भर्खरै :

सुडानी विद्रोही डार्फरमा शान्तिका लागि आशावादी

संयुक्त राष्ट्र सङ्घ, ७ माघ (एपी) । राष्ट्र सङ्घका विज्ञको विचारमा सुडानका धेरैजसो विद्रोही समूह र लिबियाबाहेक सुडानका सबै छिमेकी मुलुक डार्फरको शान्ति प्रक्रियालाई समर्थन गरिरहेका छन् तर यस समस्याग्रस्त पश्चिमी क्षेत्रमा सुरक्षा खतराका घटनामा वृद्धि भएका छन् । यहाँ स्थानीय किसान र गाईवस्तु चराउने गोठालाबीच बलात्कारदेखि झडपका घटनामा वृद्धि भएको छ ।
ती विज्ञले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्लाई सोमबार बुझाएको प्रतिवेदनमा विद्रोही लडाकूले नागरिकमाथि आक्रमण गरेका, हिंसात्मक प्रदर्शन हुने गरेको तथा वर्षौंदेखि विस्थापित भएर डार्फरबासीले आश्रय लिइरहेका ठूला शिविरमा तनाव बढेको उल्लेख छ ।
प्रतिवेदनमा अब्दुल वाहिद एलनूरको नेतृत्वमा रहेको सुडान लिबरेशन आर्मीको समूह र सरकारी फौजबीच भिडन्त पनि भइरहेको उल्लेख छ ।
सुडानको अरब–समर्थित सरकारले जातीय विभेद गरेको आरोप लगाउँदै डार्फरमा सन् २००३ मा द्वन्द्व सुरु भएको थियो । द्वन्द्वको शान्तिपूर्ण समाधान गर्नुको साटो सुडान सरकारले स्थानीय घुमन्ते अरबी जनजातिलाई शस्त्र दिएर मुलुकलाई युद्धतर्फ धकेलेको आरोप लाग्ने गरेको छ तर सुडान सरकारले यसलाई निरन्तर अस्वीकार गरिरहेको छ । गत अप्रिलमा एउटा जनविद्रोहले राष्ट्रपति ओमर अल–बसिरलाई झन्डै तीन दसकपछि सत्ताच्यूत गरेको थियो ।
बसिरको पतनसँगै अहिले सैन्य–नागरिक सरकारले सुडानलाई प्रजातन्त्रको नाजुक मार्गबाट अघि बढाउँदै लगेको छ । एन्नूरको विद्रोही समूह र त्यसका समर्थकले सङ्क्रमणकालीन सरकारले क्रान्तिलाई अपहरण गरेको आरोप लगाएका छन् ।
सङ्क्रमणकालीन सरकारको एउटा प्रमुख प्राथमिकतामा सुडानको सुदूरपश्चिमका डार्फरसमेतका प्रान्तहरूमा फैलिएका विद्रोहको अन्त्य गर्नु रहेको छ र गत अक्टोबरदेखि विद्रोही समूहसँग सरकारले शान्ति वार्ता गरिरहेको छ ।
मानवअधिकारसम्बन्धी एउटा महत्वपूर्ण मुद्दाका सम्बन्धमा विशेषज्ञको प्यानलले दिएको प्रतिवेदनमा भनिएको छ, “सन् २०१९ को मार्चदेखि डिसेम्बरको अवधिमा आन्तरिक विस्थापित व्यक्तिका लागि बनाइएका शिविर नजिकै महिला र बालबालिकामाथि बलात्कार र शारीरिक हिंसाका घटना नियमित रुपमा हुने गरेको विश्वासिला स्रोतले बताएका छन् ।”
पीडितले यी अपराधीमा सशस्त्र विद्रोही समूहमा आवद्ध व्यक्ति र सुडानी सुरक्षाफौजका केही सदस्य रहेको आरोप लगाएका छन् । प्रतिवेदनमा अपराधमा संलग्न धेरैजसो व्यक्तिको पहिचान गरिएको भएपनि उनीहरू पक्राउ नपरेको उल्लेख छ ।
उदाहरणका रुपमा, एउटा घटना जुन २८ मा उत्तर डार्फरको तबिट गाउँमा भएको थियो । ऊँटमा सवार तीन व्यक्तिले एक जना पुरुष, एक महिला र दुई किशोरीमाथि आक्रमण गरे । प्रतिवेदनमा भनिएको छ, करिब ४० वर्षको हाराहारीका पुरुष र महिला दुवैलाई कुटपिट गरियो र लखेटियो, र त्यसपछि दुवै बालिकालाई कुटपिट गरी बलात्कार गरियो ।
एक अर्को घटनामा रेपिड सपोर्ट फोर्सेजमा आबद्ध बर्दीधारी व्यक्तिले ११ र १३ वर्षीया दुई बालिकालाई बलात्कार गरेको दुवै बालिकाले आरोप लगाउँदै भिडियो नै सार्वजनिक गरेका छन् । यो घटना सेन्ट्रल डार्फरको नेर्टिटीमा भएको हो ।
यी व्यक्तिको आबद्धता सुडानको जञ्जाविद मिलिसियासँग रहेको खुलेको छ । डार्फर विद्रोहका सुरुआती दिनमा यो समूह गाउँमा आगो लगाउने, निर्दोशको हत्या गर्ने तथा बलात्कार गर्ने कार्यमा संलग्न रहेको थियो ।
समितिले भनेको छ कि गोप्य सरकारी स्रोतबाट प्राप्त तथ्याङ्कमा सन् २०१९ को अप्रिलदेखि सेप्टेम्बरबीच बलात्कार र यौन हिंसाका १२० वटा मुद्दा दर्ता भएका छन् । यद्यपि सामाजिक अवरोधका कारण बलात्कारका घटना रिपोर्ट नगर्ने प्रवृत्ति यहाँ व्याप्त छ ।
विज्ञले भनेका छन्, “घटनाको अध्ययनले के सङ्केत गरेको भने डार्फरका हरेक झगडामा शक्ति हात पार्न बलात्कारलाई एक साधनका रुपमा प्रयोग भइरहेको छ ।”
विज्ञको बुझाइमा लिबिया बाहेक सुडानका अन्य छिमेकी मुलुक डार्फरसमेतमा शान्ति प्रक्रियालाई गतिदिन अहिले निकै सकारात्मक र अनुकूल अवस्था सिर्जना भएको छ ।
विज्ञको भनाइमा लिबियामा सुडानी विद्रोही समूह रेपिड सपोर्ट फोर्सको उपस्थितिको कुनै विश्वसनीय प्रमाण छैन । लिबिया र अन्य मिडियाले सुडानी रेपिड फोर्स लिबियामा सक्रिय रहेको दाबी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *