भर्खरै :

धान नकिन्दा किसान समस्यामा

वीरगञ्ज, १३ माघ । नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले धान खरिद गर्न बन्द गरेपछि किसान निराश भएका छन् ।
कार्यालयले एक सूचना प्रकाशित गरी माघ १० गतेदेखि धान खरिद गर्न बन्द गरेपछि धान बेच्न आउने किसान निराश भई घर फर्किन बाध्य भएका हुन् ।
एकाबिहानै ट्रयाक्टरमा धान लिएर वीरगञ्जको मुर्लीस्थित कम्पनीको शाखा कार्यालयमा पुग्दा धान खरिद गर्न बन्द गरेको थाहा पाएपछि निराश भई घर फर्केका वीरगञ्ज महानगरपालिका–२४ रामगढवा किसान विजय पण्डितले भन्नुभयो, “कार्यालयले एकाएक धान खरिद गर्न बन्द गरेपछि हामीले सस्तो दरमा निजीस्तरका गल्ला व्यापारीलाई बेच्नुपर्ने बाध्यता आइपुगेको छ ।”
अचानक सो सूचना प्रकाशित गरी धान खरिद स्थगित गरे पनि अहिले सो कार्यालयमा दैनिक तीनदेखि ६ सय क्विन्टल धान बिक्री गर्न किसान आउने गरेको छ । तर, धान खरिदको काम बन्द भएपछि किसान निराश भई घर फर्किन बाध्य भएको सो कार्यालयका वरिष्ठ सहायक मुनिलाल कुशवाहाले बताउनुभयो ।
जिरा मन्सुली पाँच हजार क्विन्टल तथा सोना मन्सुली २० हजार क्विन्टल गरी कुल २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकोमा कार्यालयले जिरा मन्सुली ३२ क्विन्टल २५० केजी तथा सोना मन्सुली १९ हजार ९९९ क्विन्टल २० केजी खरिद गरिसकेको छ । निजी गल्ला व्यापारीले जीरा मसिनो धान प्रतिक्विन्टल ३ हजार २० रूपैयाँमा खरिद गर्ने गरेको छ भने कार्यालयले सो धान प्रतिक्विन्टल तीन हजार १ सयमा खरिद गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *