएको सन्दर्भ मात्र होइन, टेलिभिजनका प्रस्तोताको भाषा पनि निकै महत्वपूर्ण हुन्छ । अचेल नेपाल टेलिभिजनका प्रस्तोताले नेपाङ्ग्रेजीलाई निकै महत्व दिइरहेका छन् । नेपाल टेलिभिजनकै अर्को च्यानल एनटीभी प्लस आफैँमा अङ्ग्रेजी नामकरण भएको च्यानल हो । त्यसमा सञ्चालन हुने नेपाली साङ्गीतिक कार्यक्रम ‘झन्कार’ एक जना पुरुष र एकजना महिला प्रस्तोताले पालैपालो सञ्चालन गर्छन् । नेपाली गीतसङ्गीतको प्रवद्र्धन गर्न सञ्चालन गरिएको कार्यक्रमका सञ्चालक यति धेरै अङ्ग्रेजी बोल्छन् कि कार्यक्रमको झन्डै ७५ प्रतिशत बोलाई अङ्ग्रेजी भाषा हुन्छ । कार्यक्रमको सुरुवातदेखि प्रश्न सोध्न पनि अङ्ग्रेजी भाषा नै प्रयोग गर्छन् । यो कार्यक्रमको हेर्दा लाग्छ, नेपाली गीत सङ्गीतको प्रवद्र्धन गर्ने कार्यक्रम हो कि हुर्मत लिने ? केही वर्ष अघिसम्म यो कार्यक्रमको सञ्चालक अर्कै थिए । जब नयाँ प्रस्तोता आए अनि अङ्ग्रेजीकरण पनि सँगै आयो । प्रायोजित कार्यक्रम भएकोले एनटिभी प्लसले कार्यक्रम रोक्न त सक्दैन होला तर भाषाको कुरामा प्रश्नसम्म त गर्न सक्छ । यी दुवै काम गरेको छैन । यसले नै प्रस्ट पार्छ, सरकारी टेलिभिजन नै नेपाली भाषामाथि गम्भीर खेलवाड गरिरहेको छ ।
उपराष्ट्रपति कार्यालय र नेपाल टेलिभिजनको यी दुई उदाहरण नै काफी छन् अङ्ग्रेजीकरणका पछिल्ला परिदृश्य देखाउनलाई । भाषाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयोस संसारभर बढेको छ । खुला बजारीकरणले आर्थिक गतिविधिमात्र होइन, सांस्कृतिक साम्राज्य पनि खडा गरिरहेको छ । र, यतिबेला विश्वभर संरक्षणवाद पनि सुरु भएको छ । अर्थात् आफ्नो पहिचान, संस्कृति, परम्परा, भाषा, इतिहास र आर्थिक गतिविधिको संरक्षणमात्र होइन, प्रवद्र्धनको प्रयास भइरहेका छन् । तर, नेपालमा भने त्यही भाषा, संस्कृति र इतिहासमाथि आक्रमण भइरहेको छ ।
हेलचक्य्राइँको परकाष्ठा
सरकारी कर्मचारी तथा भाषा संरक्षण र प्रवद्र्धन गर्नुपर्ने व्यक्ति नै कतिसम्म हेलचेक्य्राइँ गर्छन् भन्ने त माथिका उदाहरणले प्रष्ट पार्छन् । भाषिक आक्रमण र हेलचेक्य्राइँ अहिलेको होइन् । खासमा रेडियो नेपाल पनि यसमा अपवाद छैन । अलिक पुरानो सन्दर्भ तर सान्दर्भिक विषय थियो ०६१ तिरको । त्यतिबेला रेडियो नेपालले मध्याह्न ११ बजेदेखि १ बजेसम्मको खाली समयमा कार्यक्रम सञ्चालन गर्ने निधो ग¥यो । त्यो २ घण्टा रेडियो नेपाल बन्द हुने प्रचलन थियो तर भर्खरै बजार पिटेका एफएमहरूको दबाबले नयाँ कार्यक्रम सञ्चालन गर्ने योजना बनायो । र, कार्यक्रमको नमुनासहित इच्छुक व्यक्तिबाट आवेदन आह्वान ग¥यो । तर, रेडियो नेपालले कार्यक्रम सञ्चालन गर्ने व्यक्तिहरु छनौट गर्दा अन्तर्वार्तामा भनेको थियो– कार्यक्रम सञ्चालन गर्दा नेपाङ्गे्रजी भाषा प्रयोग गर्नुपर्छ । एक दसक पुरानो तर नेपाली भाषा प्रयोग गर्नुपर्छ । एक दसक पुरानो तर नेपाली भाषामाथि प्रश्न उठाउन रेडियो नेपालको त्यो सन्दर्भ अहिले यति हाबी भइदिएको छ कि कतिपय कार्यक्रममा नेपाङ्ग्रेजी भाषा त प्रयोग भएकै छ, त्योभन्दा बढी नयाँ पुस्ताले नेपाली मौलिक शब्दहरू, परम्परा र नेपालीपन बिर्सन थालेका छन् ।
रेडियो नेपालको त्यो पुरानो कथासँग हालैको पर्यटन मन्त्रालयको एउटा प्रसङ्ग छोड्न नमिल्ने सन्दर्भ छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले विश्व पर्यटन दिवसको अवसरमा २७ सेप्टेम्वर, २०१९ मा एउटा सन्देश प्रकाशन गर्नुपर्ने थियो । संयोग कस्तो भने त्यतिबेला नै भट्टराई क्यानडा भ्रमणमा जानुपर्ने भयो । त्यसैले सन्देश पहिला नै तयार गरेर कर्मचारीलाई गोरखापत्रमा प्रकाशनका लागि दिन जिम्मा दिए । मन्त्रीको सचिवालयले पनि मन्त्रालयका दुईजना कर्मचारीको जिम्मा लगाए । तर, ती कर्मचारीले आर्थिक प्रलोभनमा गोरखापत्रमा सन्देश प्रकाशन गर्न दोस्रो माध्यम अपनाए । त्यसको पोल चाहिँ सन्देशमा भेटिएका २७ भन्दा बढी गल्तीले खुल्यो । त्यो समस्या मन्त्रीको सचिवालयले उपलब्ध गराएको सन्देशमा थिएन । ती कर्मचारीले विज्ञापन प्रकाशनसम्बन्धी काम गर्ने संस्थासँग मिलेर प्रकाशन गर्दा त्यो संस्थाले मन्त्रीको सचिवालयले दिएको सन्देश पत्रलाई पुनःलेखेर गोरखापत्रलाई पठाएको तथ्य भेटियो । खासमा सरकारी विज्ञापन गोरखापत्रसँग सिधा काम गर्नुपर्छ । त्यही पोल खुलेपछि ती दुईजना कर्मचारीलाई सरुवा गरियो । यसो भन्नुको अर्थ पैसाका लोभमा यो हदसम्मको लापरबाही गरिन्छ भने अन्य ठूला परियोजनाको लोभमा कतिसम्म अनियमित काम भएका होलान् । आरोपकै कुरा गर्ने हो भने, नेपाली शब्दकोश परिमार्जनमा अमेरिकी परियोजनाले काम गर्दा केही वर्ष पहिला ठूलै विवाद भएको थियो । केही भाषाविद्हरू आन्दोलनमै उत्रिएका थिए । र, अन्तिममा नेपाल प्रज्ञा प्रतिष्ठान शब्दकोश परिमार्जन परियोजनाबाट फिर्ता हुन बाध्य भयो । र, पाठ्यक्रममा पनि समेत परिमार्जन गर्न बाध्य भयो ।
चीन, स्पेन, पोर्चुगल, अमेरिका, भारत, श्रीलङ्कालगायत अर्थात् युरोप, अमेरिका, एसियामात्र होइन ल्याटिन अमेरिकादेखि अष्टे«लियासम्म मौलिक पहिचानको संरक्षण र प्रवद्र्धनमा जोड दिइरहेको छ । त्यसको गतिलो उदाहरण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासलाई मान्न सकिन्छ । प्रधानमन्त्री नरेन्द्र मोदी देशभित्रमात्र होइन, संयुक्त राष्ट्रसङ्घको महासभामा समेत हिन्दी भाषामा सम्बोधन गर्छन् । मोदीले अङ्ग्रेजी नजानेर हिन्दीमा सम्बोधन गरेका होइनन् । मोदी भारतीय पहिचान स्थापित गर्न चाहन्छन् त्यसका लागि भाषा र संस्कृतिमा जोड दिइरहेका छन् । त्यो प्रयास चीनले गरेको छ । र, चिनियाँ प्रतिनिधिहरूले विश्वका हरेक मञ्चमा चिनियाँ भाषामा सम्बोधन गर्छन् । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङका हरेक सम्बोधन चिनियाँ भाषामा थिए । चिनियाँ भाषाबाट नेपालीमा अनुवाद गर्ने दोभाषे प्रयोग गरिएको थियो । सीले अङ्ग्रेजी नजानेर पनि चिनियाँ भाषामा विश्व मञ्चमा सम्बोधन गर्दै हिँडेका होइनन् । देशको पहिचान र हैसियतसँग जोडिएको भाषामाथि आफ्नो पकड गुमाउँदै गएको अवस्थामा राष्ट्रिय सञ्चारमाध्यबाट समेत भाषामाथि हेलचक्य्राइँ गरिनु गलत मानिनुपर्ने हो ।
के गर्ने त ?
अङ्ग्रेजी शब्द प्रयोग गर्नै नमिल्ने हो त ? यस्तो पनि होइन् । भाषाविद् शरच्चन्द्र वस्तीको भनाइमा उपलब्ध भएसम्म नेपाली शब्द प्रयोग गर्दा राम्रो । अङ्ग्रेजी शब्द प्रयोग गर्नै नमिल्ने भन्ने होइन, जसको नेपाली उल्था हुँदैन र नागरिकले बुझ्दैनन् भने अङ्ग्रेजी शब्द प्रयोग गर्न सकिन्छ । वस्तीको भनाइलाई मान्ने हो भने सरकारी सञ्चारमाध्यमले नेपाली शब्दकै प्रयोग गर्न सक्छन् । र, गर्नुपर्छ । तर, नेपाली समाज ने अहिले नेपाङ्ग्रेजी शैलीमा पुगेको छ ।
पत्रकारिताले सूचनामात्रै सम्प्रेषण गर्दैन । पत्रकारले सूचनामात्रै प्रवाहित गर्दैन । पत्रकारसँग सूचनासँगै भाषाशैली पनि हुन्छ । सूचनालाई व्याख्या गर्ने, सम्प्रेषित गर्ने शैली सूचनाजत्तिकै महत्वपूर्ण मानिन्छ । अझ सामाजिक सञ्जालको व्यापकतापछि सूचना पत्रकारसँग मात्र हुन्छ भन्ने भएन । तर, सूचनालाई कसरी सम्प्रेषित गर्ने भन्ने चाहिँ महत्वपूर्ण भएको छ । पत्रकारको लेखनशैली, व्याख्या विश्लेषण गर्ने तरिका र भाषाशैलीले पहिचान स्थापित गर्छ । त्यसकारणले, वस्तीकै भनाइमा पत्रकारमा सूचनासँगै प्रस्तुति शैलीको पहिचान महत्वपूर्ण हुन्छ । त्यही सम्प्रेषित शैलीमा उपयोग गरिने अङ्ग्रेजीशब्द कम गर्नु र नेपाली पहिचान स्थापित गर्नु अनिवार्य हुन्छ ।
यही सन्र्दभमा निकै पुरानो सन्दर्भ जोड्न आवश्यक छ । कुरा सन् १९५५ ताकाको हो । त्यतिबेला नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्यता लिने क्रममा थियो । नेपालले सदस्यताका लागि निवेदन दिइसकेको थियो । एकपटक तत्कालीन राजा महेन्द्र शाहसहित प्रधानमन्त्री टङ्कप्रसाद आचार्य पनि अमेरिका भ्रमणमा गएका थिए । त्यतिबेला संयुक्त राष्ट्रसङ्घका लागि ऋषिकेश शाह स्थायी प्रतिनिधि न्यिक्त भइसकेका थिए । राजा महेन्द्र, प्रधानमन्त्री आचार्य र स्थायी प्रतिनिधि शाह महासभाको भेलामा सहभागी भइरहेका थिए । त्यतिबेला नेपाली प्रतिनिधि मण्डल नेपालीमा कुरा गरिरहेका हुन्थे, बीचमा फुत्त आएर भारतीय प्रतिनिधि मण्डलका सदस्य आएर ‘यस्तो होइन वा यस्तो हो’ भनिरहन्थे । अन्य विदेशीहरूलाई देखाउने गरी भारतीयहरू यसरी नेपाली प्रतिनिधि मण्डल सदस्यसँग बीचमा अरूले सुन्ने गरी भन्ने वा नेपालीले बोलिरहेका बेला प्रतिक्रिया जनाइरहेका हुन्थे । कूटनीतिज्ञ मिलन तुलाधर स्मरण गर्छन्– भारतले त्यसो गर्नुमा नेपाली र भारतीय उस्तैमात्र होइन, नेपालीको खास पहिचान छैन भन्ने सन्देश दिनु थियो । विश्व मञ्चमा नेपालीको फरक भाषा र लिपि छैन भन्ने सन्देश दिने प्रयासपछि नेपाली प्रतिनिधि मण्डलले नयाँ सोच ल्यायो । र, संयुक्त राष्ट्र सङ्घमा गफिँदा नेपाली होइन नेवारी भाषा प्रयोग गर्ने । तीनै जना नेवारी भाषामा प्रखर थिए । अनि नेवारीमा बोल्न थाले । तुलाधारको भनाइमा त्यसपछि भारतीयहरू नेपालीसँग प्रतिक्रियाविहीन भए । र, विश्व मञ्चमा नेपाली भाषाको पहिचानमाथि भारतीय प्रहार निस्तेज भयो । भारतले देवनागरी लिपि आफ्नो पहिचानसँग जोडेर संयुक्तराष्ट्र सङ्घमा दर्ता गराएपछि नेपालले रञ्जना लिपि दर्ता गराएको थियो । नेवारी भाषासँग सम्बन्धित लिपि दर्ता भएपछि नेपालको अर्को पहिचान स्थापित भएको थियो ।
विश्व मञ्चमा आफ्नो पहिचान स्थापित गर्न आफ्नो भाषा र संस्कृति कति महत्वपूर्ण छ भन्ने यही उदाहरणले बताउँछ । यो उदाहरणले आफ्नो गोपनीयता पनि कायम रहदैन । निजी प्रसङ्गमा समेत अरू जानकार हुने गरी प्रस्तुत हुने नेपाङ्ग्रेजी शैली आफैँमा नेपालीपनका लागि घातकसिद्ध हुन्छ । नेपालीपन मौलिकतामा हुन्छ । र त्यो मौलिकता जोगाउनमात्र होइन प्रवद्र्धन गर्ने जिम्मेवारी पत्रकारसँग हुन्छ । त्यो जिम्मेवारीबाट जानअनजानमा विमुख हुने क्रममा रहेकोले एक त आम पत्रकारिताले नेपाली भाषाप्रति गम्भीर हुन जरुरी देखिन्छ भने अझ बढी जिम्मेवार सरकारी सञ्चारमाध्यम हुन आवश्यक छ । कम्तीमा राष्ट्रिय सञ्चारमाध्यमबाट प्रसारण हुने कार्यक्रम, समाचार वा अन्य अन्तर्वार्तामा अङ्ग्रेजी शब्दको प्रयोग कम भईदिए उपयुक्त हुने भाषाविद्को भनाइ छ ।
– संहिता पुस २०७६ बाटसरकारी भाषा नै नेपाङ्ग्रेजी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *