भर्खरै :

भक्तपुर क्यान्सर अस्पतालभित्रको नालीबेली

 रामकृष्ण अधिकारी
जनता, जनप्रतिनिधिमूलक संस्था र नेपाल सरकारको सहयोगमा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालमा हाल दैनिक ३०० देखि ५०० बिरामीलाई सेवा दिइरहेको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले अस्पताललाई कानुनी अस्तित्वविहीन बनाई अवैधानिकरूपमा सञ्चालन गर्दै आइरहेकोमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ  । हाल अस्पतालमा १ सय २६ शैय्या सञ्चालनमा छन् भने दैनिक औसत ९० देखि १०० वटा क्यान्सरसम्बन्धी रोगका बिरामीको सेवा भइरहेका छन् । अस्पतालमा दैनिक करिब ९ जना नयाँ क्यान्सरका बिरामी दर्ता भइरहेका छन् । दैनिक ७ देखि ८ वटा ठूलो शल्यक्रिया (मेजर अप्रेसन), २० देखि २५ वटा केमोथेरापी हुने गरेको छ । दैनिक करिब ९० जना बिरामी लिनायक मेसिनबाट क्यान्सरको उपचार भइरहेको छ । अस्पतालले देशको कुल क्यान्सर रोगीमध्ये करिब १५ देखि २० प्रतिशत रोगीलाई सेवा दिइरहेको छ । यसप्रकार क्यान्सरजस्तो संवेदनशील रोगको उपचार गर्ने निकायलाई कुनै पनि सरकारी निकायले नियमन र अनुगमन गर्न नपर्ने र नसक्ने गरी बिनादर्ता नेपाल अर्बुद रोग निवारण संस्था नियन्त्रित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले नियोजितरूपमा अवैधानिक ढङ्गले सञ्चालन गरी बेवारिसे बनाउँदा अस्पताल आफै भ्रष्टाचारको क्यान्सर रोगबाट ग्रसित बनेको छ ।
अस्पताल कसरी यस्तो अवस्थामा पुग्यो भनी बुझ्न यसको स्थापनाकालदेखिको इतिहास केलाउन आवश्यक हुन्छ । सुरुमा देशमा क्यान्सरको बिरामी उपचार गर्ने एउटा संस्थाको आवश्यकता महसुस गरी नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारी आमन्त्रित गरी भक्तपुरका रोटरीलगायतका विभिन्न सङ्घ–संस्थामा कार्यरत लब्धप्रतिष्ठित व्यक्तिहरू तथा स्थानीय निकायका जनप्रतिनिधिसहित सम्मिलित भएर २०५३ मा ‘भक्तपुर क्यान्सर प्रोजेक्ट’ को स्थापना भएको थियो । सो प्रोजेक्टमार्फत भक्तपुर अस्पतालको उत्तरतर्फको भागमा रेडियोथेरापी युनिट तथा ‘भक्तपुर अर्बुद रोग सेवा केन्द्र’ (Bhaktapur Cancer Care Center) को नाममा क्यान्सरका बिरामीहरूको उपचार गराइएको थियो । यसबीच मिति २०५५।४।१८ मा सो प्रोजेक्टको सञ्चालक समितिको बैठकमा २०३९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको नेपाल अर्बुद रोग निवारण संस्था (Nepal Cancer Relief Society) का तात्कालीन अध्यक्ष हरिप्रसाद पौडेल स्वयम्ले अनियमितरूपमा बैठकको अध्यक्षता गरी संस्थाका अध्यक्ष नै ‘भक्तपुर अर्बुद रोग सेवा केन्द्र’ (Bhaktapur Cancer Care Center) को अध्यक्ष रहने गरी सञ्चालक समिति पुनर्गठन गरियो । ‘भक्तपुर अर्बुद रोग सेवा केन्द्र’ लाई पटक–पटक स्वायत्तता प्रदान गरी स्वतन्त्र स्वास्थ्य संस्थाको रूपमा स्थापना गर्ने भनी व्यवस्थापन समितिबाट निर्णय भएको थियो । तात्कालीन समयमा रोटरी फाउन्डेसन, नेपाल सरकार, भक्तपुर नगरपालिका तथा भक्तपुर अस्पताललगायतका निकायबाट जग्गा, आर्थिक तथा उपकरण सहयोग प्राप्त गरेकोमा साबिक भक्तपुर अर्बुद रोग सेवा केन्द्र (Bhaktapur Cancer Care Center) हाल नाम परिवर्तित भक्तपुर क्यान्सर अस्पताल मिति २०५३।८।२२ को दिन तत्कालीन जिल्ला विकास समितिका सभापतिको अध्यक्षतामा सञ्चालन भएको हो ।
यसरी व्यवस्थापन समितिको मिति २०५७।४।१७ को बैठकले भक्तपुर क्यान्सर प्रोजेक्टको नाम परिवर्तन गरी ‘भक्तपुर अर्बुद रोग सेवा केन्द्र’ (Bhaktapur Cancer Care Center) को नाममा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही व्यवस्थापन समितिको मिति २०५५।४।१८ गतेको बैठकबाट सो केन्द्रलाई पूर्ण स्वायत्तता प्रदान गरी ७ सदस्यीय समिति गठन भएको थियो ।
२०३९ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडाँैमा दर्ता भएको नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीहरू क्यान्सर केयर सेन्टरको बैठकमा उपस्थित भएकोमा पछि नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष नै क्यान्सर केयर सेन्टरको व्यवस्थापन समितिको अध्यक्ष भएपश्चात् मिति २०५९।४।१२ गते नेपाल अर्बुद रोग निवारण संस्थाको केन्द्रीय समितिको बैठकले आफ्नो विधान नै संशोधन गरेर भक्तपुर अर्बुद रोग सेवा केन्द्र अङ्ग्रेजीमा (Bhaktapur Cancer Care Center)
(तत्कालीन नाम) सञ्चालनको व्यवस्थापकीय जिम्मेवारी व्यवस्थापन समितिलाई स्वायत्तता प्रदान गर्ने नाममा आफूले लिएको घोषणा ग¥यो । भक्तपुर अर्बुद रोग सेवा केन्द्रको व्यवस्थापन समितिको व्यवस्थापनमा मात्र रहेकोमा उसले विधानमा नै नेपाल अर्बुद रोग निवारण संस्थाको अध्यक्ष नै भक्तपुर क्यान्सर केयर सेन्टरको पदेन अध्यक्ष रहने गरी विधान संशोधन ग¥यो । उनीहरूले अस्पताल नै नेपाल अर्बुद रोग निवारण संस्थाले चलाएको जस्तै गरी आफ्नै विधानमा त्यस्तो विषय उल्लेख गरे । त्यति बेलासम्म भक्तपुर क्यान्सर अस्पताल (तत्कालीन भक्तपुर क्यान्सर केयर सेन्टर) मा भक्तपुर नगरपालिकाका मेयर वा प्रशासकीय अधिकृत, जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सदस्य रहने व्यवस्था थियो ।
तत्पश्चात् मिति २०५६।६।२१ गते तात्कालीन राजा श्री ५ वीरेन्द्रबाट भक्तपुर क्यान्सर केयर सेन्टरको नामबाट भवनको समुद्घाटन भएको थियो ।
भक्तपुर अर्बुद रोग सेवा केन्द्र अङ्ग्रेजीमा (Bhaktapur Cancer Care Center) को सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी नेपाल अर्बुद रोग निवारण संस्थाले एकतर्फी रुपमा लिनुअगाडि मिति २०५८।१०।२४ मा भक्तपुर नगरपालिकाले भक्तपुर अर्बुद रोग सेवा केन्द्रका नाउँमा करिब ५–४–०–० क्षेत्रफल जग्गा स–सर्त र त्यसपछि रु. २० लाख उपलब्ध गराएको थियो । भक्तपुर अस्पतालले मिति २०५६।६।३ को पत्रानुसार भक्तपुर अर्बुद रोग सेवा केन्द्रको नाउँमा नै आफ्नो नाउँमा रहेको जग्गामध्येबाट केही जग्गा उपलब्ध गराएको थियो । यसैगरी भक्तपुर अर्बुद रोग सेवा केन्द्र (Bhaktapur Cancer Care Center) को नाउँमा कर्मचारी सञ्चयकोषमा हालसम्म कर्मचारीहरूको सञ्चयकोष जम्मा भइरहेको छ ।
भक्तपुर अर्बुद रोग सेवा केन्द्र (Bhaktapur Cancer Care Center) को नामबाट सञ्चालित संस्थालाई पछि एक अविछिन्न उत्तराधिकारीवाला स्वशासित र पूर्ण स्वायत्त सङ्गठित संस्थाका रूपमा दर्ता गर्ने भनी मिति २०५५।०४।१८, २०५५।११।२४ र २०५७।०३।०९ का बैठकहरूबाट निर्णय हुनुका साथै कर्मचारी नियमावली २०५५ मा उल्लेख गरेको २०५९।४।१२ गते बसेको नेपाल अर्बुद रोग निवारण संस्थाको केन्द्रीय समितिको बैठकको निर्णयमा सोही व्यहोरा उल्लेख गरिएको थियो । तर, भक्तपुर अर्बुद रोग सेवा केन्द्रलाई नेपाल अर्बुद रोग निवारण संस्थामातहत ल्याई नाम परिवर्तन गरेर भक्तपुर क्यान्सर अस्पताल नामकरण गरी एक स्वायत्त, अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संस्थाको रूपमा स्थापना, विकास र सञ्चालन नगरी कुनियतले विभिन्न विवादास्पद कार्य हुँदै गयो । अस्पतालको कानुनी हैसियत समाप्त पार्ने योजना बुनियो । नेपाल अर्बुद रोग निवारण संस्थामातहतको कथित व्यवस्थापन समितिले अस्पताललाई हालसम्म कुनै पनि आधिकारिक निकायमा दर्ता नगरी बेवारिसे कानुनी अस्तित्वविहीन अवस्थामा अस्पताल सञ्चालन गर्न खोज्यो । गैरसरकारी संस्थाले स्वास्थ्य संस्था सञ्चालन गर्ने हो भने पनि समाज कल्याण परिषद् र जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउनैपर्ने कानुनी व्यवस्था छ । तर, भक्तपुर क्यान्सर अस्पताल दर्ता गर्ने प्रयोजनका लागि यी कुनै पनि कानुनी व्यवस्था पूरा नगरिकन नेपाल अर्बुद रोग निवारण संस्थाले २०५९ सालदेखि नै एकलौटीरूपमा आफ्ना केही पदाधिकारी र पदाधिकारीको कम्पनीलाई फाइदा पुग्ने गरी र व्यवस्थापन समितिका अन्य व्यक्तिलाई अप्रत्यक्ष लाभ पुग्ने गरी भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन र सञ्चालन ग¥यो । सो व्यवस्थापन समितिले अस्पतालको नाममा न कुनै प्यान नम्बर लियो न त अस्पताल दर्ता गर्नुपर्ने आवश्यकता नै देख्यो । बरू आफूखुसी अस्पतालको लेटर हेड र स्ट्याम्प प्याड बनाएर कानुनी व्यक्तिजस्तो देखिने गरी उनीहरूले अस्पताल सञ्चालन गरिरहे ।
पहिलेदेखि नै सञ्चालनमा रहेको अस्पतालले तत्कालीन समयमा ५ प्रतिशत स्वास्थ्य सेवा कर अर्थात् एच.एस.टी (Health Service Tax) पनि तिर्नुपर्ने थियो । तर, अस्पताललाई अर्बुद रोग निवारण संस्थाले न आन्तरिक राजस्व कार्यालयमा कर बुझाउन लगायो न त अस्पताल दर्ता गर्न दियो । नेपाल अर्बुद रोग निवारण संस्थाले अहिलेसम्म अस्पतालको नामबाट प्यान नम्बर लिन चाहेको छैन । अहिले पनि नेपाल अर्बुद रोग निवारण संस्थाकै प्यान नम्बर प्रयोग गरेर अस्पतालको दैनिक प्रशासनिक कार्य गरिरहेको छ । स्वास्थ्य सेवा विभागले सञ्चालन स्वीकृति दिँदा कर प्रयोजनका लागि करदाता सेवा कार्यालय पुतलीसडकलाई पनि बोधार्थ दिँदै कर तिर्नुपर्ने व्यवस्था गरे पनि नेपाल अर्बुद रोग निवारण संस्थाले भने अहिले पनि उक्त अस्पतालको कर तिरेको छैन । क्यान्सरको उपचार गर्ने पवित्र संस्थाको रूपमा अस्पताल खोलेको र चलाएको देखाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग ल्याउने र विभिन्न उपकरण सहयोगस्वरुप प्राप्त गर्ने तर अस्पताललाई आएको आर्थिक सहयोग र सेवा प्रयोग गरेबापतको शुल्कबाट हुने आय विभिन्न शीर्षक बनाएर अनियमितता गर्ने गरेको छ । आर्थिक वर्ष २०७४।०७५ मा भक्तपुर क्यान्सर अस्पतालले १५ करोड ९७ लाख २० हजार ३ सय २६ रुपैयाँ आम्दानी गरेको थियो । नेपाल अर्बुद रोग निवारण संस्थाको प्रतिवेदनमा १ करोड १७ लाख ५१ हजार ६ सय ८३ रूपैयाँ आम्दानी गरेको उल्लेख छ । यदि सो संस्थाअन्तर्गत अस्पताल रहेको हो भने पनि संस्थाले एउटै प्यान नम्बर प्रयोग गरिसकेपछि खर्च एकीकृतरूपमा देखाउनुपर्ने हो । तर, संस्थाले भने नेपाल अर्बुद रोग निवारण संस्थाको खर्चमात्रै देखाएर कर चुक्ता प्रमाणपत्र लियो । भक्तपुर क्यान्सर अस्पतालको आम्दानी र खर्चको कुनै विवरण नै कर कार्यालयमा बुझाएन र राजस्व हिनामिना ग¥यो ।
२०५९ मा नेपाल अर्बुद रोग निवारण संस्थाको व्यवस्थापन समिति र संस्थाले के कति कानुनी आधारमा नेपाल अर्बुद रोग निवारण संस्थाको विधानमा नै व्यवस्थापनको जिम्मेवारी आफ्नो हातमा लिने निर्णय गरे ? के कुन अधिकारले एक गैरसरकारी संस्थाको विधानमा गर्नै नहुने संशोधन गरी जिल्ला प्रशासन कार्यालयबाट स्वीकृतसमेत नगराई स्वास्थ्य मन्त्रालयको सहसचिव सदस्य रहने गरी व्यवस्थापन समिति बनाउने निर्णय गराए ? कुन कानुन र अधिकार क्षेत्रको आधारमा अस्पतालको नाम नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पतालको नामबाट सञ्चालन गर्ने निर्णय गरियो, स्पष्ट छैन । नेपाल अर्बुद रोग निवारण संस्थाको कुनै लगानी नभएको, आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर रहेको भक्तपुर क्यान्सर अस्पताल नै आफूमातहत ल्याउने गरी केको आधारमा निर्णय भएको थियो ? नेपाल अर्बुद रोग निवारण संस्थालाई यस्तो अधिकार कसले दियो ? यी प्रश्न अनुत्तरित छन् । नेपाल अर्बुद रोग निवारण संस्थाले कुनै पनि प्रक्रिया पूरा नगरी कुनै कानुनी अधिकारविना भक्तपुर क्यान्सर अस्पतालमाथि अवैध कब्जा गरी गैरकानुनीरूपमा सम्पूर्ण अधिकार आफ्नो हातमा लियो ।
तत्कालीन समयमा ५० शैय्यादेखि २ सय शैय्यासम्मको अस्पताल सञ्चालनका लागि स्वास्थ्य सेवा विभागबाट सञ्चालन स्वीकृति दिने प्रावधान थियो । त्यही प्रावधानका आधारमा स्वास्थ्य सेवा विभागका तत्कालीन प्रमुख मेडिकल अधिकृतले ३ वर्षका लागि सेवा सञ्चालन गर्ने अनुमति मिति २०७४।१।२६ प्रदान गरेका छन् । तत्कालीन समयमा भक्तपुर क्यान्सर अस्पताललाई नयाँ अस्पताल सञ्चालन गर्न स्वीकृति दिइएको हो भने उक्त पत्रमा हालको अस्पतालको स्तरोन्नतिको कुरा गरिएको छैन । यदि पहिले नै अस्पताल सञ्चालन स्वीकृति लिएर सञ्चालन गरेको भए स्तरोन्नतिको विषय आउनुपर्दथ्यो । तर अस्पताल कहिल्यै पनि दर्ता नभएकोले नयाँ अस्पताल स्वीकृति दिइएको देखिन्छ । यदि नयाँ अस्पताल स्वीकृतिको आधार मान्ने हो भने स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नतिका लागि पहिले एलओआई LOIअर्थात् मनसायपत्र लिनुपर्ने हुन्छ । यदि अस्पताल २५ शैय्याभन्दा बढीको हो भने वातावरणीय प्रभाव मूल्याड्ढन अर्थात् ईआइए EIA रिपोर्ट पनि पेश गर्नुपर्ने हुन्छ । पहिले अस्पताल सञ्चालनका लागि एलओआई LOI लिने र भौतिक पूर्वाधार पूरा भएपछि अनुगमन गरी अस्पताल सञ्चालनका लागि सञ्चालन स्वीकृति दिने गरिन्छ । अस्पताल सञ्चालन गर्ने हो भने पनि जग्गा तथा भवनको प्राप्ति, भाडामा हो भने घर बहालमा लिएको सम्झौतापत्र, कर प्रयोजनका लागि प्यान नम्बर लिएको हुनुपर्ने, कम्पनीमा दर्ता भएको हुनुपर्ने कानुनी व्यवस्था छ । तर, यस अस्पतालको स्वीकृति लिन कुनै पनि कानुनी प्रक्रिया पूरा गरिएको छैन । नेपाल अर्बुद रोग निवारण संस्थाका केही मानिसको बद्नियतपूर्वक, आफ्नो स्वार्थ पूरा गर्ने गरी गैरकानुनीरूपमा अस्पताल सञ्चालन गर्दा कर्मचारीहरूको भविष्य अन्योलमा पर्ने र संस्थाको कानुनी हैसियत खतरामा परेर कर्मचारीहरूलाई अपूरणीय क्षति पुग्ने निश्चित थियो ।
व्यावहारिकरूपमा हेर्ने हो भने भक्तपुर क्यान्सर अस्पताल सञ्चालन भएको २३ वर्ष भयो । भक्तपुर अस्पतालको ठीक उत्तरतर्फ सञ्चालनमा रहेको भक्तपुर क्यान्सर अस्पताल उपत्यकामा क्यान्सर रोगको उपचारका लागि राम्रो मानिने एउटा अग्रणी अस्पताल हो । २०५५ सालदेखि क्यान्सर रोगको उपचारमा संलग्न रहेको यो अस्पताल २०५६ साल असोज २१ गते तत्कालीन राज्य प्रमुखबाट उद्घाटन भयो । नेपाल अर्बुद रोग निवारण संस्थाले त्यसपछि लामो समयसम्म आफ्नै ढङ्गबाट चलाइरहेको यो अस्पताल २०७४ साल वैशाख २६ गते नेपाल सरकार समेतलाई गुमराहमा पारी अस्पताल सञ्चालनको स्वीकृति लिएको पाइएको छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाले २०५९ साउन १२ गतेको मिति राखी आफ्नो केन्द्रीय कार्यसमितिको बैठकको निर्णय भन्दै भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापनको जिम्मेवारी स्वतः नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्षले गर्ने निर्णय थियो । त्यही बैठकले उक्त अस्पताल व्यवस्थापन समितिको सदस्यको रूपमा स्वास्थ्य मन्त्रालयका एकजना सहसचिव पनि राख्ने निर्णय गरियो । त्यसैगरी स्वास्थ्य मन्त्रालयका सचिव सल्लाहकार समितिको सदस्य रहने उल्लेख छ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने विधानमै उल्लेख गरेको यस्तो व्यवस्था खारेज गरिदिएको छ । विधान संशोधनको तीन महले खण्डमा यो कुरा उल्लेख हुनुपर्ने भए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट यस्तो विधान संशोधनसहित स्वीकृत भएको छैन । तथापि नेपाल अर्बुद रोग निवारण संस्थाले भने भक्तपुर अस्पतालमा आफूखुसी बनाएको त्यही विधान र निर्णय देखाउँदै व्यवस्थापन समिति चलाइरहेको थियो ।
यी सबै प्रसङ्गबाट के प्रस्ट हुन्छ भने नेपाल अर्बुद रोग निवारण संस्थाले भक्तपुर क्यान्सर अस्पताललाई देखाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग ल्याउने र अपारदर्शी ढङ्गले खर्च गर्ने काममात्रै गरिरहेको छ । तर, अस्पतालप्रति आफ्नो दायित्व र जिम्मेवारी भने पूरा गरेको छैन । वर्षौंदेखि सरकारी बेवास्ता र एनजीओको कब्जाका कारण अहिले यो अस्पतालको स्वतन्त्र कानुनी हैसियत समाप्त गरी गैरसरकारी संस्थाको मातहतमा राख्ने दुष्कार्य भएको छ । यस सम्बन्धमा नेपालको एक महत्वपूर्ण सेवा दिने अस्पताललाई स्वतन्त्र र अविच्छिन्न उत्तराधिकारयुक्त संस्थाको रूपमा चलाउन सरोकारवाला निकायबाट पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता भएको छ ।
अतः अस्पताललाई कानुनी अस्तित्वविहीन बनाई अवैधानिकरूपमा सञ्चालन गरिएबाट कार्यरत कर्मचारीहरूलाई अन्याय भइरहेको हुँदा नेपाल अर्बुद रोग निवारण संस्थाको व्यवस्थापन समिति यथावत रहेमा गैरकानुनीरूपमा कब्जामा लिएको व्यवस्थापनले आर्थिक अपचलन गर्ने, कर्मचारीलाई शोषण गर्ने, कर्मचारी निरुत्साहित हुने, सेवा प्रभावित हुने र सेवाग्राहीबाट गैरकानुनी असुली गर्ने र अस्पतालको सेवा वितरणमा अन्याय गर्ने प्रवल सम्भावना हुन्छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाअन्तर्गतको व्यवस्थापन समितिले अस्पतालको कर्मचारी प्रशासन नियमावली २०५५ नियम ८०, ८१, ८२ नं. बमोजिम कर्मचारीले स्थायी हुन पाउने र पदोन्नतिको योग्य भए पनि अस्पतालका कर्मचारीहरूलाई कुनै पदोन्नति र स्थायी नियुक्तिको लागि व्यवस्थापनले बेवास्ता गरी नियमानुसार काम गरेको छैन । त्यसकारण सो व्यवस्थापन समितिलाई निरन्तरता दिएमा कानुन प्रदत्त हकमा आघात पार्ने कार्यले निरन्तरता पाउने भई अन्याय हुनेछ ।
नेपाल अर्बुद रोग निवारण संस्था व्यवस्थापन समितिको कर्मचारी प्रशासन नियमावलीको नियम ७१ (१) र (२) मा अस्पताल सेवाका सम्बन्धमा गरिएका अन्यायपूर्ण निर्णयहरू, मौजुदा कर्मचारी प्रशासन नियमावलीअनुसार गरिनुपर्ने उपदान कोषका सम्बन्धमा गरिएको हेलचेक्राइँ, अस्पतालका कर्मचारीहरूप्रति गरिएका अन्यायपूर्ण व्यवहार, कर्मचारीहरूको निम्ति आवश्यक पानी, स्वास्थ्य सुरक्षालगायतका जस्ता आधारभूत आवश्यकताहरूमा देखाइएको असंवेदनशीलताले नेपालको संविधानद्वारा संरक्षित कर्मचारीहरूको रोजगारीको हक र नेपालका कानुनमा रहेका पदोन्नति हुन पाउने हक र स्थायी नियुक्ति पाउने हकको संरक्षण गर्न आवश्यक कदम चाल्न पाउने कर्मचारीहरूको हक सुरक्षित छ । जनताको स्वास्थ्यसम्बन्धी हक तथा कर्मचारीहरूको श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ ले व्यवस्था गरेको व्यवसायजन्य स्वास्थ्य सुरक्षासम्बन्धी हक, सामाजिक सुरक्षासम्बन्धी हकमा समेत असर परेको हुनाले सोही व्यवस्थापन समितिलाई निरन्तरता दिएमा कर्मचारीहरूको कानुनी हक तथा अस्पतालका सेवाग्राहीहरूको संविधानको धारा ३५(४) प्रदत्त गुणस्तरीय स्वास्थ्य सेवासम्बन्धी हकमा नकारात्मक असर पर्ने निश्चित छ ।
भक्तपुर क्यान्सर अस्पतालका मेडिकलअन्तर्गत कार्यरत डाक्टर, नर्स र पारा मेडिकलअन्तर्गत कार्यरत कर्मचारीहरूले अस्पताल कर्मचारी प्रशासन नियमावली, २०५५ को दफा ४४ मा तोकिएको अवधिभन्दा ज्यादा अवधिसम्म ड्युटी गर्नुपर्ने अवस्था रहिरहने र सो कारणले चिकित्सक तथा कर्मचारीहरूमाथि भइआएको श्रम शोषणको अवस्था विद्यमान रहने हुनाले तत्काल नेपाल अर्बुद रोग निवारण संस्थाको व्यवस्थापन समितिले कर्मचारीहरूको हकमा असर पार्ने कुनै काम गर्न नपाउने गरी व्यवस्थापन समिति अमान्य घोषित गरिन आवश्यक छ ।
कर्मचारीहरूलाई नेपाल अर्बुद रोग निवारण संस्थाअन्तर्गतको व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीबाट कर्मचारी प्रशासन नियमावली र आर्थिक विनियमअनुसार नगरी संस्थाप्रति उत्तरदायी बनाउनुको साटो पदाधिकारीप्रति उत्तरदायी र उनलाई खुसी पार्न जेसुकै काम गर्नुपर्ने र परमुखापेक्षी बनाउने वातावरण सिर्जना हुने भएबाट कर्मचारीले गर्नुपर्ने व्यवसायिक सेवा प्रभावित हुन जान्छ । अस्पतालमा कार्यरत कर्मचारीहरू संस्थागतभन्दा व्यक्तिगत निर्णयबाट डराई कार्य गर्नुपर्ने अवस्था सिर्जना भएको, अस्पताल सञ्चालनको लागि आवश्यक सरसामान तथा मेडिकल उपकरण आर्थिक विनियमको नियमविपरीत खरिद प्रक्रियाको लागि दबाब दिने कार्यले सोही व्यवस्थापन समितिले काम गर्दा निरन्तरता पाउने भएकोले अस्पतालको लागि प्रत्युत्पदक हुने देखिन्छ । अस्पतालजस्तो संवेदनशील संस्थाको भवन निर्माण कार्यका लागि तोकिएको प्राविधिक कन्सल्टेन्सी (MEH Consultant Pvt.Ltd) ले अयोग्य भनी उल्लेख गरेको निजी कम्पनी MKS Design and Built Pvt. Ltd. । लाई सो व्यवस्थापन समितिले नियोजितरूपमा टेन्डर दिई प्रशासनिक सहकार्यको लागि दबाब दिएको थियो ।
भक्तपुर क्यान्सर अस्पतालको आर्थिक विनियमको परिच्छेद ४ को खरिद, निर्माण तथा सेवा सम्बन्ध व्यवस्थाअन्तर्गतको विनियम १६.१.२ को व्यवस्था अनुसार रु. १०,००,००१।– भन्दा माथिको सामान अथवा सेवा प्राप्त गर्न वा छपाइ गर्न टेन्डरद्वारा प्रतिस्पर्धा गरी सेवा लिनुपर्नेमा सो नगरी वार्षिक करोडौँ कारोबार हुने यस अस्पतालले बेल फर्मासँग मासिक रु.१५,९०,९०९।– मा विनाटेन्डर सञ्चालन गरिरहेको र सोसमेतमा कर्मचारीहरूलाई कुनै रोकटोकविना सहयोग गर्न सो व्यवस्थापन समितिले दबाब दिने गरेको थियो । लेखा परीक्षणमा देखिएको आम्दानी र कर कार्यालयलाई बुझाएको आम्दानीमा देखिएको फरक हिसाबले कम्पनीमा भइरहेको आर्थिक हिनामिना र भ्रष्टाचार प्रस्ट हुन्छ । नेपाल अर्बुद रोग निवारण संस्थाको व्यवस्थापन समिति कायम भइराखेमा भ्रष्टाचारको अवस्था कायम रहिरहने भएकोले सो व्यवस्थापन समितिलाई निरुत्साहित गर्न न्यायिक हस्तक्षेप जरुरी देखिन्छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाअन्तर्गतको व्यवस्थापन समितिका सदस्यहरूले अस्पतालमा कार्यरत कर्मचारीलाई पदको मानसम्मानमा ठेस पुग्ने गरी सार्वजनिकरूपमा बेइज्जत गर्नाले अस्पतालको नियमित कार्य गर्न कठिन हुने र अस्पतालका कर्मचारीहरूको नेपालको संविधानको धारा १६ बमोजिम सम्मानपूर्वक बाँच्न पाउने अधिकार र धारा १८ को समानताको हक हनन भएको देखिन्छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाअन्तर्गतको व्यवस्थापन समितिले भरोसा सर्भिसेज प्रा.लि. सँग तीन चरणको सम्झौता गरेकोमा मिति २०७४।०६।१५ देखि २०७५।०६।१४, दोस्रो मिति २०७४।०४।०१ देखि २०७५ कार्तिकसम्म र तेस्रो मिति २०७५।०८।१ देखि २०७६ कार्तिकसम्मको लागि लागू हुने करार सम्झौता भएकोमा पहिलो सम्झौता क्रियाशील हुँदा हुँदै पुनः दोस्रो सम्झौता साउन १ गतेदेखि थप तलब निर्धारण गरे तापनि कर्मचारीहरूमध्ये सफाइ मजदुरहरू (१ जना सुपरभाइजर र ३७ जना सफाइ मजदुरसमेत गरी जम्मा ३८ जना) उक्त अस्पतालमा भरोसा सर्भिसेज प्रा.लि.को तर्फबाट अस्पताल सरसफाइमा नियुक्ति भई कार्य भइरहेको हो । सो व्यवस्थापन समितिका सदस्य विमलकुमार होडासमेतले उक्त कम्पनी खोली अस्पतालसँग कर्मचारीहरूको नाममा लिएको पारिश्रमिकको आधा पनि कर्मचारीहरूलाई नदिएको सार्वजनिक भइसकेको छ । मजदुरहरूलाई शोषण गर्ने नीति बनाई कर्मचारीहरूले रातदिन नभनी गरेको कामको ज्याला सो व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरूले खाँदै आइरहेको विषयमा विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशन भएपश्चात् तत्काल भरोसाले अस्पताललाई मिति २०७६।०५।०१ मा पत्र लेखी हालबाट करार भङ्ग भइसकेको छ ।
तसर्थ गैरसरकारी संस्थाले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा गैरकानुनी र अवाञ्छित क्रियाकलाप गरी निजी फाइदा उठाइरहेकोले उप्रान्त अस्पतालको व्यवस्थापनमा कुनै हस्तक्षेप नगर्नु नगराउनु उपयुक्त नहुने अस्पतालका सबै सहयोगी र शुभचिन्तकहरूको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *