भर्खरै :

नेकपाको ११ बुँदे अनुशासन गधाको छाला ओढेको ब्वाँसो

घाँसे मैदानमा रहेका गाईवस्तुले ब्वाँसोलाई चिनेपछि शिकारी ब्वाँसोलाई पिर परेछ । ब्वाँसो देख्नासाथ गाईवस्तु भागाभाग गर्न थाले । त्यस्तो तालले आफू भोकै मर्ने पिरले ब्वाँसोले जुक्ति निकालेछ–गधाको छाला ओढेर गाईवस्तुको शिकार गर्ने । ब्वाँसोले गधाको छाला ओढेछ, निर्धा गाईवस्तुले ब्वाँसोलाई गधा सम्झेछन्, भागेनन् । ब्वाँसोको हिंस्रक जालोमा फसेछन्–विचरा गाईवस्तु ।
‘पार्टीभित्र अनुशासनहीनता बढेकोमा चिन्ता गर्दै’ सत्तारुढ नेकपाले नेता–कार्यकर्ताको नाममा ११ बुँदे आचारसंहिता जारी गर्नु ‘ब्वाँसोले गधाको छाला ओढेर निर्धा प्राणीको शिकार गर्नु’ जस्तै हो । नेकपाले ‘कम्युनिस्ट’ शब्दको फुर्को झुन्ड्याउन छोडेको छैन । तर, नेकपा कम्युनिस्ट पार्टी हो भन्ने कुरा पत्याउन जनताले छोडिसके । नेता–कार्यकर्ताको व्यवहार र चरित्रका कारण नेकपामा कम्युनिस्ट चरित्र क्रमशः क्षीण बन्दै छ ।

नेकपाका नेताहरू नै अनुशासनहीनताको आहालमा डुबिसकेका छन् । आदर्श बन्नुपर्ने नेताहरूसमेत नकारात्मकताको उदाहरण बनिसके । कार्यकर्तालाई कुनै पनि गलत काम गर्न नेताहरूले बनाएका गलत नजिर नै प्रोत्साहन बनेको छ । सिङ्गो पार्टी देशको ढुकुटी लुट्ने मेसिन बनेको छ । यस्तो अवस्थामा कार्यकर्ताको नाममा अनुशासनको ‘आदेश’ जारी गर्नु जनतालाई झुक्याउने गधाको छालामात्र हो ।

नेकपामा आज गैरकम्युनिस्ट प्रवृत्ति हावी बन्दै छ । नेकपाको सदस्य बन्न कम्युनिस्ट चरित्र र विचारधारा अँगाल्न पर्दैन । नेताको चाकडी र गुटलाई मोटो चन्दा दिने हैसियत नै नेकपाको सदस्य बन्ने योग्यता हो । पञ्चायतकालभरि कम्युनिस्टलाई शत्रुको व्यवहार गर्ने खुँखारहरू आज नेकपाका ‘असल’ नेता–कार्यकर्ता बनेका छन् । वर्गीयरूपमा कामदार वर्गको शत्रु नै आज नेकपाका ‘सम्मानित कार्यकर्ता’ बनेका छन् । आफ्ना अपराध र कर्तुत सत्ताको नजरमा ओझेल पर्ने र कमाउधन्धामा राज्यको संरक्षण हुने भएकोले टीका लगाएर नेकपा प्रवेश गरेकाको सङ्ख्या हिजो दुःखका दिनमा पार्टीलाई जीवन दिने कार्यकर्ताभन्दा बढी भइसके । पार्टी ठूलो बनाउने नाममा नेताहरूले टीका र अबिर जात्रा गरेर जस्तोसुकै मानिसलाई पार्टी भित्याउने गल्ती गरे । विचारधारा र अनुशासनले कम्युनिस्ट हुने कुरा नेकपाका नेताहरूले ठूलो पार्टीको नेता बन्ने होडमा बिर्से । फलतः आज नेकपाभित्र अनुशासनहीनताले आकाश छोएको नेताहरूले महसुस गरे । तर, यतिबेलासम्ममा उनीहरूले गरेको सत्यबोध निकै ढिला भइसकेको छ । अनुशासनका आचारसंहिता जारी गरेर अब नेकपालाई कम्युनिस्ट पार्टी बनाउन सम्भव छैन । जताततै सडेको फल फाल्नुपर्छ, तातो पानीमा उमाल्दैमा फल सद्दे हुने होइन ।
 
जुन वर्गीय आधारमा नेकपा उभिएको छ, त्यो वर्गले पार्टीले जारी गरेका ११ बुँदाको कार्यान्वयन भद्दा मजाकबाहेक केही हुने छैन । रोजगारी कार्यक्रमको नाममा माटोले जुत्ता फोहोर होला भनी डराई डराई बेल्चा समातिरहेका सौखिनदारहरूजस्तै अब कुन दिन ‘श्रमको सम्मान गर्दै गरेका’ नेकपा कार्यकर्ताका तस्वीर फेसबुकमा देखिने छन् । ‘परिवारका सबै सदस्य बसेर पाँचतारे होटेलमा डिनर खाँदै’ पार्टीको आचारसंहितामा उल्लेखित ‘परिवारका सदस्यसँगै बसेर खाना खाने’ बुँदा पालना गरिरहेको तस्वीर सार्वजनिक हुने छन् । आफूले खाएको थाल माझेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेर ‘घरको सबभन्दा कठिन काम आफूले गरेको’ प्रचार गरिने छ । यो पार्टी अनुशासनको मजाकबाहेक के होला र ?
नेकपा वर्गीयरूपमा श्रमिक जनताको पार्टी होइन । त्यसकारण उसले सिकाउने श्रमको सम्मान गर्नुपर्ने पाठ मजाकमात्र हुनेछ । यो अनुशासनको पाठ देखाउने दाँतमात्र हो । यसले न नेकपामा कुनै सुधार आउने छ न पार्टी कार्यकर्ताले नै आफ्नो दैनिक जीवनमा कुनै परिवर्तन गर्नसक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *