भर्खरै :

भक्तपुर महोत्सवको तयारी सुरु

भक्तपुर, १४ माघ । भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सवको तयारी थालेको छ । महोत्सव तयारीको क्रममा मङ्गलबार भक्तपुर महोत्सव मूल समितिको पूर्ण बैठक बस्यो । बैठक समितिका अध्यक्ष एवम् नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको थियो ।
आगामी चैत ४–८ गतेसम्म हुने पाँचदिने भक्तपुर महोत्सव भव्यताका साथ सम्पन्न गर्न १६१ सदस्यीय मूल समारोह समिति तथा विभिन्न समिति, उपसमितिहरू गठन गरिएका छन् ।
बैठकमा प्रमुख प्रजापतिले भक्तपुरको मौलिक एवम् ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व, जीवनशैली अन्तर्राष्ट्रिय जगतमा प्रचार तथा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न टेवा पु¥याउने लक्ष्यका साथ भक्तपुर महोत्सवको आयोजना भएको बताउँदै आन्तरिक तथा बाह्य पर्यटकहरूले भक्तपुरलाई नजिकबाट चिन्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले महोत्सवसँगै भ्रमण वर्षभरि नै भक्तपुरलाई महोत्सवमय होस् भन्ने हेतुले माघ २६ गते जिल्लास्तरीय धिमेबाजा प्रतियोगिता, फागुन ८ गतेदेखि अन्तरनगर एथलेटिक्स खेलकुद प्रतियोगिता हुने जानकारी गराउनुभयो ।
बैठकले भक्तपुर महोत्वसको उद्घाटन समारोह भक्तपुर दरबार क्षेत्रमा चैत ४ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष सरिता कुँवरले महोत्सव सफलताको कामना गर्दै जिल्लाभित्रका बाँकी ३ वटा नगरपालिकाका सांस्कृतिक सम्पदा र मौलिक उत्पादन पनि महोत्सवमा समेट्न सकेमा उपयुक्त हुने सुझाव दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर महोत्सवको आयोजनाले नगरको कला, कौशल, परम्परागत सीपलाई जीवन्तता दिँदै यसको प्रचारप्रसारलाई मद्दत पु¥याउने बताउँदै नगर तथा देशकै आर्थिक सबलता हासिल गर्न थप टेवा पु¥याउने बताउनुभयो ।
उहाँले सुरक्षालाई दृष्टिगत गरी महोत्सवलाई सफल पार्न स्काउट, खेलाडी तथा स्कूल कलेजका विद्यार्थीलाई स्वयम्सेवक खटाउनु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।
बैठकमा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याल, पर्यटन अधिकृत गौतमप्रसाद लासिवालगायतले बोल्नुभएको थियो । बैठकमा सहभागीहरूले महोत्सव सफल बनाउन विभिन्न सुझाव दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *