भर्खरै :

टोखामा ‘श्रमिक’ को अन्तरक्रिया

काठमाडौँ, १५ माघ । नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा विचारप्रधान पत्रिका ‘श्रमिक’ साप्ताहिकबारे मङ्गलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले ‘श्रमिक साप्ताहिक’ ले २७ वर्षदेखि निरन्तररूपमा देश र जनताको पक्षमा लेख, रचना, समाचार, विचार, अन्तर्राष्ट्रिय घटनाबारे समाचार प्रकाशित गरिरहेको जानकारी दिनुभयो ।
नेमकिपाले स्थापनाकालदेखि भारतीय विस्तारवाद र एकाधिकार पुँजीविरूद्ध जनतालाई सचेत पार्दै आएको चर्चा गर्दै उहाँले नेपाल विकास नहुनुमा भारतीय एकाधिकार पुँजी र विस्तारवादी नीति प्रमुख रहेको बताउनुभयो ।
“ओली सरकारले कम्युनिस्टको नाममा जनतालाई झुक्याउने काम गरिरहेको छ । अहिलेको व्यवस्था पनि पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थाले कामदार वर्ग मजदुर–किसानको हित हुँदैन । कामदार वर्गको हितको लागि समाजवादी व्यवस्था स्थापना गर्नु जरूरी छ । नेमकिपा समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत छ”, उहाँले भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले सशस्त्र सङ्घर्षबाट मात्र क्रान्ति सफल हुने धारणा राख्दै चुनावबाट समाजवादी व्यवस्था स्थापना नहुने बताउनुभयो ।
अक्टोवर क्रान्ति, चिनियाँ क्रान्ति, प्रजग कोरियाको क्रान्ति र क्युवाको क्रान्तिबारे जानकारी गराउँदै उहाँले समाजवादी व्यवस्थामा जनताको जीवनस्तर राम्रो हुने बताउनुभयो ।
संसद्बाट एमसीसी अनुमोदन भएर नेपाल साम्राज्यवादीहरूको क्रिडास्थल हुने स्पष्ट पार्दै उहाँले एमसीसी देश हितविपरीत रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा रवीन्द्र डंगोल, मदन श्रेष्ठ, सानुबाबु श्रेष्ठ, कमलबहादु डंगोल, शोभालाल श्रेष्ठ, रवी श्रेष्ठ र काशिलाल डंगोललगायतले पत्रिकाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *