भर्खरै :

‘काङ्ग्रेस आज प्रचण्डको काँधमा बन्दुक राखेर गोली पड्काउँदैछ’

काठमाण्डौ, १७ बैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले संविधान संशोधन प्रस्तावमाथिको मतदान नेपाललाई सताइरहेको देशले नेपालमा आफ्नो दास र विरोधी कति छन् भन्ने कुराको मापण गर्ने व्यारोमिटर भएको बताउनुभएको छ । आइतबार सगरमाथा टिभिको एसटिभि च्याट कार्यक्रममा जीवाराम भण्डारीसँग कुराकानी गर्दै उहाँले संशोधन प्रस्तावमाथिको मतदानका क्रममा नेपाली जनताले वास्तविक अर्थमा देशभक्त र देशघाती दलहरु के कुन भन्ने कुरा खुट्याउने मौका पाउने विचार राख्नुभयो ।
नेपाली नेताहरुमा भारतीय विस्तारवादी प्रभावको विषयमा चर्चा गर्दै अध्यक्ष रोहितले भन्नुभयो,‘नोकर र दासबीच भिन्नता छ । नोकरले आफ्नो कामबाट राजीनामा दिन सक्छ । तर दासले राजीनामा गर्न सक्दैन किनभने दास मालिकको सम्पत्ति हो ।’
देशको वर्तमान राजनीतिक परिस्थितिबारे असन्तोष पोख्दै उहाँले केही राजदुतावासले दिएको पैसाका भरमा कार्यकर्ता पालेका र पार्टी चलाएका दलहरुको कारण देश आजको अवस्थामा आएको प्रष्ट पार्नुभयो ।
नेकाँ आफू सबभन्दा ठूलो दल भएर पनि तेस्रो ठूलो माओवादीलाई सरकारको नेतृत्व दिने संसदीय परम्परा विपरीतको कामका कारण राजनीति विकृति भएको प्रसङ्गमाथि व्याख्या गर्दै बिजुक्छेंले भन्नुभयो,‘तर कुनै पनि बहानामा आजको अवस्थाबाट नेपाली काङ्ग्रेस साखुल्ये बन्न सक्दैन ।’
‘काङ्ग्रेस आज प्रचण्डको काँधमा बन्दुक राखेर गोली पड्काउँदैछ । तर यो अवस्थाबाट काङ्ग्रेस उन्मुक्त हुन सक्दैन ।’ उहाँको भनाई थियो ।
सरकारको नेतृत्व गरेको राजनीतिक दलको चुनावी घोषणापत्र समेत आजसम्म प्रकाशित नहुनुले चुनाव हुने–नहुनेमा संशय उठेको भन्दै बिजुक्छेंले भन्नुभयो,‘नेकाँको घोषणापत्र पनि यत्रो वर्ष सरकार चलाएर पनि आफूले गर्न नसकेका कामहरुको सङ्कलन जस्तो मात्र छ ।’
निर्वाचनको मिति घोषणा भइसकेपश्चात स्थानीय तह थप्नु पर्ने माग अनैतिक भएको उहाँको भनाई थियो ।
अध्यक्षले भन्नुभयो,‘संरा अमेरिकाले लिविया, सिरिया र इराकलाई सशस्त्र रुपमा कब्जा ग¥यो । आज भारत बिनाहातहतियार प्रजातान्त्रिक रुपमा नेपाललाई आफ्नो तखतमा राख्न खोजिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *