भर्खरै :

भारतमा सीएए र एनआरसीविरुद्धको आन्दोलन जारी

नयाँ दिल्ली, १६ माघ । भारतको मोदी सरकारको लागि भारतमा चालू नागरिकता संशोधन ऐन (सीएए) र राष्ट्रिय नागरिकता पञ्जीकरण (एनआरसी) विरोधी आन्दोलन घाँटीमा अड्केको आलुजस्तै बनेको छ । चर्को प्रहरी दमनले पनि आन्दोलनलाई बीसको उन्नाइस गर्न सकेको छैन ।
दिल्लीको शाहिन बागमा मुसलमान महिलाहरूले सीएए पारित भएलगत्तै थालेको धर्नाले अहिले उत्कर्ष रूप लिएको छ ।
शाहिन बागको आन्दोलनबारे बीबीसीका दिल्ली संवाददाता चिंकी सिन्हाले १० जनवरीमा लेखेकी थिइन्, “दिल्लीको शाहिन बाग एउटा यस्तो इलाका बनेको छ जो बितेका तीन सातायता विरोधको प्रतीक बनेको छ । शाहिन बागले सबै मान्यता तोडेको छ । सबैलाई चकित पारेको छ ।”
शाहिन बागको धर्नामा हिजाब लगाएर सहभागी बनेकी एक महिलाले आफ्नो प्रदर्शनबारे भनिन्, “शाहिन बाग निकै उचाइमा उड्ने चराको नाम हो जसले उचाइमा उड्दा उड्दै आफ्नो शिकार गर्छ ।”
हरेक साँझ शाहिन बागमा हुने सभामा विभिन्न क्षेत्रका व्यक्तित्व आएर ऐक्यबद्धता व्यक्त गर्दै आएका छन् । कलाकार, राजनीतिक दलका नेतादेखि सामाजिक अभियन्ता र विद्यार्थी नेताहरू त्यहाँ पुगेर धर्नाप्रति ऐक्यबद्धता व्यक्त गर्ने गरेका छन् । फलतः शाहिन बागको आन्दोलन आज पूरै भारतमा मोदी सरकारविरोधी आन्दोलन र प्रतिरोधको प्रतीक बनेको छ । संसारमा एक समय निकै चर्चा पाएका लोकप्रिय आन्दोलनपछि त्यत्तिकै बिनापरिणाम सामसुम भएका धेरै उदाहरण छन् । संरा अमेरिकामा भएको ‘अक्युपाई वाल स्ट्रिट’देखि फ्रान्सको ‘एल्लो भेस्ट आन्दोलन’ यसका केही दृष्टान्त हुन् । शाहिन बागको नियति के होला, त्यो समयले देखाउने नै छ । तथापि यतिबेला नागरिकता संशोधन ऐनविरूद्ध भारतमा चालू आन्दोलन भने मोदी सरकारको निम्ति ठूलो चुनौती बनेको छ । मोदी सरकार र भारतीय जनता पार्टीले सीएए र एनआरसीको समर्थनमा ठाउँ–ठाउँमा प्रदर्शन आयोजना गरेर विरोधी आवाजलाई मत्थर बनाउन नखोजेको होइन । तथापि आन्दोलनको तापलाई भने मोदीको ‘प्रताप’ ले कमजोर बनाउन सकेको छैन ।
भौतिक हमला
वैचारिकरूपमा विरोधी आवाज कमजोर गर्न नसकेपछि मोदी सरकार र भारतीय जनता पार्टी आन्दोलनकारीमाथि भौतिक आक्रमणमा उत्रेका छन् । माघ १६ गते बिहीबार अपराह्न नयाँ दिल्लीको जामिया इस्मालिया विश्वविद्यालयमा सत्ताधारी दलसम्बद्ध एक युवकले आन्दोलनकारीमाथि चलाएको गोली लागी कम्तीमा एक जना प्रदर्शनकारी घाइते भएका छन् । ‘आजादी (स्वतन्त्रता)’ को पक्षमा नाराबाजी गरिरहेका प्रदर्शनकारीहरूमाथि हमलाकारी युवकले ‘तिमीहरूको आजाद यहाँ छ’ भनी गोली हानेका थिए । उनले गोली हान्दा दिल्ली प्रहरीका जवानहरू उनकै पछाडि उभिएका थिए । उनीहरूले यो घटना टुलुटुलु हेरिरहेका थिए । हमला गर्ने व्यक्ति रामभगत गोपाल शर्मा भएको पहिचान गरिएको छ । घाइते विद्यार्थीको बायाँ कुममा चोट लागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
दुई दिनअघि मात्र भारतीय जनता पार्टीको एउटा प्रदर्शनमा सहायक वित्तमन्त्री अनुराग ठाकुरले सरकारविरोधीलाई सङ्केत गर्दै ‘देशद्रोहीलाई गोली हान्नुपर्ने’ भनी सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
विगत केही दिनयता सीएए र एनआरसीको विरोधमा भएका प्रदर्शनमाथि दमन गर्न भाजपाका मन्त्री, सांसद र प्रदेश सांसदहरू देखापरेका छन् ।
संयोगको कुरा हिन्दू अतिवादीहरूले भारतीय स्वतन्त्रता आन्दोलनका नेता महात्मा गान्धीको हत्या गरेको दिन नै बिहीबार जामिया इमालिया विश्वविद्यालयमा भारतीय हिन्दू अतिवाद समर्थक एक युवाबाट त्यस्तो गोली काण्ड भएको हो ।
डिसेम्बरको दोस्रो साता जामिया इस्मालिया विश्वविद्यालयमा नागरिकता संशोधन ऐन र नागरिकता पञ्जीकरणको विरोधमा भएको प्रदर्शनमा दिल्ली प्रहरीले विश्वविद्यालय हाता र छात्रावासमा समेत प्रवेश गरी निर्मम दमन गरेको थियो । जनवरीको पहिलो साता दिल्लीकै जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)मा सत्तारूढ भारतीय जनता पार्टीसमर्थक विद्यार्थी सङ्गठनबाट जेएनयूका विद्यार्थीमाथि निर्मम हमला भएको थियो ।
सरकारले गरेका निर्णय एकपछि अर्को विवादास्पद बन्दै गएको र व्यापक जनतामा सरकारविरोधी भावना डढेलोजस्तै फैलिएपछि भारतीय हिन्दुवादी शक्ति आज तिरमिराएका छन् । तिरमिराएको मोदी सत्ता जनतामाथि भौतिक दमनमा उत्रेको छ ।
कन्हैयाको गिरफ्तारी
यसैबीच भारतीय कम्युनिस्ट पार्टीका युवा नेता तथा पूर्वविद्यार्थी नेता कन्हैया कुमारलगायत सीएए र एनआरसीको विरोधमा आन्दोलनरत जनतालाई बिहीबार बिहारको चम्पारणस्थित वापुधामबाट स्थानीय प्रहरी प्रशासनले गिरफ्तार गरेको छ । ‘सीएए–एनआरसी–एनपीआरको विरोधमा एकमहिने जन–गण–मन यात्राको सुरूवात गर्ने तयारी थियो । समाजका सबै तहका मानिस यो यात्रामा सामेल हुन सहभागी थिए । तर, केही समयअघि हामी सबैलाई हिरासतमा लिइएको छ”, कन्हैया कुमारले ट्वीट गरे । कन्हैयाको गिरफ्तारपछि पनि गान्धी मारिएको दिनबाट आरम्भ भएको जन–गण–मन यात्राअन्तर्गत विभिन्न सहरमा जनसभाहरू भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *